कला

कोरोना कालमा ७ वर्षका हार्दिक न्यौपानेले लेखे चित्रकथा

हार्दिक न्यौपाने ७ वर्षका भए। उनी अक्षरा स्कुलमा कक्षा २ मा पढ्छन। उनको घर सानोठिमी भक्तपुरमा छ। स्प्ष्ट बोली र पाको मान्छेले जस्तो भाँती पुर्याएर बोल्ने उनका संवाद सामाजिक सञ्जालमा चर्चित हुन्छन्। उनका बुबाले लेखेको पुस्तक ‘स्कुल बेच्ने बालक’ का उनी मुख्य पात्र हुन्। 

लकडाउनका बेला बालक हार्दिकले कथा, लेख, कविता लेखे। अन्तर्वार्ता दिए/लिए। उनले लेखेको चित्रकथाको पुस्तक पनि चाँडै प्रकाशन हुँदै छ। हार्दिकले लकडाउनमा अनलाइन कक्षा लिए। टन्न खेले। भान्जा दाइसँग खेले। टिभी हेरे। भिडियो हेरे। 

कोरोना महामारीकै कारण अन्य बालबालिकाजस्तै उनी पनि स्कुल नगएको निकै महिना भइसक्यो। कोठामै सीमित हुन बाध्य छन्। बाबु ! कोरोना भाइरस के हो भन्ने थाहा छ त भनेर सोध्दा उनले भने, ‘कोरोना एउटा भाइरस हो। यसबाट जोगिन बारम्बार हात धुनुपर्ने, बाहिर जाँदा मास्क लगाउनुपर्ने र स्यानिटाइजर दल्नुपर्ने रहेछ।’ 

घरभित्रै बसिरहनुपर्दा हार्दिकलाई दिक्क मात्रै लागेको छैन, आफ्ना बाबा–ममीसँग बस्न पाउँदा रमाइलो पनि लागिरहेको छ। ‘घरमा बसेर पढाइ कसरी अगाडि बढाइरहेका गर्छाै त बाबु?’ ‘राम्ररी पढ्ने। ज्ञानी भए पढ्ने। इक्जाममा पास हुने। होमवर्क गर्नी,’ उनले भने। ‘कोरोना महामारीका राम्रा र नराम्रा पक्ष के लाग्छन्?’ ‘नराम्रो कुरा भनेको महामारी भयो। धेरै मान्छे मरिरहेका छन्,’ हाँस्दै हार्दिकले भने, ‘फाइदाचाहिँ स्कुल खुलेका छैनन्, घरमै रमाइलो गरेर बस्न पाइयो।’ 

उमेर सानै भए पनि उनी कोरोनाका बेला राज्यले केही नगरेको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘यस्तो बेला राज्यले केही नै गरेन। आनन्दले घरमा बस्न दियो। त्यत्ति हो।’ उनले आफ्नो बाबासित राजाको विषयमा अन्तर्वार्ता लिन पनि भ्याए। धेरैले हेरे। निकै भाइरल पनि भयो।

 कसरी यति राम्रो अन्तर्वार्ता लिने सकियो त भन्ने प्रश्नमा उनले भने, ‘राम्रो पढाइलेखाइले दिमाग राम्रो बनाएर यस्तो सीपको विकास भएको हो।’ ‘केही अभिभावकले आफ्ना नानीहरूलाई एकोहोरो पढ–पढ मात्रै भन्छन्,’ उनले भने, ‘बेला बेला खेल्नु पनि पर्छ। खेल्यो भने दिमाग राम्रो बन्छ। फूर्तिलो पनि भइन्छ।’ 

यतिबेला सामाजिक सञ्जाल टिकटक लोकप्रिय भइरहेको छ। हार्दिकले पनि टिकटक खाता खोलेका छन्। उनलाई गीत गाएको र नाचेको टिकटक पनि बनाउन खुब मनपर्छ। उनको विचारमा टिकटकले नाच्न/गाउन सिकाए पनि अरू खासै फाइदा हुँदैन। ‘अन्तिममा केही भन्नु छ?’ उनले भने, ‘अरू मेरो केही भन्नु छैन। स्टे सेफ, स्टे होम। बाईबाई

प्रकाशित: २१ मंसिर २०७७ ०१:३९ आइतबार

कोरोना काल अक्षर