विकल्प सर्वहारा
अँजुली थापी म समीप आएर, प्यार मागिरहेछु,
प्रियसीकै सुन्दर त्यो गीत गाएर, प्यार मागिरहेछु ।
साक्षी राखेर यो चन्द्र, सूर्य धर्ती अनि आकाशलाई,
जीवनभरिलाई कसम खाएर, प्यार मागिरहेछु ।
अथाह प्रेमको एउटा कथा कोरेर, अन्तरहृदयमा,
पाखा र पखेरुसँगै मायाु लाएर, प्यार मागिरहेछु ।
दाइने पारेर देवी र देउराली वर अनि पीपललाई,
आस्थाको आफ्नै मन्दिर धाएर, प्यार मागिरहेछु ।
भावनाहरू गजल बनेर, जब छहालिन्छ शब्दमा ,
प्रत्येक धड्कनले औधी चाहेर, प्यार मागिरहेछु ।
प्रकाशित: १९ मंसिर २०७७ ११:२५ शुक्रबार