कला

‘समय, ओ तुम धिरे चलो !’

पुस्तक—वार्ता

नेपालको राजनीति, कूटनीति र पत्रकारितामा रमेशनाथ पाण्डेको विशिष्ट योगदान छ। राजा महेन्द्र र बिपी कोइरालाबीचको मनमुटाव मेट्न होस्, विद्रोही माओवादी र राज्यबीचलाई जोड्न होस् वा अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा नेपाललाई चिनाउन होस्, उनको भूमिका उल्लेखनीय छ। आफ्ना ज्ञान र अनुभवको सँगालो अर्थात् अघिल्लो पुस्तक ‘कूटनीति र राजनीति’ चर्चित भएसँगै अहिले उनी ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक लिएर आएका छन्। प्रस्तुत छ, उनै पाण्डेलाई नागरिक दैनिकले राखेका केही प्रश्न र उनको उत्तर:

 यहाँको ‘कूटनीति र राजनीति’ पुस्तकपछि ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ। पुस्तकको नाममा पनि विशेष बौद्धिकता र शृंखला देखिन्छ। ‘कूटनीति र राजनीति’को तालमेलले नै ‘क्रान्ति र प्रतिक्रान्ति’ हुन्छ भन्ने जस्तो। के ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक ‘कूटनीति र राजनीति’कै भाग– २ हो ?  
नेपाल दक्षिण एसियामा सबैभन्दा पुरानो कूटनीतिक इतिहास भएको देश हो। सीप, अनुभव र अध्ययनबाट हासिल हुन्छ, कूटनीति। आन्तरिक राजनीतिक स्थायित्वले यसलाई आड दिन्छ। राजा महेन्द्रको शासनकालमा यो मौजुद थियो। यसपछि कहिले कूटनीतिले सीप गुमायो, कहिले राजनीतिले स्थायित्व गुमायो। परिणाममा राष्ट्रिय राजनीतिको स्वामित्व नेपालीको हातबाट फुस्किने क्रम सुरु भयो। पहिले एउटा पराई निर्णायक थियो, अहिले अर्को हुन थालेको छ। अर्को चरणमा निर्णायक बन्न तीन विदेशी शक्तिबीच हानाथाप हुने लक्षण छ। यस्तै भयो भने नेपालको इतिहास र भूगोल एकसाथ घाइते हुन थाल्नेछन्। राजनीतिक अस्थिरताले क्रान्तिलाई निम्त्याएको र क्रान्तिले सार्थकता सिद्ध गर्न नसकेपछि प्रतिक्रान्ति भएको नेपालको इतिहासले टिपेको छ। कूटनीतिक सीप र प्रभावकारी राजनीति राष्ट्रिय हितमा अनिवार्य रहेको इतिहासको निष्कर्ष हो। मेरा पुस्तकहरू ‘कूटनीति र राजनीति’ तथा ‘क्रान्ति र प्रतिक्रान्ति’ एक अर्कोको पुरक पनि हुन्, एक अर्कोबाट भिन्न पनि। तर दुवै नेपालको अनुभवको संकलन हुन्। अनुभवको सञ्चय र हिस्सेदारीले देशको संस्थागत स्मरणलाई निरन्तरता दिन्छ। व्यवहारमा यही नै कूटनीति र राजनीतिको बल हुन्छ, क्रान्तिलाई प्रतिक्रान्तिबाट जोगाउने नुस्खा पनि यही हो।  

यहाँको बुझाइमा क्रान्ति र प्रतिक्रान्ति के हो र कसरी हुन्छ ?
अतीतको अनुभव र भविष्यको आकांक्षाबीचको द्वन्द्वको परिणाम क्रान्ति हो। जनताको आकांक्षा पूरा गर्न असफल शासकीय प्रबन्ध सुधार्ने वा हटाउने सामथ्र्य राजनीतिक व्यवस्थाले गुमाएपछि क्रान्ति अनिवार्य हुन्छ। क्रान्तिको असफलता प्रतिक्रान्तिको कारण हो। प्रतिक्रान्तिले क्रान्तिको निरर्थकता सिद्ध गर्ने प्रयासमा उपलब्धिलाई उल्टाउन थाल्छ र यस क्रममा क्रान्तिका नायकलाई लज्जित अथवा दण्डित गर्छ। २००७ सालको क्रान्तिका नायक बिपी कोइरालालाई नेपालको पहिलो नागरिक प्रधानमन्त्री बन्न दिइएन। जनआन्दोलन २०४७ का नायक गणेशमान सिंहले आफैँले स्थापना गरेको, रगत र पसिना बगाएर हुर्काएको नेपाली कांग्रेस छाडेर निस्किनुप¥यो। अहिले फेरि क्रान्ति वा प्रतिक्रान्तिका हावा चल्न थालेको छ। देशलाई प्रयोगशाला बनाउनु हुँदैन। यसैले क्रान्ति र प्रतिक्रान्तिको सट्टा राष्ट्रिय अनुभवमा हुर्किएको, वर्तमानको चाहना पूरा गर्दै भविष्यको आवश्यकतालाई सम्बोधन गर्न सक्ने क्रमिक सुधार, विकास वा परिवर्तनको विधिलाई मेरो दोस्रो पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ले अघि सारेको छ।

यी अपरिचित युवा छात्राले डा. भुपेन हजारिकाले गाएको ‘समय ओ तुम धिरे चलो’ सुन्ने सिफारिस गरेकी थिइन्। चार वर्षपहिले एउटा सम्मेलनलाई सम्बोधन गर्न आसाम गएका बेलामा डा. हजारिकाको समाधिमा फूल चढाउन म गोहाटी विश्वविद्यालय पुगेको थिए“। उनले लेखेको तथा गाएको ‘गंगा बहती हो क्यो“ ?’ धेरै वर्षदेखि मेरो मन परेको गीत हो। अब मन परेको गीतमा ‘समय ओ तुम धिरे चलो’ जोडिएको छ। थाहा छैन, लामो बाटो हिँड्न खोजेको मेरो दिमाग अथवा थाक्न थालेको मेरो दिलमध्ये कसले गाइरहेको छ, ‘समय, ओ तुम धिरे चलो !’  

नेपालको क्रान्तिको इतिहासका विशेषता र कमजोरी के के हुन् ?  
जंगबहादुरले गरेको कोतपर्व नै नेपालको इतिहासमा भएको एउटै क्रान्ति हो। यसको प्रारम्भ र पूर्ण नेपालभित्रै भयो। नेपालीको आकांक्षा पूरा गर्न, नेपाली माटोमा उभिएर नेपालीले बनाएको तलबारमा नेपालीले नै धार लगाएर नेपालीकै हातले गरेको यो क्रान्तिले पूरै दक्षिण एसियालाई उपनिवेश बनाएको ब्रिटिस साम्राज्यवादबाट नेपाललाई जोगायो। सुगौली सन्धिमा गुमेका ठूलो भू–भागमध्ये चार जिल्ला सन् १८६० मा सैनिक बल र कूटनीतिक सीपको संयुक्त प्रयोगबाट जंगबहादुरले फिर्ता ल्याएका थिए। साम्राज्यवादी शक्तिले एकपटक कब्जा गरेको अर्को देशको भू–भाग स्वेच्छाले फर्काएको विश्व इतिहासमा अर्को उदाहरण छैन। जंगबहादुरको नेतृत्वमा भएको क्रान्ति १०४ वर्ष जीवन्त रह्यो। त्यसपछि भएका क्रान्ति र प्रतिक्रान्ति विदेशी भूमि र पराईको सहयोगमा भए, पराईलाई न्यायाधीश बनाएर टुंग्याइए, यसैले अल्पायुका भए। इतिहासलाई नेपालको क्रान्तिले टिपाएका पाठ यही नै हो। आज भोग्दै बनाएको इतिहास भोलि लिपिबद्ध भएर पर्सि पढ्दा अनुभूति फरक हुन्छ। वर्तमान नेपाल आजको पूर्वाग्रहबाट इतिहासलाई पढ्ने र हेला गर्ने गल्ती गरिरहेको छ।  

कूटनीतिक सीपको आधार के हो ? नेपालको कूटनीतिको बल र कमजोरी के हुन् ?
देशभक्ति कूटनीतिको धर्म हो, बल हो। अनुभवले सीप दिन्छ। पत्यार र आदर कूटनीतिज्ञको पुँजी हो। कूटनीतिको एक मात्र ध्याउन्ना राष्ट्रिय हितको जगेर्ना गर्नु र अर्को पक्षलाई आफ्नो राष्ट्रिय आवश्यकता अनुकूल बनाउने हुनुपर्छ। भारत, चीन र अमेरिकाका लागि बढ्दै गएको सामरिक महत्वको भूस्थापन नेपालका लागि कूटनीतिक शक्ति हो। यसलाई संयमपूर्वक उपयोग गरियो भने आर्थिक र कूटनीतिक दुवै दृष्टिमा नेपाल दक्षिण एसियाको शक्तिकेन्द्र बन्नेछ, तर यसमा ठूलो जोखिम पनि जोडिएको छ। नेपालको इतिहास र भूगोलको निरन्तरता लागि यो अवसर र जोखिम बुझ्नु अनिवार्य छ।  

सीप, अनुभव र अध्ययनबाट हासिल हुन्छ, कूटनीति। आन्तरिक राजनीतिक स्थायित्वले यसलाई आड दिन्छ। राजा महेन्द्रको शासनकालमा यो मौजुद थियो। यसपछि कहिले कूटनीतिले सीप गुमायो, कहिले राजनीतिले स्थायित्व गुमायो। परिणाममा राष्ट्रिय राजनीतिको स्वामित्व नेपालीको हातबाट फुस्किने क्रम सुरु भयो।

हामीकहाँ कूटनीतिलाई छिमेकी देशको सम्बन्धसँग जोडेर हेरिन्छ। बहुदलीय प्रणालीमा देशभित्रै कूटनीतिको महत्व के कति रहन्छ ?  
यो गलत हो। यस्तो सोच र प्रवृत्तिले राष्ट्रिय राजनीतिको स्वामित्व नेपालीकै हातमा सुरक्षित राख्न दिँदैन। वैदेशिक सम्बन्ध र कूटनीति सरकारको कार्यक्षेत्र हो, यसमा दलको भूमिका हुनुहँुदैन। यसमा नेता वा कार्यकर्ताले प्रवेश गर्नुहुँदैन। तर, राजनीतिको भ¥याङ विदेशीलाई बनाउने र आपसी मनोमालिन्य सुल्झाउन समेत विदेशीलाई गुहार्ने गरिएको छ। यसले दल र नेताहरूको पहिचान यो देशका समर्थक र त्यो देशको विरोधीमा दर्ता भएको छ। यसले देशको अहित गरेको छ।  

अहिले हामीकहाँ कहाँनिर, कसरी, कोबाट बाह्य र आन्तरिक रूपमा कूटनीति नमिलेको हो ?  
सरकारले वैदेशिक सम्बन्धलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको मातहतमा केन्द्रित राख्न सकेन, छिमेकीसँगको सम्बन्धमा सरकारमा नभएका नेता वा कार्यकर्ताको अनधिकृत र अवाञ्छित प्रवेश रोक्न सकेन। विदेशी सचिवलाई राष्ट्रपतिले किन भेट्नुप¥यो ? विदेशी राजदूतलाई कुन अवस्थामा मध्यराति, त्यो पनि स्वयं प्रधानमन्त्रीबाट भेटिन्छ भन्ने अन्तर्राष्ट्रिय सम्बन्धको परम्परा र संवेदनशीलतामा किन हेक्का राखिएन ? अन्तर्राष्ट्रिय सम्बन्धको आन्तरिक राजनीतीकरण घातक हुन्छ। होस पु¥याउन ढिलो भइसक्यो।  

अहिले एउटा क्रान्तिपछि हामी गणतन्त्रको यात्रामा छौँ, तर हाम्रो बाटो बलियो वा पक्की नबन्दै ‘राजा आऊ देश बचाऊ’जस्ता प्रतिक्रान्तिका आवाज उठेका छन्। यहा“को बुझाइमा यस्तो किन भइरहेको छ ?  
इतिहासमा प्रारम्भ होइन, परिणाम अभिलिखित हुन्छ। कुन क्रान्ति हो र कुन प्रतिक्रान्ति छुट्ट्याउने काम इतिहासकोे हो। यसमा म प्रवेश नगरु“। गणतन्त्र र संघीयतालाई संस्थागत तुल्याउन छैटौँ संविधान घोषणा भएको केही दिनपछि नै भारत र ब्रिटेनका प्रधानमन्त्रीहरूले संयुक्त वक्तव्यद्वारा ‘नेपालको राजनीतिक स्थायित्व र आर्थिक प्रगतिका लागि दिगो र समावेशी संवैधानिक समाधान हुनुपर्छ’ भनेका थिए। चार महिनापछि यही कुरा भारतका प्रधानमन्त्री र युरोपियन काउन्सिल तथा युरोपियन कमिसनका प्रमुखहरूको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा पनि दोहो¥याइएको थियो। यसमा त नेपाललाई ‘समय सीमा तोेकेर संवैधानिक समाधान गर्नू’ पनि भनिएको थियो। तर विगत पाँच वर्षमा नेपालले संवैधानिक, राजनीतिक वा कूटनीतिक अनुक्रियाद्वारा यी तीन शक्तिको अप्रशन्नता र सल्लाहलाई सम्बोधन गर्न सकेन। देशभित्रै रहेको असहमतिलाई पनि उपेक्षा गरिएको छ। अहिले एक महिनादेखि राजधानीसँगै देशका सबै ठूला सहरमा स्वतस्फूर्त ढंगमा जनता ‘राजा आऊ देश बचाऊ’ भनेर सडकमा आएका छन्। भारतका राष्ट्रिय र नेपालसँग सीमा जोडिएका प्रान्तका दैनिक पत्रिकादेखि जापानको निकी एसिया तथा युरोपियन टिभी र अखबारहरूमा समेत यी जनप्रदर्शनले प्रमुखता पाइरहेको छ। यो आमजनताको निराशाको अभिव्यक्ति हो। यी जनप्रदर्शनमा स्वयं नेकपा र नेकाका कार्यकर्ता पनि देखिएको खबर सामाजिक सञ्जालमा फोटोसहित आएका छन्। यी सबैले अहिलेको प्रयोग पनि असफल भएको जनमत बन्न थालेको बताउँछ। यस सन्दर्भमा मेरो बुझाइमा दुइटा कुरा उल्लेखनीय छ, १) पूर्वराजा ज्ञानेन्द्रको खुट्टा नेपाली भूमिमा छ र आमजनताको राजाप्रतिको बुझाइ बढ्दै गएको छ। २) यी जनप्रदर्शन मिलोभान जिलासको ‘न्यु क्लास’ बनेका शासकका लागि ब्यु“झाउने घन्टी हो। सत्ताको अहंकारले सच्चिन नमान्नेका लागि कार्ल माक्र्सको चेतावनी स्मरणीय हुन्छ, ‘इतिहासले आफैँलाई दोहो¥याउँछ, पहिले दुखान्तको रूपमा अनि प्रहसनको रूपमा !’

अतीतको अनुभव र भविष्यको आकांक्षाबीचको द्वन्द्वको परिणाम क्रान्ति हो। जनताको आकांक्षा पूरा गर्न असफल शासकीय प्रबन्ध सुधार्ने वा हटाउने सामथ्र्य राजनीतिक व्यवस्थाले गुमाएपछि क्रान्ति अनिवार्य हुन्छ। क्रान्तिको असफलता प्रतिक्रान्तिको कारण हो। प्रतिक्रान्तिले क्रान्तिको निरर्थकता सिद्ध गर्ने प्रयासमा उपलब्धिलाई उल्टाउन थाल्छ र यस क्रममा क्रान्तिका नायकलाई लज्जित अथवा दण्डित गर्छ

यहाँले सानो (१६–१७ वर्षको) उमेरबाटै महेन्द्र र बिपीको संगत पाउनुभयो, पहिले र अहिलेका नेतामा के अन्तर देख्नुहुन्छ ?  
राजा महेन्द्र र बिपी कोइरालाका लागि देश पहिलो थियो, अहिलेका नेतालाई आफू र आफ्नो परिवार पहिलो छ। महेन्द्र र बिपी पढ्थे, विज्ञसँग सम्पर्कमा रहन्थे। अहिलेका नेताहरूलाई पार्टीको गणित मिलाउन र चन्दादातासँग भेट्नै भ्याइनभ्याइ छ।  

तपाईंका लागि अविस्मरणीय पुस्तक कुन हो ?  
व्यक्तिगत मूल्यांकनमा ब्रिटेनको कन्जर्भेटिभ पार्टीका तत्कालीन उपसभापति जेफ्री आर्चर लिखित उपन्यास ‘फस्र्ट एमोङ इक्वल्स’। यो पुस्तकले मलाई राजा वीरेन्द्रको सामुन्ने ब्रिटेनकी महारानी एलिजाबेथसँग बौद्धिक कुरा गर्ने अवसर दियो। ज्ञानको खोजीमा मेरो लागि अविस्मरणीय पुस्तक ली क्वान युको ‘फ्रम थर्ड ओल्र्ड टु फस्र्ट ओल्र्ड’ र डफ कोपरको ‘टेलिरा“’ हुन्।  

तपाईंले उपहारमा पाउनुभएको स्मरणीय पुस्तक कुन हो ?
धेरै छ। जस्तोः राजा महेन्द्रबाट ‘दी च्यालेन्ज अफ आवर टाइम’, भारतका प्रधानमन्त्री आइ के गुजरालबाट ‘फरेन पोलिसी फर इन्डिया’, पाकिस्तानका राष्ट्रपति परवेज मुसर्रफबाट ‘इन दी लाइन अफ फायर’।

तपाईं अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? युवा पुस्तालाई कस्तो पुस्तक पढ्ने सल्लाह दिनुहुन्छ ?  
डानियल मारकीको ‘चाइनाज ओइस्ट्रन हराइजन’ सुरु गरेको छु। युभाल हरारीको ‘ट्वान्टी वन लेसन्स फर दी ट्वान्टी फस्र्ट सेन्चुरी’ दोहो¥याएर पढ्दैछु। युवा पुस्ताले अघिल्लो पुस्तालाई अनुशरण गर्नुहँुदैन, उसको अनुभवलाई पढेर, बुझेर आफ्नो बाटो आफैँले कोर्नुपर्छ। यसमा सहयोगी हुने पुस्तक पढ्नुपर्छ। युवा पुस्तासँग मेरो व्यापक सम्पर्क छ, अन्तक्र्रिया निरन्तर भइरहेको छ। पढ्ने, बुझ्ने, विश्लेषण गर्ने, प्रश्न गर्ने युवा जमात नेतृत्व लिन तत्पर भइसकेको छ। यसले नेपालको सुन्दर भविष्यको विश्वास जगाएको छ। पढ्ने, सोच्ने र लेख्ने बानी सधैँ जोगाएर राख्न युवा पुस्तालाई मेरो सल्लाह छ।

लेखक बन्न के गर्नुपर्छ ?
राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिसम्बन्धी लेखक बन्न वर्तमानले सुन्ने गरी अतीतसँग कुरा गर्नुपर्छ र त्यसलाई भविष्यको कानमा पार्ने चाहना र सीप अनिवार्य हुन्छ। लेखेका कुरा सत्य हुनैपर्छ। तथ्य लुकाउनु हुन्न। अतीतसँग कुरा गर्न लेखक नै बन्नुपर्छ। राजनीति गर्दा जनतासँग र कूटनीतिज्ञको हैसियतले विदेशी नेतासँग धेरै नै संवाद गरे पनि त्यसको चरित्र, विधि र परिणामबारे युवा पुस्तालाई हिस्सेदार बनाउने अवसर ‘कूटनीति र राजनीति’ तथा ‘क्रान्ति र प्रतिक्रान्ति’ले मलाई दियो। दुवै पुस्तक पाठकले मन पराएका हुनाले नै ‘कूटनीति र राजनीति’को छैटौँ संस्करण प्रकाशित भएको छ। दुई महिनाअघि प्रकाशित भएको ‘क्रान्ति र प्रतिक्रान्ति’को दोस्रो संस्करण अर्को महिना आउँदै छ। नेतृत्व लिन अघि सरिरहेको, पढ्ने र बुझ्ने, अनुभवबाट सिक्न र दुर्घटना दोहोरिन नदिन सचेत नयाँ पुस्तालाई अनुभव र ज्ञान हस्तान्तरणको राष्ट्रिय संस्कृति विकास गर्न सके देशको भविष्य सुरक्षित बनाउँछ भन्ने मलाई लाग्छ।  

तपाईं अब कस्तो पुस्तक लेख्न चाहनुहुन्छ ?  
सृष्टिकालदेखि आजसम्म मानिस सुखको खोजीमा भौ“तारिरहेको छ। यो अतृप्त तृष्णा लिएर पृथ्वी र अन्य ग्रहमा जीवन भोग्नुको कथा कल्पना गर्ने र लेख्ने मेरो चाहना छ। उपन्यासको रूपमा लेख्न सुरु गरेको छु। यस क्रममा महाभारतको युद्ध सकिएदेखि अहिलेसम्म एक्लै ब्रह्माण्डको फन्को लगाइरहेका अस्वस्थामा मेरो लेखाइको केन्द्रमा छन्। मेरो आगामी पुस्तक हाम्रो कूटनीतिक इतिहासले साबित गरेको सीपलाई जीवन्त तुल्याएर कसरी नेपाललाई दक्षिण एसियाको शक्तिकेन्द्र बनाउन सकिन्छ भन्ने विषयमा हुनेछ।  

तपाईं राजनीति, कूटनीति र सार्वजनिक संवादमा सक्रिय हुनुहुन्छ। दुइटा सर्वाधिक बिक्री भएका पुस्तकको लेखक पनि हुनुहुन्छ। भर्खरै भन्नुभयो, तेस्रो र चौथो पुस्तक पनि लेख्दै हुनुहुन्छ। यस्तो व्यस्ततामा तपाईंको दिलले आफैँसँग के भन्छ ?
पाठकहरूले मन पराएर ‘कूटनीति र राजनीति’ले नेपालको पुस्तक बजारमा नया“ कीर्ति राखेपछि एक अपरिचित युवा छात्राले इन्स्टाग्रामबाट पठाएको हृदयस्पर्शी सन्देश मैले पाएको थिए“। मेरो पुस्तकबारे सेतो, नीलो र रातो अक्षरहरूमा लेखिएका तीन पंक्तिका दिल र दिमागलाई एकसाथ लठ्याउने सराहनाका न्यानो अनुभूति गराउँदै ‘यो पुस्तक मलाई जिन्दगीभरका लागि चाहिन्छ’ भन्ने दिल छुने स्याबासी व्यक्त भएको थियो। यी अपरिचित युवा छात्राले डा. भुपेन हजारिकाले गाएको ‘समय ओ तुम धिरे चलो’ सुन्ने सिफारिस गरेकी थिइन्। चार वर्षपहिले एउटा सम्मेलनलाई सम्बोधन गर्न आसाम गएका बेलामा डा. हजारिकाको समाधिमा फूल चढाउन म गोहाटी विश्वविद्यालय पुगेको थिए“। उनले लेखेको तथा गाएको ‘गंगा बहती हो क्यो“ ?’ धेरै वर्षदेखि मेरो मन परेको गीत हो। अब मन परेको गीतमा ‘समय ओ तुम धिरे चलो’ जोडिएको छ। थाहा छैन, लामो बाटो हिँड्न खोजेको मेरो दिमाग अथवा थाक्न थालेको मेरो दिलमध्ये कसले गाइरहेको छ, ‘समय, ओ तुम धिरे चलो !’

प्रकाशित: २७ मंसिर २०७७ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App