कला

रावणको प्रशंसा गरेपछि सैफअली खानको व्यापक विरोध, मागे माफी

रामायणका पात्र भगवान् रामका विषयमा दिएको अभिव्यक्तिको व्यापक विरोध भएपछि भारतीय अभिनेता सैफअली खानले माफी मागेका छन्।  

उनको आउँदै गरेको चलचित्र ‘आदिपुरुष’मा उनले रावणको भूमिकामा अभिनय गरेका छन् भने अर्का अभिनेता प्रभास रामको भूमिकामा छन्।

सोही फिल्मका विषयमा लिइएको एक अन्तर्वार्तामा अभिनेता खानले राम तथा रावणका विषयमा दिएको अभिव्यक्तिले हिन्दुत्वको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनी माफी माग्न बाध्य भएका हुन्।  

उनले एक पत्रिकासँग भनेका थिए, ‘राक्षसका राजाको भूमिका निकै रोचक छ। तर उनलाई हामीले दयालु देखाउँनेछौं, जसमा मनोरञ्जन पनि हुन्छ। साथै त्यो चरित्रले सीता अपहरणको उचित कारण पनि बताउनेछ। रामसँग बदला लिनुको कारण लक्ष्मणले आफ्नी बहिनी शूपर्णखाको नाक काटेका थिए।’  

उनको यस्तो टिप्पणीपछि सामाजिक सञ्जालमा उनीविरुद्ध व्यापक आलोचना हुन थालेको हो। कतिपयले उनलाई हिन्दुत्वको अपमान गरेको भन्दै गाली गरेका छन्। त्यति मात्र होइन, उनको फिल्म नै बहिष्कार गर्नुपर्ने मागसमेत गरिएको छ।  

त्यसपछि अभिनेता सैफ अलीले वक्तव्य जारी गर्दै माफी मागेका हुन्। उनले भनेका छन्, ‘मलाई थाहा भयो, एक अन्तर्वार्ताका क्रममा मैले दिएको अभिव्यक्ति विवादको विषय बनेको छ, जसले मानिसको मन दुखाएको छ। तर कसैको भावनामा ठेस पुर्याउने उद्देश्य मेरो थिएन। म इमान्दारीपूर्वक माफी माग्न चाहन्छु अनि आफ्ना भनाइ फिर्ता पनि लिन चाहन्छु।’ यसपछि अभिनेता खानले आदिपुरुष फिल्म असत्यविरुद्ध सत्यको जितको उत्सव भएको बताएका छन्।

उनले भनेका छन्, ‘भगवान् राम मेरा लागि सधैं सत्य र वीरताका प्रतिक हुन्। आदिपुरुष असत्यविरुद्ध सत्यको जितको उत्सव मनाउने विषयमा बनेको हो र पूरै टोली महाकाव्यलाई बिनात्रुटि प्रस्तुत गर्न मिलेर काम गरिरहेको छ।’

प्रकाशित: २२ मंसिर २०७७ ०७:५९ सोमबार

बलिउड सैफअली खान रामायण