कला

चोरेको फोटो

कथा

 टङ्क भट्टराई

 

धेरै वर्षअघिको एउटा प्रेमिल फोटो थियो मसँग । पुरानो एलबमको माझमा जोगाएर राखेको । पहाडबाट मधेसमा बसैं झरेको केही महिनापछि त्यो एलबम पल्टाएर हेरें । अरू सबै छन् । त्यही फोटो छैन । त्यो फोटो नभेट्दा मेरो जीवनको अमूल्य चिज हराए जस्तो भयो मलाई । 

एलबमचाहिं सुरक्षित आयो । अरू फोटाहरू जस्ताका तस्तै थिए । तर, त्यो फोटो कहाँ हरायो ? पक्कै कसैले लगेको हुनुपर्छ । मेरो अतीतसँग सम्बन्धित त्यो फोटो अरू कसलाई आवश्यक थियो र, कि कसैले रिसले च्यातिदियो ?

श्रीमती कुसुमसँग शङ्का लाग्यो ।

सोधें– “त्यो फोटो एलबममा छैन त  कि कतै तिमीले..... ?”

“मलाई के काम त्यो फोटोको ? न बोल्न जान्दछ । न हाँस्न जान्दछ । मलाई फोटासँग के को रिस ? न त्यो मेरो सौता हो । त्यो एलबममा रहेको फोटाले मेरो के बिगार गरेको थियो र । फेरि, त्यो त तपाईंको सम्झना हो । त्यसलाई च्यातेर, लुकाएर तपाईंको मनलाई म किन दुःखी बनाउँथें र ।” उनी एकैचोटि पटट–ट पड्किन् ।

“त्यसो भा कल्ले लगो होला त । हराए एलबम नै हराउनुपर्ने । त्यो फोटो मात्रै कसरी हरायो ?” मैले निधार खुम्च्याएँ ।।

“खोई कैलेकाहीं आका बेला काफ्ले फुपूकी छोरी ताराले त्यो एलबम पल्टाइरहन्थिन् । तिनले त पुराना–पुराना तीन–चारवटै फोटा चोरेर घरका दैलामाथि फिरेममा सजार राखेकी रछिन् । खामडाँडा ठुलेमाकी छोरी नैनीले पनि एकचोटि तपाईंको एउटा राम्रो फोटो निकालेर चोलाभित्र हाल्दैरछिन् । मैले देखेपछि हतारहतार डरले त्यहीं राखिदिइन् । खाम्तेलकी तुलसीले पनि एकचोटि एउटा तपाईंको र मेरो फोटो चोरेर लगिछिन्। तिनले पनि दैलामाथि राखेकी छिन् अरे ।” कुसुमले फटाफट भनिन् ।

मलाई तिनको इमानदारितामाथि शङ्का त थिएन । किनकि हाम्रो बिहे भएको त्यत्रो वर्षसम्म पनि उनले त्यो फोटोमाथि कुनै आपत्ति जनाएकी थिइनन् ।

जसरी मेरो एलबमबाट उनको फोटो एकाएक हरायो । केही वर्षपछि उनी पनि यो संसारबाट हराइन् । खाऊँखाऊँ–लाऊँलाऊँ उमेरमै श्रीमान र केही थान छोराछोरी छोडेर कुनै भबितव्यवश उनले अर्कैै लोकको बाटो तताइन् ।

अब भने मलाई उनी सँगसँगै त्यो फोटोको झन्–झन् याद आउन थाल्यो । पहिलाभन्दा पनि बढी । भुलूँ पनि कसरी त्यति मीठो विगत । उनीसँगका ती मधुर सम्झनाहरू ।  

एक दिन कुसुमले नै भनिन्– “तपाईंकी प्यारीको फोटो कान्छी बुइनीसँग हुनुपर्छ । कान्छा भानिज जन्मेको बेला म भेट्न जाँदा पुरानो एलबममा त्यो फोटो देखे जस्तो लागेको थियो ।”

“पक्कै उहीसँगै हुनुपर्छ ।” मैले मुन्टो हल्लाएँ ।  

निर्मलालाई हाम्रो सम्बन्धबारे राम्रै थाहा थियो । हामी उपन्यासहरू आदानप्रदान गरेर पढ्थ्यौं । क्याम्पसको कोर्सको पमती, माइतीघर, बसाइँ, मन, डाक बङ्गला र युधिर थापा, प्रकाश कोविद आदिका अरू उपन्यासहरू । छुटेको सार्न उनले तयार गरेका केही नोट कपीहरू पनि कहिलेकाहीं ल्याउने गर्थें म ।  

म राति लाल्टिनको उज्यालोमा चिठी लेख्थें र तिनै उपन्यासको चेपमा हालेर स्कूल जाँदा निर्मलाको हातमा पठाउँथें । केही दिनपछि उनले पनि उनकै बैनीलाई अर्को कुनै उपन्यास वा नोट कपीको बीचमा चिठी राखेर पठाउँथिन् । त्यसैले निर्मलाले नै उनको फोटो लगेको हुनुपर्छ भन्ने मेरो मनले ठहर ग¥यो ।

निर्मलाहरू मोरङको हरैंचा बसैं सरेपछि एक दिन भेटघाटको लागि म त्यहाँ पुगें । ऊ घरको काममा व्यस्त भएको बेला ज्वाइँ–बैनीको कोठामा पसें । माइतबाट लगेको पुरानो ट्याङ्कामाथि एउटा बाहिरी गाता च्यातिएको एलबम देखें । एलबम बाहिर ल्याएर बिस्तारै पाना पल्टाउन थालें । ओहो, त्यो फोटो त साँच्चैं त्यही पो रहेछ । कुसुमले सही भनेकी रहिछन् । उनलाई मनमनै धन्यवाद दिएँ ।

मैले एलबमबाट त्यो फोटो निकालें । यत्तिका वर्षपछि त्यो हराएको फोटो भेट्दा मन र आँखा दुईटै भरिएर आए । फोटोलाई हातले सुम्सुम्याएँ । आँखाबाट घरि टाढा, घरि नजिक लगेर धेरै बेरसम्म हेरिरहें ।  

एकछिनपछि निर्मला आई । मैले फोटो हातमा लिएको देखेर हाँसी र भनी– “दाइ, यो फोटो त हरायो भन्नुभाको थियो होला हगि। ”

“तैंले पो ल्याकी रछेस् त  । मलाई त अरूले नै चोरेर लगेछन्, अब भेटिंदैन भन्ने लागेको थियो ।”

“तपाईंहरू बसैं हिंड्दा कति सामानहरू छोडिन्छन्, हराउँछन् । कति चिजहरू अरूले लान्छन् । के थाहा, यो फोटो पनि कसैले लगिदेला, छोडिएला, हराउला भनेर मैले सुटुक्क खाम्तेल लगेर राखेकी थिएँ । पछि हामी पनि बसैै हिंड्दा अत्यन्त जतन गरेर यहाँ ल्याएकी हुँ । मलाई त यिनको माया तपाईंकै जत्तिको लाग्छ । कति राम्री थिइन् । तपाईंले लेखेको चिठी म यिनलाई लगेर दिन्थें । त्यै भएर मलाई असाध्य प्यारो गर्थिन् । चिठी दिएको कसैलाई नभन्नू है कान्छी। ’ भनेर कैले बिस्कुट दिन्थिन् । नरिवल दिन्थिन् । कहिलेकाहीं पैसा पनि दिन्थिन्। के गर्नु छोटो आयु लिएर आकी रहेछिन् । चाँडै गइन् । तपाईंहरूको माया पिरती खूबै गहिरो थियो दाइ । आखिर सबै लेखन्तै रछ । अब यो फोटो तपाईंले नै लिएर जानू ।”

म सोर–सत्र वर्षको थिएँ होला । स्वप्निल थिए ती दिन । प्रेमिल थिए ती क्षण । हामी एउटै गाउँ–ठाउँका। सधैं देखिएको । सधैं भेटिएको । कक्षा तलमाथि भए पनि एउटै स्कूलमा पढिएको । जब एसएलसी गरियो, त्यसपछि आफ्नै जिल्लाको क्याम्पस भर्ना भइयो । दिक्तेल बहुमुखी क्याम्पस । क्याम्पस पढ्दाका ती दिन साँच्चै उत्साहमय, उमङ्गमय र रमाइला थिए । जीवनमा केके न गरियो, अब केके न भइने हो । यस्तै कुराहरू सोचेर जमिन माथिमाथि हिंडेजस्तो लाग्थ्यो । आकाशमा उडेजस्तो लाग्थ्यो ।

क्याम्पस घरबाट टाढा थियो । अढाई घण्टाको उकालो हिंड्नुपर्ने । बिहान चार बजे नहिंडी कक्षा लिन पुगिंदैनथ्यो । कहिले टर्चलाइट बोकिन्थ्यो । कहिले राँको बालिन्थ्यो । जुनेली रात भए त्यही जूनको सहारामा हिंडिन्थ्यो । क्याम्पस धाउने अरू पनि थिए । कोही आइए पहिलो वर्षमा । कोही दोस्रो वर्षमा । उनी दोस्रो वर्षमा पढ्दै थिइन् । मैले पहिलो वर्ष सुरु गरेको थिएँ ।

एक दिन क्याम्पस जानेमा संयोगले हामी दुई जना मात्र परेछौं । उनी र म हिंड्ने बाटो जोडिने ठाउँमा हाम्रो भेट भयो । त्यतिखेरसम्म हामी त्यति नजिक भएका थिएनौं । भेट हुँदा उही औपचारिक रूपमा सामान्य बोलचाल मात्रै हुन्थ्यो।

उज्यालो खस्न अझै निकै समय बाँकी थियो । उनले जीप लाइट बालेकी । मैले पनि जीप लाइट । जीप लाइट त्यतिखेर चलेको लाइट थियो । बेट्रीको मसला सकिन लागेर मेरो लाइट मधुरो–मधुरो थियो । उनको चहकिलो । उनले मतिर लाइट लाइन् । मैले उनीतिर । उनको पूर्नेको जूनजस्तो अनुहार लाइटको ज्योतिले झनै झलमल्ल भयो । मेरो औंसीको रातजस्तो अनुहार खोई उनले कस्तो देखिन् कोनि  ।

“ए भाइ पो । ” पहिला उनले मुख खोलिन् ।

“ए दिदी पो । ” के भनूँ–के भनूँ भन्दाभन्दै मैले पनि त्यसै भनिदिएँ ।

उनी अघि लागिन् । म पछि । हामी एकछिन नबोली–नबोली हिंड्यौं । मलाई बोल्न मन त लागेको थियो । तर, के बोल्ने के । कुरा गर्न सुरु गर्ने शब्दै निक्लिएन । 

“आज किन अरू कोही पनि भेटिएनन् ! तिमीसँग तलबाट आउने अरू खोई  त ! ” अलिक मास्तिर वरको रूखनिर पुगेपछि आखिर उनैले कुरा सुरु गरिन् ।

“खोई, उँधोबाट आउने दुवै जना आएनन् । उनेरु आउँछन् कि भनेर एकछिन पर्खें । नआएपछि एक्लै बाटो लागें ।” बोल्ने मेलो सुरु भयो ।

“यति अँध्यारोमा तिमीलाई एक्लै हिंड्न डर लाग्दैन ?” उनले सोधिन् ।

“लाग्दैन । के को डर। ” उनको अगाडि साहसी भए जस्तो गरें । वास्तवमा म जति डर छेरुवा कोही छैन जस्तो लाग्छ । घरमाथिको च्यानडाँडामा साँझ परेपछि भुत खेल्छन् । कुनै–कुनै बेला एक्लै भेटे भने तिनले ठहरै पार्छन् भन्थे गाउँलेहरू । त्यसैले कहिलेकाही साँझ–बिहान त्यो बाटो एक्लै हिंड्न प¥यो भने गु–मुत एकैचोटि आऊला जस्तो हुन्थ्यो । साथीहरू नआउने थाहा पाको भए म आउँदै आँदैनथें । लुगा लाएर हिंडिहालियो । हिंडेको मान्छे कसरी फर्किनु भनेर धनु काम्दै भए पनि हिंडेंको थिएँ ।

“तपाईलाई लाग्छ लाग्दैन ?” मैले पनि सोधें ।

“मलाई त लाग्छ । छेउमा झन् जङ्गलको बाटो छ । के गर्नु डरले पढ्न छोड्नु भएन ।” उनले चैं सही कुरो गरिन् भन्ने लाग्यो मलाई ।

हामी क्याम्पसका कुरा, सरका कुरा र कहिले घरका कुरा गर्दै उकालो लाग्यौं । ढोडे खोलो तरेर चन्द्रमानेको वर–पीपलमा पुगेपछि उज्यालो भयो । दुबैले लाइट मारेर झोलामा हालिऊँ । चौतारामा एक छिन बिसायौं । देवीथानबाट झरेको एक टुक्रो उज्यालोसँगै उनको अनुहार देखियो । नीलो बुट्टे सारी । त्यसैमा मिल्ने चोलो र स्वीटर । खुब सुहाएको थियो उनलाई । मङ्सिर भर्खरै शुरु भएको । बिहानै भुईंमा तुषारो र त्यसको ठिहीले समात्न थालिसकेको थियो । उनले वरको फेदनेरी छलिएर एक छिन सारी मिलाइन् । हल्का कपाल मिलाइन् । मैले पनि सेराकी मित दिदीले बुनिदिएको लामो फेटा मिलाए जस्तो गरें ।

त्यसपछि हामी अभैm उकालो लाग्यौं । रिम–रिम उज्यालोमा पँधेर्नीहरू पँधेरा जान थाले । कोही आइमाई–लोग्नेमान्छेहरू यसो मान्छे हेर्दै झाडी र बारीका कुना पस्न थाले । कोही दुँधेरो बोकेर गाईभैंसीका गोठतिर लागे । आपसी सङ्कोच हटिसकेकोले हामी पनि खुलेर बात मार्दै हिंड्यौं । दिक्तेल पुगेपछि भने क्याम्पस जाने अरूहरू पनि थुप्रै भेटिए । तर, संयोगले त्यस दिन हाम्रातिरबाट क्याम्पस जाने सात–आठ जनामा हामी दुई मात्र परेछौं । मन–मनमा मलाई निकै खुसी लाग्यो ।

मुडे दिक्तेल बजारको उत्तरपट्टि रुपाकोटको फेदबाट लमतन्न दक्षिणतर्फ सुतेको रमणीय डाँडो । जहाँबाट बुइपा, सोल्मा, खाल्ले, लफ्याङ, नेर्पा, दोर्पा लगायत वारिपारिका दृश्यहरू राम्ररी नियाल्न सकिने । त्यही मुडेको डाँडामुनि  दिक्तेल क्याम्पस । मुडेको सामुन्ने ठीक पारिपट्टि दिक्तेल बजारै–बजार हाटडाँडामाथि हरियो जङ्गलको माझमा थचक्क बसेको मझुवागढी । त्यहींनिर सातकन्ने भगवतीको थान । देवीथानैमुनि निकै लामो महादेव गुफा ।  

पढाइ सिद्धिएपछि साढे नौ बजे म कक्षाकोठा बाहिर निस्कें । उनी अगाडि नै बाहिर निस्किएर अलि तल बाटोमा मैलाई पर्खिएकी रहिछन् । रुपाकोट पारि ट्याम्के डाँडोलाई चुम्दै आएका मङ्सिरका पारिला घामका श्वेत किरणहरूले कक्षाकोठाभित्र तीन घण्टा चिसिएको ज्यानलाई एकछिनमै सेकाइदिए । हामी बात मार्दै–मार्दै मुडेफेदी दिक्तेलतिर झरयौं । बैंक चोक पुगेपछि उनी झिसेपुको दोकानमा छिरिन् । चारवटा पाइनपल बिस्कुट र आधी फ्याक नरिवल किनिन् । ठानामुनि आएपछि उनले नरिवल भाँचेर आधा मलाई दिइन् । आधा उनले खाइन्।  नरिवल त्यसै मीठो । त्यहाँमाथि भोक लागेको मुखमा । नरिवलको स्वादमा बात मार्दै ओरालै–ओरालो झरेर तल चन्द्रमानेको वर चौतारीमा हामी एकछिन बस्यौं । उनले पाइनपल बिस्कुटका पुरिया निकालिन् । दुईटा मलाई दिइन् । दुईटा उनले खाइन् । निकै मीठो दुईदुई पात जोडिएको त्यो पाइनपल बिस्कुट । त्यसले भोकको क्षुधा केही शान्त गरयो । त्यसपछि हामी ढोडे खोलो तरेर अझै   उँधो झरयौं ।

बिहानको एघार बजिसकेको थियो । अबचैं हाम्रो छुट्ने ठाउँ आइपुग्यो । 

“भाइ, भोलि शनिबार हाम्रोतिर आउनू नि । मसँग पोरका नोट कपी छन् । उपन्यासका किताब पनि छन्।” यता र उता छुट्ने बेला उनले भनिन् ।

– हुन्छ दिदी ! म अर्को बाटो लागें ।

अलि तल पुगेपछि मैले उनीतिर हेरें । उनी मैतिर हेर्दै ओरालो झरिरहेकी थिइन् ।

उनको र मेरो घर वर्तिर–पर्तिर । एउटा सानो डाँडाले छेकेको । पढेको स्कूल एउटै । होची–होची उनी राम्री थिइन् । उनलाई दिक्तेल स्कूल पढ्दा फलाना– फलानाले  लभ लेटर लेखेका थिए अरे भन्थे साथीहरू । अगाडि त मलाई त्यस्तो कुनै आकर्षणको भाव उत्पन्न भएको थिएन । तर, अब भने किन–किन उनीतिर मन गइरहेको थियो । राति अबेरसम्म लाल्टिनको उज्यालोमा ओछ्यानमा ढल्केर शिवकुमार राईको ‘‘डाँक बङ्गला’ उपन्यास पढें । उपन्यासका पाना जति पल्टायो उति नै उनको गोरो अनुहार अगाडि आइरह्यो । हुन त उनीसँग यसअघि यत्तिको नजिक भएर बात मार्ने, हिंड्ने मौका पनि त पाइएको थिएन । त्यो बेला केटाकेटी एकछिन बोल्दा पनि के के न भए जसरी मान्छेले कुरा काट्थे । त्यसमाथि पनि केटा र केटी बोल्न निकै लाज शरम लागेर आउँथ्यो ।

भोलिपल्ट बिहान उठ्दा निकै जाँगर चलेको थियो । खाना खाइवरि घरमा कसैलाई नभनी दिउँसोतिर म लुसुक्क उनकातिर लागें ।

उनी पँधेराबाट भर्खर नुहाइवरीकन आएकी रहिछन् । नीलो ब्लाउज र हरियो खालको लुङ्गीले उनलाई खुब सुहाएको । घरका अरू मान्छे काममा गएका रहेछन् । म घरको बाहिर खाटमा बसें ।

“केलाई आयौ नानी । कैल्यै नआउने मान्छे । ” उनकी बूढी आमाले सोधिन् ।  

“दिदीको नोट कापी लिन आको ।” मैले खाटबाट भुईं नटेकेका छोटा खुट्टा हल्लाउँदै उत्तर दिएँ ।

“ए तिमी पनि क्याम्पस पढ्छौ हगि” यति सोधेर बूढी मान्छेले दलानमा भर्खरै कुखुराले छेरेको सुली खोसेलाले सोहोर्दै ‘पटक्कै हैजाले लान नसकेको’ भन्दै कुखुरालाई सरापिन् ।  

“पढ्छु ।” मैले यति मात्र भनें ।

“भाइ यतै आउनू। ” उनले मतानबाट बोलाइन् । म त्यतै लागें ।  

बार्दली भएको मतान । अगाडिको कोठाचाहिं उनको रहेछ । कोठा निकै सफा सुग्घर र विभिन्न कुराले सजाएको । माथ्लो भित्तापट्टि एउटा खाट । खाटको अगाडिपट्टि रातो कपडामा सेतो धागोले भरेको करुवाको बुटा भएको झल्लर । अलि पर्तिर एउटा टेबल । टेबल पनि त्यस्तै बुट्टा भरेको रातो कपडाले ढाकेको । अनि ठाउँ–ठाउँमा विभिन्न रङ्गका उनी धागोले बुनेका आकर्षक रुमालहरू ।

“यी कपडामा बुट्टा तपाईंले नै भरेको हो दिदी ।” मैले मुख खोलें ।

“मैले नै हो ।” उनी हल्का मुस्कुराइन् ।

“यी रुमाल पनि तपाईंले नै बुनेका ?”

“यी पनि मैले नै हो । राम्रा छन् ?” उनले फेरि मुस्कुराउँदै भनिन् ।

“ओहो राम्रा छन् नि,  मान्छे पनि राम्री । रुमाल पनि राम्रा ।” मैले यति भनेपछि उनी फुरुक्क परिन्।  

एक छिन त्यस्तै उस्तै बात मारेपछि उनले ‘भाइ, म खाजा बनाएर ल्याउँछु । यी फोटा हेर्दै गर्नू’ भनेर मेरा हातमा टेबलमा भएको एउटा एलबम थमाएर बाहिर निस्किन् ।

सानो–सानो एलबम । बीस–तीस वटा फोटाहरू । फोटाहरू कुनै रङ्गीन कुनै सादा । फोटा हेर्दै जाँदा सबै राम्रा भए पनि उनको एउटा एकल रङ्गीन फोटो चाहिं मलाई निकै मन प¥यो । कलेजी रङको चोलो, कालो भुईंमा बुट्टैबुट्टा भको सारी । निधारमा रातो टीका, हातमा सिको फाइभ घडी । हो कि होइन, हो कि होइन जस्तो हल्का मुस्कान । मृगनयनी आँखा । उज्यालो अनुहार । आँखा नझिम्क्याई निकै बेर हेरेपछि एलबमबाट त्यो फोटो निकालें र स्विंटरको भित्रपट्टि सर्टको गोजीमा हतार–हतार हालें ।

एक छिनपछि उनले दुईटा स्टिलका थालमा खाजा लिएर आइन् । हेर्दै खाऊँ–खाऊँ लाग्ने बेसार हालेको पहेंलो चाम्रे र मुलाको अचार । त्यसको मीठो स्वाद अहिले पनि सम्झिन्छु । खाजा खाइसकेपछि फेरि दूधको चिया लिएर आइन् । चिया पिउँदै एक छिन बात मारेपछि मैले भनें– “दिदी अब म जानुप¥यो ।”

त्यसपछि उनले दुई–तीन वटा उपन्यासका किताब र केही नोट कपि देखाउँदै भनिन् – “कुन किताब र कुन नोट कपि लाने ? अहिले एक–एक वटा लानू । अनि, पढिसकेर लेइदिएपछि फेरि लानू हुँदैन ?”

मैले रुपमती उपन्यास र नेपाली विषयको नोट कपि लिएँ । नोट त म आपूmले पनि बनाएकै थिएँ । एउटा भेट गर्ने निहुँ पनि भयो र अर्को कुनै छुटेको भए सार्न पनि भयो ।

मैले लिएको नोट कपिमा उनले खाट मुनिबाट निकालेर एउटा पट्याएको कपिको पाना पनि हालिन् । केही होला भनेर मैले त्यसको वास्ता गरिनँ ।

म उनकोबाट निस्कँदा घाम पारि बसेरीको डाँडाबाट ओ¥हालो लाग्नै आँटेका थिए । उनी वर पँधेरासम्म पु¥याउन आइन् । पँधेराबाट हामी छुट्टियौं । म उनीतिर हेर्दै–हेर्दै डाँडाबाट छलिएँ ।

घर आइपुगेर पहिला त्यो चोरेको फोटो निकालें र गाता च्यातिएको पुरानो एलबमभित्र घुसारें । त्यसपछि नोट कपिभित्रको त्यो कागज के हो भनेर हेर्दा त्यो त उनले मलाई लेखेको एउटा सानो चिठी पो रहेछ । चिठीका सबै शब्दहरू प्रेममय थिए । केही मुक्तकहरू थिए । पढ्दा–पढ्दै मन त्यसै फुरुङ्ग भयो । काहीं नभएको खुसी भरिएर आयो । नसा–नसा तरङ्गित भए । उफ्रौं–उफ्रौं जस्तो, नाचौं–नाचौं जस्तो भयो । बेलुका खाना खाएर कोठामा आएपछि पनि मैले त्यो चिठी धेरै चोटि पढें । मेरो जीवनमा पहिलो चोटि कसैले दिएको प्रेमपत्र थियो त्यो । मेरो हृदयमा प्रेमको बहार ल्याउने प्रिय शब्दहरू थिए ती ।

त्यही चिठीबाट म भित्र पनि प्रेमका भावनाहरू उकुस–मुकुस भए । त्यसपछि कपीको पाना निकालेर म लेख्न बसें । कनी–कुथी सायरी समेत हालेर दुई पेज जति लेखें र त्यही नोट कपिभित्र राखें ।

भोलिपल्ट बिहानै क्याम्पस जाँदा अरू साथीहरू भए पनि सबै आ–आफ्नो धुनमा हिंडेको बेला त्यो नोट कपि मैले हेरिसकें भनेर सुटुक्क दिएँ । कपिभित्र केही छ भनेर सङ्केत पनि गरें ।

त्यसपछि हाम्रा चिठीहरू धेरै आदान–प्रदान भए । चिठी यस्तो लेखिन्थ्यो कि आकाशका तारा तिनै अक्षरहरूमा झर्थे, समुद्रका मोति तिनै शब्दहरूमा टल्किन्थे । वन–वनेलीका रङ्गी–बिरङ्गी पूmलहरू तिनै शब्दहरूमा फुल्थे । चिठीमा सम्बोधन जूनको हुन्थ्यो । पूmलको हुन्थ्यो । मायालाई नीलो आकाशसँग तुलना गरिन्थ्यो । नदीको सङ्लो पानीसँग र समुद्रको गहिराइसँग दाँजिन्थ्यो । त्यतिखेर लेखेका प्रेमिल भावनाका केही टुक्राहरू अहिले पनि सम्झनामा छन् ः

शून्य क्षितिजको इन्द्रेणीमा  

पवित्र माया साँचिरहेछु

मुटुभित्र सम्झना लिएर

तिम्रै लागि बाँचिरहेछु ।

 

नदीको के अर्थ पानी नै नभएपछि

आकाशको के अर्थ तारा नै नभएपछि

इच्छा मात्र जागेर के भयो र

माया लाउने हृदय नै नभए पछि ।

 

कुनै बेला हिमाल पनि बल्दो रहेछ

नदी पनि आँसुझैं बग्दो रहेछ

यो मनको छिंडीले तिमीलाई नदेख्ता

संसार नै निरस लाग्दो रहेछ ।

 केही समयपछि उनले मलाई यो मेरो चिनो भनेर उनको कोठाको जस्तै रातो कपडामा सेतो करुवाको बुट्टा र सैतै झल्लर भएको खटिया पोस दिईन । अर्को चोटि फेरि हरियो खालको सर्ट उपहार दिईन् ।  

कहिले म उनकोमा कहिले उनी म कहाँ । बेला–बेला हाम्रो आवत–जावत पनि निकै भइरहने र गाउँका तिनै धारा–पँधेरा, डाँडा–पाखा, चहुर र चौतारीहरूमा हुने प्रेमालापले हाम्रो सम्बन्ध बारे गाउँमा निकै हल्ला पनि भयो । हाम्रो बारेमा मान्छेहरूले कुरा काट्न पनि थाले । यही भएर होला मेरो विवाह गर्न बुबाले केटी खोज्न थाल्नुभो । बिहा गर्दिन भन्न पनि सकिएन । केही समयपछि उनको पनि अन्तै बिहे भयो । उमेर परिपक्व नभएको र अरूले देख्ता एउटै गाउँघरमा दिदीभाइको जस्तै व्यवहार देखिएको हुँदा हामी दुई मिलेर भाग्ने आँट गर्न पनि सकिएन । बिहेको कुरो चलाउन पनि सकिएन ।

अब हाम्रो सम्बन्ध केवल सम्झनामा मात्र सीमित हुने भयो । प्रेमको भौतिक यात्रा त्यतिमै टुङ्गियो ।

०४५ सालको हिंउदमा उनले दिएका माथिका दुईटा उपहारमध्ये सर्टचाहिं स्कूलमुनिको पुन्य दर्जीलाई सिउन लाएर झण्डै छ–सात वर्षसम्म नफाटुञ्जेल लाएँ । उनले चिनो स्वरुप दिएको त्यो खटिया पोस चाहिं पहाडमा हुँदासम्म म सुत्ने खाटमै झुण्ड्याई राखें । उहाँबाट तराई झर्दा त्यो पनि झिटीगुण्टाभित्रै सुरक्षित भएर आयो । तराईमा खाटमा नझुण्ड्याए पनि ७०–७१ सालसम्म सुरक्षित नै थियो । यता काठमाडौं ल्याएर राखौं भन्दाभन्दै त्यत्तिकै भएछ । कता हराएछ त्यो । सायद थोत्रा कपडासँगै कतै मिल्कियो होला । भौतिक रुपमा त्यसलाई सुरक्षित राख्न नसके पनि मनको दराजमा भने सजाएको छु । बेला–बेला सम्झनाका खातहरू खोतल्दै जाँदा देखा पर्छ त्यो ।

जे होस् त्यो बाला उमेरमा पवित्र प्रेमको बगैंचामा पुतलीझैं फुर–फुर नाचेका, उडेका हामी दुई विवाहको लौकिक बन्धनमा नबाँधिए पनि र उनलाई नियतिले चाँडै लगे पनि उनीसँगको त्यो प्रेमको मधुर स्मृति यो जीवन रहेसम्म बाँचिरहनेछ । उनी यो लोकबाट बिदा भएको जुगौं भयो । उनले मायाले दिएको सर्ट फाट्यो । प्रेमको चिनोस्वरुप दिएको खटिया पोस पनि पुरानो भएर मक्कियो र कतै मिल्कियो । तर, मैले त्यही बेला चोरेको उनको त्यो फोटो बिगतमा केही समय हराए पनि घुम्दै–फिर्दै फेरि मैसँग आयो । अहिलेसम्म पनि मेरो कोठाको ठूलो एलबमभित्र प्रेमको पहिलो निशानी स्वरुप मुस्कुराइरहेछ त्यो । अब काबु बाहिरको परिस्थिति बाहेक म बाँचुञ्जेल त कहिल्यै हराउँदैन होला । मरेपछि पनि छोराछोरी, नातिनातिनाहरूले सम्भवतः सुरक्षित राखिदेलान् ।  

प्रकाशित: २१ मंसिर २०७७ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App