कला

टालेको जिन्दगी

निबन्ध

 गुप्तबहादुर श्रेष्ठ

 

जिन्दगी नापे तौले जस्तो त कहाँ कसको पो होला र ! सबैका आ–आफ्नै कथाव्यथाहरु छन् होलान् । केहीका कथाव्यथा धेरै हदसम्म मिल्लान् अनि अरूको दुख देखेर चित्त पनि बुझालान् तर सतप्रतिशत कथाव्यथा त कहाँ कसको पो मिल्ला र ! व्यथाको कथा नै नभाको अब्बल एक नम्बरी जिन्दगी कसैको होला र ! खै मलाई त त्यस्तो विश्वास लाग्दैन ।  

जिन्दगीलाई केसंग तुलना गर्न मिल्छ खै  ! तुलना त जेसंग गरे पनि भो, तर केहीसंग पनि ठ्याक्कै मिल्ने देखिदैन । त्यसैले यसलाई त पानीसंग पो तुलना गर्ने कि ? पानी, प्राणी मात्र सबैलाई चाहिने यो चिसो, तातो, नुनिलो, गुलियो, स्वादै नभएको रंगीविरंगी सङलो, धमिलो, जमेको, बगेको, सुगन्धित, दुर्गन्धित जस्तो पनि हुन्छ वा बनाइन्छ । जिन्दगी पनि त त्यस्तै छ । कोही सुखी छन् । कोही दुखी छन् । कसैको जिन्दगी सलल्ल बगेको नदी खोला जस्तो कञ्चन छ । कसैको साउने भेल जस्तो, बाढी आए जस्तो धमिलो, एकै छिनमा सवै स्वाहा परेर ट्वाँ परे जस्तो । कसैको जिन्दगी कुवाको पानी जस्तो माथि सङ्गलो तल धमिलो लेदो भएको जस्तो, बर्षामा बग्ने, हिउँदमा सुक्ने, पात पतिङ्गर परेर कुहिने नबग्ने, खालको पनि होला । कोही कसैको जिन्दगी क्उचष्लन ध्बतभच भन्दै महंगोमा विक्री हुने मिनरलवाटरजस्तै महँगो होला । कसैको जिन्दगी कवाडमा फ्याँकिएको सिसाको टुक्राजस्तो होला । कवाडमै पुग्दा पनि टुक्रा–टुक्रा हुन बाँकी नै रहने सिसा जस्तै होला । 

जिन्दगी जता जेसंग मिलायो त्यसै संग मिल्न सक्ने बहुरूपी, बहुगुणी बस्तु जस्तै लाग्छ । मैले त धेरै चिजसंग तुलना गर्दैछु । अहिलेसम्म जेजे भोगें अव आउने दिनमा नयाँ कुराहरू भोग्न पाउने छु । त्यसपछि जिन्दगीका बारेमा केही थपिएलान् पक्कै पनि । अहिलेको मेरो बुझाइमा मैले एउटा महसुस गरें । त्यो हो टालेको जिन्दगी । हरिभक्त कटुवालले जिन्दगी बुझेरै भनेका त होलान् नि “यो जिन्दगी खै के जिन्दगी”। मैले चाहिँ टालेको जिन्दगी भन्न रुचाएँ, मन पराएँ । यहाँहरूको पनि आआफ्नै विचार होलान् । यहाँहरूको भोगाइमा जिन्दगी अर्कै बनिदिनसक्छ त्यसमा कुनै गुनासो वा आपत्ति नै छैन । यो त खालि मनको लड्डु हो जसरी खाए पनि हुन्छ । विचारको दुनियाँमा एउटा विचारसँग अर्को दुखी हुनु पर्ने कुनै कारण हुने छैन । 

सानो हुँदा भोक लागेको बेला खान पाए हुन्थ्यो । भोक लागे आमासंग रोइदिए हुन्थ्यो । पेट भर्ने मकै  रोटी, ढिँडो, पीठो, आलु, पिँडालु, तरुल जे भेटायो त्यही खायो सन्तुष्ट भइहाल्यो । सुत्ने बेलामा आमाले आफ्नो अँगालोमा सुताउँथिन्, भुसुक्कै निदाइहालिन्थ्यो । शरीरमा एकसरो कपडा भोटो र सुरुवाल वा कमिज अनि जाँगे लगाइन्थ्यो । नयाँ कपडा लगायो कि महिना दिन नपुग्दै कपडा फाटिहाल्थ्यो । कुहिना र घुँडा त गइहाल्ने । जाँगेको पछाडि पुठ्ठाबाट च्यातिने । अव विकल्प अर्को टालोले टाल्नेबाहेक केही हँुदैनथ्यो । टालेको जिन्दगी यहीँबाट शुरू हुन्छ । यसरी केटाकेटीछउन्जेल टालेकै कपडा लगाएर हुर्कियो, बढियो । क्याम्पसतिर छिरेपछि हुने खानेका छोरा र नयाँ पुस्ताका मान्छेहरूको संगत भएपछि नयाँ कपडाहरू पनि फटालेर, च्यातेर अर्को कपडा टाँसेर, टालेर लगाउने दिन शुरू भयो । पहिले कहर काटेर फाटेका लुगा लगाइयो । पछि रहरले गर्दा नफाटेकोलाई पनि फाँटेको सरह टालेर लगाउन थालियो । जिन्दगी त कहिले कहरले कहिले रहरले चल्दो रहेछ ।  

उमेरसंगै इच्छा,आकांक्षा र चाहनाहरू बढ्दै गए । पैसाको आवश्यकता बढ्दै गयो । बाबुआमाको दुख र बाध्यताभन्दा आफ्ना सपनाहरू, मनोकांक्षाहरू तीव्र हुँदा रहेछन् । पैसाका लागि बाबुआमालाई दुख दिन थालियो । केही समय त बाबुआमाले पनि दुखसुख गरेर पैसा पठाउँदै गर्थे । अब धेरै खर्च कहाँबाट धान्नु ? बाबुआमाले तेरो फर्माईस पुर्याउन सक्दिन म, तैं गरी खा । मनपरेको खान र लाउन मोजमस्ती गर्न त आफै कमाउनुपर्छ भन्न थाले । बाबुआमाको वचनले अलिकति मन फाट्यो । हिजो कपडा टालेर आएको आज अब मन टालेर हिड्नुपर्ने भयो । बाबुआमाको दुख, बाध्यता बुझ्दाबुझ्दै पनि बहकिएको मन फाटेर धुजाधुजा भयो । त्यसैलाई टालेर हिँड्न विवश हुनुपर्ने अवस्था आयो । कपडा टालेर हिँडेको त अरूले देख्थे तर मन टालेको देखिँदो रहेनछ र केही राहत मिल्थ्यो । तर आखिर जिन्दगी त टालेकै हो ।

एकदिनको कुरा हो म सानै थिएँ , सायद छसात वर्षको हुँदो हुँ । मेरो एक नजिकको नातेदारको घरमा गएको थिएँ । बिहानको खाना खाने बेला भएको रहेछ । म भान्छामै पुगेँ । मलाई रोकतोक थिएन । त्यो घरका मुली ठूलो बा खाना खान बसेका थिए । थालमा ढिँडो र कचौरामा तरकारी थियो । ढिँडो खाँदाखाँदै अलिकति बाँकी नै थियो । आज भात पनि पाकेको छ भन्ने बुझेर होला, ढिँडो खाइसकेपछि भात खाने विचारले अलिकति भात पनि दे न भनेर श्रीमती तर्फ ईशारा गरे । श्रीमतीले बडो रुखो स्वरले “मिठो खान त कमाई पनि त गर्नुपर्‍यो नि ! त्यसै मिठो खान पाइन्छ १ यो भात त छोरालाई पकाको हो, छैन भातसात । ” भनिन् । ती ठूलो बा थालमा भएको ढिँडो चटक्क छाडेर उठे र बाहिर गए । ठूली आमा फतफताउन थालिन् । म त्यो कुरा सुनेर अवाक् भएँ । के कामले गएको थिएँ त्यतिकै भान्छाबाट बाहिर निस्कें । ठूलो बा पिँढीमा बसेर कछाडको टुप्पाले चिसिएका आँखा पुछ्दै थिए । म भने बडो भारी मन लिएर घर फर्केँ । त्यो दिन सम्झेर मन अझै पनि खिन्न हुन्छ । वास्तवमा पछि मैले जान्नेबुझ्ने भएपछि थाहा पाएं । त्यो घरमा जेठो छोरो लाहुरे थियो । लाहुरे आएको भएर घरमा भात पाकेको रहेछ । छोराको कमाइ त बाबुले खान पाउनुपथ्र्यो । तर, छोराको कमाइ पनि आफ्नो कमाइजस्तो हुंदो रहेनछ भन्ने त्यतिबेलै थाह पाएँ । त्यतिबेला ति ठूलो बाको मन कति फाट्यो होला र कसरी सिए होलान् १ के त्यो टालेको जिन्दगी हैन र ?

जिउने क्रममा कति हण्डर खाइयो । कति ठाउँमा गइयो ! को कसले कस्ताकस्ता व्यवहार गरे, मन कति फाँट्यो– वर्षामा पानी नपरेर धाँजा फाटेको जमिनजस्तै भयो – त्यसलाई पनि टाल्दै हिँड्नुको विकल्प रहेन । जागीर खाँदा पनि हाकीमहरूका कटु वचन र व्यवहारले मन छियाछिया हुँदा पनि पेट पाल्ने पिरले मन टालेर, सिएर नै हिँड्नुपर्ने भयो । विहे गरेर घरजम गरेकाको घरव्यवहार चलाउनु पर्दा श्रीमती, छोराछोरी भए ।  छोराछोरीको इच्छा आवश्यकता  पूरा गराउने जिम्मेवारी वहन गर्दा गरेको दुखकष्टको के लेखाजोखा र ! श्रीमानलाई श्रीमतीका कटु वचन र श्रीमतीलाई श्रीमानका कटुवचन बाणसरह कति सहनु परे होलान् !

उमेर ढल्किँदै गएपछि अनेक थरीका रोगले च्याप्दै जाने, औषधिमूलो गर्न पैसा चाहिने । पैसो पनि धेरै खर्च गर्न नपाइने, भए जति जम्मै सिध्याइदिए भन्ने । औषधि गर्न नसके रोगले डल्लिएर चाँडै परमधाम जानुपर्ने । यहाँ बसेर रामनाम मात्रै जप्ने भए पनि मान्छेलाई परमधाम जान भनेपछि सारै डर लाग्ने । दिनदिनै डाक्टरकोमा धाएर दालभात जस्तै एक थाल औषधि खाएर बाँच्नु भनेको पनि मर्ने प्वाल टालेको जिन्दगी हैन र ! बूढेसकालमा दानधर्म गर्न मन लाग्ने, पूजापाठ गराउन मन लाग्ने तर छोराबुहारीलाई मन नपर्ने । आफूलाई लागेको कुरा पनि गर्न नपाइने, भोकको बेला खान मन भएका मिठोमसिनो कुरा खान नपाइन, अरूको मुख ताकेर बस्नुपर्ने । बाँचुञ्जेल सकसमा बस्नुपर्ने ! मरेपछि कसका लागि र !  यसरी यो जिन्दगी टालेको, फालेको सबै हो जस्तो लाग्दछ । आखिर टाल्नुको अर्थ नै अलिक समय काम चलाउने वा प्वाल परेको भए त्यो प्वालबाट नदेखिने गराउने वा लुकाउनेसम्म न हो । मान्छेले जिन्दगी टाल्ने काममा त्योभन्दा बढी के नै गर्न सकेका छन् र ! संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्स कहिलेसम्म पहिलो स्थानमा रहने हुन् ! त्यो स्थानसम्म आउन उनले केके कसरत गरे होलान् ! कति दुख गरे होलान्  !  के अहिले उनलाई कुनै कुराको दुख छैन होला र ! भारतका सबभन्दा धनी मुकेस अम्बानी, नेपालका धनी चौधरी, गोल्छाहरू के तिनका मनमा कुनै पिर, चिन्ता, असन्तुष्टि केही छैन होला र ! ती पनि पुस्तौं पुराना धनी होइनन् क्यारे ! तिनले पनि पछि कमाएका धन हुन् । अहिले पनि धनकै पछि दौडेकै छन्, तिनको पनि टालेकै जिन्दगी हो  ।

४० र ४२ वर्ष पहिलेको कुरा होला मेरो घर नजिकको बजार स्याङ्जाको वालिङ बजारमा एकजना तेजबहादुर गन्धर्व थिए । उनी बडो महसुर थिए,जाँड पिउनमा । सारंगी रेटेर गीत पनि मजैले गाउँथे । उनको स्वाभिमानमा कसले चोट पु¥याउँथ्यो कुन्नि,उनी बेसरी कुर्लन्थे, ऐ १ यहाँ कोही छ पैसाको दोकान थाप्ने  रु सक्छस् भने आइज यहाँ पैसाको दोकान थापेर देखा यहाँ १ भांडाकुंडा,कपडाको पसल थापेर, पसल थापेको भनेर धक्कु लाउने भन्दै बजारका धनी मानिसलाई उनले चुनौती दिन्थे । सबै टालेका जिन्दगी जिउनेहरू थिए । कसले दिने उनलाई चुनौती ।

पढेलेखेका कस्ता कस्ता विद्वान मानिएका डाक्टर, इन्जिनियर, धनाढ्य व्यापारी जस्ताले पनि आफ्ना बूढाबूढी भएका बाबुआमालाई बजार जाने, पशुपति जाने भन्दै फकाउँदै बाटोमा पुर्‍याएर छाडेर, वृद्धाश्रममा पनि नपु¥याईकन छाड्ने पनि यहीँ समाजमा छन् । त्यस्ता छोराबुहारीको भरमा जिन्दगी जिउनुपर्ने र बुढेसकालमा वृद्धाश्रममा पुगेर सास धान्नुपर्ने भएपछि त्यो मनमा कति गहिरो चोट पुगेको होला ! त्यस्तो जिन्दगीलाई टालेको जिन्दगी भन्नु उपयुक्त नहोला र ! यसो हेर्दा  नेपालका  प्रायः सडकहरू आज टालेर वा बनाएर छाड्छन् एक महिनाभित्र फाटिसकेका वा बिग्रिसकेका हुन्छन् । अझै कुनैकुनै त आजको भोलि नै बिग्रेका हुन्छन् । हाम्रा बाउबाजेका पुस्ताले औँसीमा लाएर पूर्णेमा फाट्ने भन्थे  अर्थात् १५ दिन पनि नखपेकोमा व्यङग्य गर्थे , अब भने  हिजो लाको आज फाट्ने भन्नुपर्ला जस्तो छ । मानिसको जिन्दगी पनि यहीँ सडककै हालत जस्तो हजारौँ ठाउँमा टालेकोे छ भन्नुमा अत्युक्ति नहोला ।  

आफ्नै श्वासको विश्वास छैन, कतिखेर चटक्क छाडेर जान्छ र पूर्ण विश्राम लिन्छ के थाहा र । सानादेखि ठूलासम्म, के धनी के गरीब, के जवान के वृद्ध, सबै पेसा, व्यवसाय, धर्म सम्प्रदायका मानिसमा केही केही  पीडाव्यथा लुकेको छ । आफ्नो व्यथा चौबाटामा छरपष्ट पारेर दुनियाँ हँसाउन कोही चाहँदैनन् आफैभित्र पोको पारेर राख्छन् । मरेर जाँदा आफूसँगै लैजान्छन् । त्यसैले मैले जिन्दगीको परिभाषा फाल्न नसकिने टालेको जिन्दगीसँग गरेको छु । यो जिन्दगी टालेको जिन्दगी । आगे तपाईँको मर्जी ।    

प्रकाशित: २४ मंसिर २०७७ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App