कला

‘चौँरी गाई हेर्दै ऊन धागो बेर्दै जिन्दगी बित्यो है’ (फाेटाे फिचर)

दशैँ सकिएलगत्तै पाँचथर सदरमुकाम फिदिमबाट कञ्चनजंघा बेस क्याम्पको यात्रा गर्ने योजना बन्यो। नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा बेस क्याम्प पुग्न थोरै गाडीको यात्रा र बाँकी पदयात्रा गर्नुपथ्र्यो। पाँचथरको थर्पु पुगेपछि कच्ची सडक सुरु भयो।  

लेन्डओभर गाडीमा पहाडको कच्ची बाटो हुँदै हामी (म र साथी निराजन श्रेष्ठ) अगाडि बढिरहेका थियौँ। कञ्चनजंघा, कुम्भकर्ण हिमाल हामीतर्फ फर्किएर टल्किएका देखिन्थे। गाडीमा अरु विभिन्न गाउँका यात्रुहरू दुःखपीर सुनाउँदै गफिएकै थिए। घच्याकघच्याक गर्दै गाडी अघि बढ्थ्यो। ‘बाटो कहिले राम्रो बन्ला ?’ भन्ने आशा र प्रश्न यात्रुका बोलीमा व्यक्त हुन्थे।  

बाटो छेउछाउमा किसानहरू धान काट्न व्यस्त देखिन्थे। कतै कोदो पाकेको, कतै अलैँची टिप्ने हतारो देखिन्थ्यो। सडकछेउमा गाडी चढ्नका लागि पर्खाइमा रहेका गाउँलेको दुःख उस्तै थियो। गाडी नपाएर पसिना बगाउँदै हिँडेकाहरू प्रशस्त थिए। सदरमुकाम तथा झापाबाट भरिएर आएका गाडीले थोरै दूरीका स्थानीय यात्रुलाई कमै चढाउँथे। सडक भए पनि टाढा–टाढाका गाउँ हिँडेर पुग्नुपर्ने बाध्यता देखियो।  

धुलो उडाउँदै गाडी अप्ठेरो बाटोमा अघि बढ्दै गर्दा परम्परागत शैलीका घरहरू वरपर देखिन्थे। सडक किनारमा नयाँ–नयाँ घर बन्दै गरेको पनि देखियो। ट्रक गाउँसम्म आइपुग्दा रहेछन्। ताप्लेजुङका साब्लाखु, मेहेले, सुरुखिम, खेवाङजस्ता सुनिरहेका ठाउँ छिचोल्दै अघि बढियो। करिब ६ घन्टाको यात्रापछि एकचेना भञ्ज्याङ पुग्यौँ। हाम्रो पहिलो दिनको गन्तव्य याम्फुदिनको भोटेगाउँ थियो। 

‘खैरे हिँड्ने बाटोमा त यो पालि हामी मात्र हिँड्यौँ,’ सोनामले ठट्टा गरे। उनी गायक रहेछन्। त्यति लेखपढ नभएका उनी आफैँ गीत बनाएर गाउँदा रहेछन्। दोहोरी उनलाई साह्रै मन पर्ने। उनले गीत सुनाए: चेराम है माथि, रामजेर है खर्क सुनपाती फूल्यो है, चौँरी गाई हेर्दै, ऊन धागो बेर्दै जिन्दगी बित्यो है। 

हाडको फेदैफेद भएर हाम्रो पैदल यात्रा अघि बढ्यो। रात झमक्कै पर्दा काबेली नदीको काखमा रहेको थुङ्गिम भन्ने ठाउँमा पुग्यौँ। थुङ्गिम सानो बजार रहेछ। यहाँ वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्य केन्द्र रहेछन्।  

‘भोटेगाउँ पुग्न अब एक घन्टा उकालो हिँड्नुपर्छ,’ पसलका दाइले भने। रात परिसके पनि हामीले उकालो चढ्ने आँट ग-यौँ। भोटेगाउँकै युवाहरू भेटिए, गफ गर्दै अघि बढ्यौँ।  

भोटेगाउँमा पान्जो शेर्पाले पर्खिरहेका थिए हामीलाई। उनी सदरमुकाम बस्ने भए पनि केही सातादेखि यतै थिए। हामीलाई कञ्चनजंघा बेसक्याम्प पु¥याउने जिम्मा उनको थियो। भोटेगाउँ ग्रामीण बस्ती भए पनि कञ्चनजंघा बेस क्याम्पका कारण होटलहरू बनेका रहेछन्। यहाँ पशुपालन नै मुख्य व्यवसाय हो। यम्फुदिन गेस्ट हाउसमा हामी बास बस्यौँ।  

कोरोना भाइरसका कारण योपल्ट पर्यटक थिएनन्। विदेशीहरू आउन पाएनन्। स्वदेशीहरू फाट्टफुट्ट मात्र आएका रहेछन्। ‘यो बेला यो ठाउँ विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो। अहिले त सुनसान छ,’ गेस्ट हाउस सञ्चालक छिरिङ शेर्पाले भने, ‘यसपालि विदेशी नआउँदा यस क्षेत्रमा होटल सञ्चालन हुन सकेनन्।’ उनीहरूको होटल चेराम भन्ने ठाउँमा पनि रहेछ।

दोस्रो दिन चाँडै खाना खाएर हाम्रो यात्रा अघि बढ्यो। फोनसँग सम्पर्क टुट्दै जाँदो रहेछ। यात्रामा तीनजना भयौँ। बाटो धेरै अप्ठेरो रहेछ। पान्जोलाई यो क्षेत्रको ज्ञान भएकाले हामीलाई सजिलो भयो। पान्जोले हामीलाई लासे भन्ने ठाउँ नभई नयाँ झोर्नी भन्ने तर्फको बाटोमा हिँडाए। बाटो भन्नु मात्र रहेछ। मान्छे कम हिँडेर बाटो नै जंगलझैँ भएको रहेछ। ‘विदेशीलाई यो बाटो हिँड्न गाह्रो छ है पान्जो, युवाहरूले केही गर्नुप-यो नि,’ निराजनले भने। पान्जोको जवाफ थियो, ‘यो नयाँ बाटो हो, यसपल्ट यो क्षेत्रमा मान्छे नहिँड्दा यस्तो भयो।’

उकालो चढ्दै गर्दा अघिल्लो दिन देखिएका अग्ला डाँडा होँचाहोँचा लाग्न थाले। लेकाली जंगलहरू देखिन थाले। कतै चौँरी भेटिन्थे। कतै हामीले पहिले नदेखेका फूल देखिए।  

गोठालाहरू चौँरी खेदाउँदै आइपुगे। उनीहरूको बास पनि यहीँ हुने रहेछ। उनीहरूका कुरा सुनेर लेकाली दुनियाँबारे जानकारी भयो। कतै चौँरीका दाम सुनाउँथे, कतै गोठका रमाइला कथा।

नयाँ झोर्नी भन्ने ठाउँ पुग्दा रात पर्न लागेको थियो। हाम्रो बास चौँरी गोठमा हुने भयो। चौँरी गोठ भए पनि व्यवस्थित रहेछ। अगेनो छेउमा बसेर चौँरीको दूधमा बनाएको चिया पिएपछि केही आरामको आभास भयो। गोठमा छुर्पी सुकिरहेका थिए। गोठका साहुजी थिएनन्। गोठमा काम गर्ने अनिल लिम्बुसँग एक छिन गफियौँ। उनले गोठमा काम गर्न थालेको दश वर्ष भयो रे। उनको जाडो बिदा हुन लागेको रहेछ। अर्थात्, चिसोका कारण चौँरी औलतिर झर्न थालेपछि उनी घर झर्दा रहेछन्। चौँरी उकालो चढ्ने तथा दुहुने सिजन भएपछि उनी गोठमा काम गर्न आउँदा रहेछन्।

बिहान उठ्दा अनिल उराङ (चौँरीका प्रजाति) दुहुँदै थिए। बाहिर घाम लागिसकेको थियो। चौँरीहरू गोठछेउमा जम्मा भएका थिए। त्यो दृश्यले हामीलाई तान्यो। ‘चित्रकार लिएर आउनुपर्ने रहेछ यहाँ त,’ मैले भने। ‘पोस्टरझैँ सुन्दर दृश्य’ निराजनले  थपे। पान्जोले नुनचिया खुवाए। एकछिन घाम ताप्यौँ। त्यसपछि भुटीभात खाएर बिहानको ९ बजेतिर हाम्रो तेस्रो दिनको यात्रा सुरु भयो। चौँरी डुल्ने बाटो हुँदै हामी अघि बढ्यौँ।  

डाँडामा पुग्दा डाँफे देख्यौँ। यसअघि फोटोमा मात्र डाँफे देखेको थिएँ। उड्ने डरले टाढैबाट जुम गरेर फोटो खिच्यौँ। मालिङ्गो तथा अग्ला–अग्ला रूख भएको बाटो थियो। बान्टे कटुस बाटोभरि झरेको देखिन्थ्यो। निकै अप्ठेरो लाग्ने ओरालो हिँड्यौँ। सिम्बुवा खोला पुगेपछि लासे र रानीपुल भन्ने ठाउँबाट आउनेहरू भेटिँदा रहेछन्। कञ्चनजंघा संरक्षण क्षेत्रका बोर्डहरू भेटिन थाले। सिम्बुवा खोलामा हिमालबाट आएको पानी बगिरहेको देखिन्थ्यो। यो खोला हेल्लोक भन्ने ठाउँ पुगेर तमोरमा मिसिँदो रहेछ। खोलाको काखैमा रहेको तोराङदेन भन्ने ठाउँमा दिउँसै पुगियो। यहाँभन्दा अघि बढ्दा बास बस्ने ठाउँमा नपुगिने भएकाले तोराङदेनमा हाम्रो बास हुने भयो। हामी आउने खबर पाएर तोराङदेन गेस्ट हाउसका पूर्ण शेर्पा पनि आइपुगे। उनले यस क्षेत्रका बारेमा सुनाए।

‘सिजनमा खुट्टा टेक्ने ठाउँ हँुदैन नि यहाँ। योपल्ट दुई सिजन नै कोरोनाले खाइदियो। घर गएर बसेका छौँ। तपाईंहरू आएको भनेर मात्र आएको,’ पूर्णले भने, ‘अर्को सिजनदेखि चल्छ कि भन्ने आशामा छौँ।’ त्यहाँ लेकको साग–भात खाएर बस्यौँ।  

बिहान खोलाबाट आएको सिरोटेले निकै चिसो महसुस हुन्थ्यो। खोला र चराचुरुंगीको आवाजबाहेक अरु कुनै उपस्थिति थिएन। बिहानको खाजा खाएर चौथो दिनको यात्रा सुरु ग-यौँ। उचाइ बढ्दै गएपछि हिँड्न गाह्रो हुँदै जाने। कतै गुराँस वन भेटिन्थे त, कतै रित्ता चौरहरू। हामीलाई परका हिमालले तानिरहेका थिए।

नयाँ झोर्नी भन्ने ठाउँ पुग्दा रात पर्न लागेको थियो। हाम्रो बास चौँरी गोठमा हुने भयो। चौँरी गोठ भए पनि व्यवस्थित रहेछ। अगेनो छेउमा बसेर चौँरीको दूधमा बनाएको चिया पिएपछि केही आरामको आभास भयो। गोठमा छुर्पी सुकिरहेका थिए। गोठका साहुजी थिएनन्। गोठमा काम गर्ने अनिल लिम्बुसँग एक छिन गफियौँ।  

मध्याह्नमा मौसम बिग्रियो, धुम्म भयो। बोर्ड तथा स्नो पोल राखिएकाले बाटोमा हराउने भन्ने त हुँदैनथ्यो। दोस्रो र तेस्रो दिनको भन्दा यहाँ बाटो राम्रो बनाइएको थियो। तर, दिउँसै अँध्यारो हुन थाल्यो। चेराम पुग्दा हिउँ प-यो। झरीपछिको पहिलो हिउँ रे, रमाइलो पनि लाग्यो। एकछिन हिउँ हे-यौँ। सिजनको पहिलो हिउँ भोग्ने संयोग मिल्यो।

चेराममा केही होटल रहेछन्, पर्यटकलाई लक्षित गरेर खोलिएका। पहिला यो क्षेत्रमा चौँरी गोठ थिए रे। एउटा मात्र होटल, त्यो पनि केही दिनअघि मात्र खोलेको। ‘कोरोनाका कारण गाउँ झरेकाले होटल चलाइएको थिएन, समान पनि खासै छैन। पोहोर हेलिकप्टरबाट ल्याएको सामानले अहिलेसम्म चलाइरहेका छौँ,’ होटल सञ्चालिका  पासाङ डोमाले भनिन्।

हामी कञ्चनजंघाको साउथ बेस क्याम्पतिर गइरहेका थियौँ। सेलेले पास गरेर नर्थ बेस क्याम्प पनि जान सकिन्छ। गत वर्ष म नर्थ बेस क्याम्पतर्फ गएको थिएँ। ताप्लेजुङ सदरमुकामबाट रानीपुलसम्म गाडीमा गएर नर्थ बेस क्याम्पको यात्रा गर्न सकिन्छ। लामाटार, आम्जीलेसा, ग्वाब्ला, फले हुँदै घुन्सा पुगिन्छ। घुन्साबाट सेलेले पास गरेर चेराम आउन सकिने रहेछ। घुन्साबाट खाम्वाचेन, लोनाक हुँदै उत्तरी नर्थ बेस क्याम्प पुगिन्छ। तर हामी योपल्ट साउथ बेस क्याम्पतर्फ गइरहेका छौँ। विदेशीहरू तथा केही नेपाली भने राउन्ड लगाउँछन्। साउथमा भन्दा नर्थमा होटलहरू राम्रा र धेरै छन्। बाटो राम्रो बनाइएको छ। घुन्सालाई नमुना बस्तीको रूपमा विकास गरिएको छ।  

गोठालाहरू चौँरी खेदाउँदै आइपुगे। उनीहरूको बास पनि यहीँ हुने रहेछ। उनीहरूका कुरा सुनेर लेकाली दुनियाँबारे जानकारी भयो। कतै चौँरीका दाम सुनाउँथे, कतै गोठका रमाइला कथा। साँझमा दुईवटै बेसक्याप फन्को लगाएर फर्किएको टोली आइपुग्यो। काठमाडौंका ती तन्नेरी साथीहरूले अनेकन् किस्सा सुनाए। याराक (लोकल रक्सी) ले माहोल तातिएपछि गफ लगाउने पालो नपाएको देखिन्थ्यो। हिमालनजिक भएका कारण चिसो अत्यधिक थियो। तर आगो ताप्ने सुविधात तथा ओढ्ने लुगा राम्रै थियो।  

पाचौँ दिन बिहान उठेर हिमाल हेर्दै चियाको चुस्की लियौँ। छेउमै रहेको होटलका साहुजी  दाछिरिङ आइपुगे। ‘हिमालमा होटल नचल्ने भएपछि तल (गाउँमा) खेतीपाती, पशुपालन गरिरहेको छु,’ उनले भने, ‘अर्को सिजनदेखि पक्कै विदेशीहरू आउलान्।’  

बिहान चिसो हुने भएकाले खाना खाएर हाम्रो यात्रा अघि बढ्यो। थोरै उकालो हिँडेपछि फराकिलो चौरमा यात्रा गर्नुपर्ने रहेछ। नजिकै देखिएजस्तो लागेको ठाउँ पनि हिँड्न निकै समय लाग्ने। चौरबाट तल सिम्बुवा खोला बगिरहेको देखिन्थ्यो, माथि हिमाल हाँसिरहेको। रूखहरू भेटिन छाडे, पोथ्रापोथ्री मात्र देखिन्थे।  

बाटोमा डी गोठ भेट्यौँ, खोलानजिकै रहेछ। त्यहाँ तीनवटा भोटे कुकुर थिए। त्यहाँका चौँरी हिमाल नजिकतिर लगिएको रहेछ। डी गोठमा चिया पिउने इच्छा पूरा भएन। बाटोमा कतै चिया पिउने ठाउँ थिएन।  

दिउँसै रामजेर पुगियो। हिमालकै काखमा होटेल रहेछ। पुग्दाबित्तिकै तातो चिया पिउन पाइयो। होटल सञ्चालक छ्याम्बा शेर्पा निकै रमाइला रहेछन्। हिमाल तथा ‘ग्ल्यासियर’का बारेमा जानकारी गराए। तातो सुप खाएपछि शरीरलाई आनन्द भयो। छ्याम्बाले चौँरी गोठ चलाउँदाचलाउँदै होटल थालेका रहेछन्। चौँरी गोठ भएकै ठाउँमा होटलका रूपमा अघि बढाइएको रहेछ।

गोठ सञ्चालक सोनाम शेर्पा (झिल्के सोनाम) र प्रेमराज गुरुङ पनि आए। चौँरी गोठपालनको दुनियाँ फरक रहेछ। तिब्बत, भारतको सिक्किमसम्म नेपाली चौँरी गोठको सम्बन्ध रहेछ। नयाँ पुस्ताले गोठ थाम्ने सम्भावना एकदमै कम भएको पाका मानिस बताउँछन्। हिमालमा चौँरीगोठ हुनेहरूका अधिकांश सन्तान सहरमा राम्रा विद्यालयमा पढिरहेका छन्। उनीहरू गोठ फर्किने सम्भावना कम छ।

‘खैरे हिँड्ने बाटोमा त यो पालि हामी मात्र हिँड्यौँ,’ सोनामले ठट्टा गरे। उनी गायक रहेछन्। त्यति लेखपढ नभएका उनी आफैँ गीत बनाएर गाउँदा रहेछन्। दोहोरी उनलाई साह्रै मन पर्ने। उनले गीत सुनाए ः

चेराम है माथि, रामजेर है खर्क सुनपाती फूल्यो है,  
चौँरी गाई हेर्दै, ऊन धागो बेर्दै जिन्दगी बित्यो है,  

हजुर जिन्दगी बित्यो है।  

साँझ पर्दै गर्दा हिमाल राता हुँदै गए। साँझको हिमाल पनि गज्जब। रातको हिमाल खोलाको पानी जमेर बनेको पोखरीमा टल्किँदा झनै सुन्दर देखिने ! चिसो भएकाले छिटै सुतियो। तर, निदाउन सकिनँ। अग्लो ठाउँ भएकाले समस्या भएको रहेछ।

छैटौँ दिन बिहान अलि चाँडो उठ्यौँ, बिहानको हिमाल हेर्नु थियो। चिसो अत्यधिक, पानी जमेको थियो। हिमालको काखमा हिउँमाथि चौँरी थिए। घामको झुल्को हिमालमा परेको दृश्यले लोभ्यायो। कञ्चनजंघा देखिन थाल्यो। कञ्चनजंघाको शिरमा घाम पर्दाको दृश्य हेरिरहुँ लाग्ने।  

रामजेरबाट दुई घन्टा हिँडेर ओक्ताङ पुगियो। यो नै हाम्रो गन्तव्य थियो, अर्थात् कञ्चनजंघा हिमालको साउथ बेस क्याम्प। अरु सिजनमा भरिभराउ हुने बेस क्याम्पमा हामी तीनजना मात्र थियौँ। हिमालकै काखमा आइपुग्दा हामी उद्वेलित भयौँ। यात्राका थकान हराएको भान भयो। चार हजार सात सय ५० मिटर उचाइमा उभिएर मैले हिमाललाई नमस्ते गरेँ। त्यहाँबाट लामो ‘ग्ल्यासियर’ देख्यौँ। हिमालमा घाम बढ्दै जाँदा थप उज्यालो भयो। कञ्चनजंघासहित अन्य हिमाल हे¥यौँ। पान्जो धेरैपल्ट यहाँ आइपुगिसकेका, निराजन नर्थ गए पनि साउथ नपुगेकाले निकै खुसी देखिए। हिमाल आरोहण बढी मात्रामा साउथबाटै हुँदो रहेछ। यहाँ धजापताका पुराना देखिन्थे। लाग्थ्यो, यो सिजनमा आन्तरिक पर्यटक पनि कम आइपुगे।  

कञ्चनजंघासहित अन्य हिमालहरू पनि देखिए। कञ्चनजंघा संरक्षण क्षेत्रभित्र आठ हजार मिटरमाथि उचाइका चार र सात हजार मिटर माथिका १७ वटा हिमाल रहेका छन्। फक्ताङलुङ हिमाल नर्थतर्फ पर्छ। खम्बाचेन भन्ने ठाउँबाट फक्ताङलुङको काखमा पुग्न सकिन्छ। पदयात्रा लागि अत्यन्त रोमाञ्चक कञ्चनजंघा सर्किट घुम्न २६ दिन लाग्ने बताइन्छ। नेपालीहरू थोरै दिनमै घुमेको उदाहरण पनि छ।

२०५४ सालमा यो क्षेत्रलाई कञ्चनजंघा संरक्षण क्षेत्र घोषणा गरिएको थियो। दुई हजार ३५ वर्गकिलो मिटर क्षेत्र ओगटेको यो क्षेत्र संरक्षणका लागि ०६३ मा समुदायलाई हस्तान्तरण गरिएको थियो। यो क्षेत्र हिउँ चितुवाका लागि पनि महŒवपूर्ण छ। यो क्षेत्रमा रैथाने र घुमन्ते गरी दुई सय ५२ प्रजातिका चरा पाइने कञ्चनजंघा क्षेत्र संरक्षण परिषद्बाट प्रकाशित पुस्तकमा उल्लेख छ। यहाँ दुई सय ६६ ताल रहेको उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७७ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App