कला

कोरोना रिपोर्ट

लघुकथा

 विष्णु भण्डारी आचार्य

 

त्यत्रो नौ जनाको परिवारले खाएको बिहानबेलुकाको जुठाभाँडा,परिवारैका लुगा धुँदा,र पूरै घरको सरसफाइ गर्दा  झण्डै चार घण्टा लाग्ने गर्थ्यो ।

ज्याला थोर भए पनि के गर्ने,यो लकडाउनमा कस्ले काम लाउला र हातमुख जोर्नु, घरमा छोराछोरी भोकै हुन्छन्। दुई पैसा कसैबाट सहयोग पाइएला छैन।

यो महामारीमा काम पनि कसैले दिदैनन्। दैवी विपत्तिको मार पनि हामी गरीव दुखीमाथि नै बज्रिन पुग्छ।लकडाउन थिएन त एउटा छोडी अर्को काम खोजेर  गरिन्थ्यो।

– कोरोना त सारेर आइनस् माइली भन्दै साहुसाहुनीले अलग्गै रहेर काम गर्न आदेश दिन्थे । यसरी अछुतजस्तो व्यवहार गर्दा  नमिठो लाग्थ्यो माइलीलाई।

एकदिन त साहुजीले मुख फोरेरै  भने– हेर है माइली, तँ अब काम गर्न आउने भए कोरोना चेकको रिपोर्ट लिएर आउनु । तँ कति ठाउँ जान्छेस् काम गर्न ! काँकाँ पुग्छेस् , सारेर आउन नि बेर लाउँदिनस् । होइन भने यो कोरोना साम्य नहुन्जेल काममा नआए नि हुन्छ ।

– खुत्रुक्कै पारे, अब के गर्ने होला ! काँबाट लेराउने कोरोना रिपोर्ट ! कस्ले चेक गर्छ ! केही थाहै नभएकी मलाई ।

काम सकेर गएँ हजुर  म घर भन्दै  अँध्यारो मुख लाएर  घरतिर  लागी माइली ।

साउनीले फेरि दोहोरयाएर भनिन्  – सम्झिस होला नि  माइली भोलि आउँदा के लिएर आउने भनेर ! जसरी पनि लिएर आउनू नि ।

सम्झेकी छु हजुर , मेरो पनि हजुरहरूको जस्तै परिवार छ । मलाई नि हजुरहरूलाई जस्तै आफ्ना छोराछोरी र परिवारको माया लाग्छ । यो रोगले गरीव– धनी केही छुट्याउदैन भन्छन् । हजुरहरूको पनि रिपोर्ट चाहिन्छ है मलाई, कतै मलाई पो सर्ला  कि !

प्रकाशित: २७ मंसिर २०७७ ०६:५२ शनिबार

अक्षर