कला

थ्री डी

लघुकथा

 विजयराज आचार्य  

      

रुवाबासी

“ओए ! सलिना स्कुलभित्र रुन पाइन्न भनेको तँलाई थाहा छैन ? किन रोइरहेकी ?” मातृकाले झर्कदै सोधी ।  

“रुन पनि नियमकानूनले छेक्छ र ?” सलिना झन् डाँको छाडेर रुन थाली ।  

“खासमा तँ किन रोएकी सलिना ?” मातृकाले आँखाभरि आँसु टिलपिलाउँदै सोधी ।  

“तेरोभन्दा मेरो नम्बर बढी आएकाले नि । सधैँ मेरोभन्दा तेरो बढी नम्बर आउँथ्यो । कति दुःख लागेको छ होला है तँलाई ।” बोल्दाबोल्दै सलिना हिक्कहिक्क गर्दै रुन थाली ।

यसपटकको परीक्षामा सलिनाले कक्षामा सधैँ पहिलो हुने मातृकाको भन्दा धेरै नम्बर ल्याएकी थिई ।  

सलिना रोएको देखेर मातृकाको पनि आँसु थामिएन । ऊ पनि डाँको छाडेर रुन थाली । कक्षाका साथीहरूले मातृका र सलिनालाई घेरेर रुनुको कारण सोधे र सम्झाउन खोजे । तर उनीहरूको रुवाइ थामिएन । त्यसपछि कक्षाका साथीहरू पनि मातृका र सलिनासँग स्वर मिलाउँदै डाँको छाडेर रुन थाले । कक्षाभित्र कोलाहलमय भयो ।  

अरू कक्षाका विद्यार्थीहरू पनि “के भो ? के भो ?” भन्दै उनीहरूको कक्षामा आउन थाले । कक्षाबाहिर भीड बढ्दै गयो । स्कुलमा रुवाबासी मच्चिएको सुनेर वरिपरिका छिमेकीहरू पनि आउन थाले ।  

“सबै जना एकैचोटि किन रोएको ?” सबैको यही जिज्ञासा थियो ।  

कक्षाका अरू विद्यार्थीहरूको एउटै उत्तर थियो, “सलिना र मातृका रोएको देखेर रोएको ।”

सबैको ध्यान मातृका र सलिनातिर गयो । उनीहरू हिक्कहिक्क गर्दै रुँदै थिए ।  

अचानक उनीहरू रुन छाडे । रुन्चे हाँसो हाँस्दै उनीहरूले एक–अर्कालाई अँगालामा कसे । त्यसपछि हतारिँदै बाथरुममा पसे ।  

केटीहरूको चाला देखेर सबै जना जिल्ल परे ।  

 

जिउँदो माछा

 

“साहुजी मलाई जिउँदा माछा दिनुस् त,” विश्वासले माछा पसलेलाई भन्यो ।  

“कुन जातको माछा दिऊँ ? कति केजी दिऊँ ?” पसलेले सोध्यो ।  

“जुन जातको भए पनि हुन्छ । मलाई जिउँदा माछा दुई किलो जोखिदिनुस्,” विश्वासले भन्यो ।  

पसलेले पानीट्याङ्कीबाट जालीको थैलोले एउटा माछा निकाल्यो र जोख्दै भन्यो, “दुई केजीभन्दा बेसी छ । हुन्छ ? कत्रो कत्रो टुक्रा पारिदिऊँ ?”

पसलेको कुरा सुनेर विश्वासलाई झोँक चल्यो । उसले भन्यो, “के कुरा .गरेको साहुजी ? काटकुट पारेपछि माछा मर्दैन ? मलाई त मेरी श्रीमतीले जिउँदो माछा किनेर ल्याउन भनेकी छ । मरेको माछामा के के नराम्रो औषधि राखिएको हुन्छ भनेर ऊ मरेको माछा खानै मान्दिन ।”

“तपाईंको मर्जी,” भन्दै पसलेले जालीमा छटपटाइरहेको माछालाई प्लास्टिकको झोलामा राखेर विश्वासलाई दियो । उसले भन्यो, “घरमा गएर मलाई कत्ला र भुँडीसमेतको माछा पठाइदियो भनेर तपाईंकी श्रीमतीले गाली ग¥यो भने मलाई नभन्नु होला ।”

“किन गाली गर्ने ! उसलाई जिउँदो माछा चाहिएको हो । घर पुग्दासम्म जिउँदै भए त भइहाल्यो नि,” विश्वासले भन्यो ।  

विश्वास जिउँदा माछाको पोका बोकेर घरतिर हिँड्यो ।  

घरमा श्रीमती माछा पकाउने मसला तयार पारेर कराहीमा तेल बसालेर पर्खिरहेकी थिई ।  

विश्वास हतारिँदै भान्छामा गयो र माछा राखेको झोला श्रीमतीका हातमा राखिदियो ।  

तेला तात्तिरहेकोले श्रीमतीले झोलाको माछा  सोझै कराहीमा खन्याइन् ।  

तातो तेलमा परेर माछा छटपटायो र उफ्रेर कराहीबाट बाहिर निस्क्यो र भुइँमा छटपटाउन थाल्यो ।  

 

थ्री डी

 

कोरिया जान इपीएस जाँच दिनेहरूको लामो लाइनमा पेम्बालाई देखेर मिङमा छक्क प¥यो ।  

“तिमी पनि कोरिया जाने ?”

“अनि तिमी पनि ?”

दुवै जना छक्क पर्नु स्वाभाविक थियो किनकि दुवै जना विश्वविद्यालयमा एमफिलका विद्यार्थी थिए । परीक्षा नजिकै थियो । पेम्बा त झन् कक्षाकै सबैभन्दा राम्रो विद्यार्थी थियो ।  

“जाँच छाड्ने भयौ त ?” पेम्बाले सोध्यो ।

“के गर्नु घरको समस्याले गर्दा जानै प¥यो । यहाँ बसे पनि खासै आम्दानी हुने हैन । अनि तिमी धनी बाबुको छोरा भएर पनि कोरिया जान लागेको ?” मिङमाले सोध्यो ।  

“बाबुको सम्पत्ति छ भनेर काम नगरी बस्न भएन । यहाँ भनेजस्तो काम पाइँदैन,” पेम्बाले भन्यो ।  

“अनि कस्तो कम्पनीमा काम गर्न जान लागेको नि ?”

“थ्री डीको काम गर्छु भन्यो भने तुरुन्तै भिसा पाइन्छ रे । त्यसैमा ।”

“के हो नि थ्री डी भनेको ?” पेम्बाले सोध्यो ।  

“थ्री डाइमेन्सनल भनेको लम्बाइ, चौडाइ र गहिराइ पनि देखाउने काम भनेको,”  मिङमाले भन्यो ।  

“कुनै पनि सामानको जस्ताको तस्तै नक्कल बनाउने कामलाई थ्री डी प्रिन्टिङ भनिन्छ । जस्तै मूर्ति, भाँडाकुँडा इत्यादिको नक्कल गरी बनाउने काम । अचेल थ्री डी प्रिन्टिङको निकै माग छ,” कम्प्युटर डिजाइनको काम गरिरहेकोले मैले त्यही काम रोजेँ ।”

“मैले पनि त कम्प्युटर जानेको छु । म पनि थ्री डीको काम गर्न जान्छु । नजानेको तिमीले सिकाइदेऊ, हुँदैन ?” पेम्बाले भन्यो ।  

केही दिनपछि मिङमा र पेम्बा कोरिया पुगे र एउटा कम्पनीमा दुवै जनाले नियुक्ति पाए ।  

अर्को दिन उनीहरू घुम्ने कुर्सीमा बसेर कम्प्युटर चलाउने कल्पना गर्दै कम्पनीमा पुगे । कम्पनीको म्यानेजरले उनीहरूले गर्नुपर्ने कामको बारेमा लेखिएको कागत फाइलबाट निकाले र आफ्नो सहयोगीलाई दिए ।  

सहयोगीले उनीहरूलाई कम्पनीको सरसफाइ विभागको स्टोरमा लग्यो । उसले टुटेफुटेको अंग्रेजीमा उनीहरूलाई भन्यो, “यहाँ काम गर्दा लाउने ड्रेस छ । काम गर्ने औजारहरू यहाँ छन् ।”  

उनीहरूले औजारहरू राखिएको भित्तातिर हेरे । भित्तामा विभिन्न आकारका ब्रस, कुचो, बढार्ने, फोहोर उठाउने, जम्मा गर्ने र फोहोर मैला राखेर गुडाउने गाडाहरू थिए ।  

छक्क पर्दै मिङमाले सोध्यो, “खै यहाँ त कम्प्युटर देख्दिनँ नि ?”

“कम्प्युटर ? किन चाहिन्छ कम्प्युटर ?” सहयोगीले झन् छक्क पर्दै सोध्यो ।

“सरसफाइ गर्न कम्प्युटर चाहिन्छ ?”

दुवै जना छाँगाबाट खसेभैmँ भए । उनीहरूसँग अरू कुनै विकल्प थिएन । त्यहीँ काम गर्न थाले ।

बिदाको दिन त्यहाँ पहिलेदेखि काम गरिरहेको पुरानो साथी हरिसँग उनीहरूको भेट भयो । पेम्बाले भन्यो, “हामी यहाँ थ्री डीको काम गर्न भनेर आएको ट्वाइलेट र अफिस सफा गर्दै बस्नुपरेको छ । हामीलाई कम्पनीले झुक्याएर अर्को काममा लगायो कि क्या हो !  के गर्ने होला !”

उसको कुरा सुनेर हरि खित्का छाडेर हाँस्यो र भन्यो, “थ्री डीको काम भनेको त्यही त हो – डेन्जर, डर्टी र डिफिकल्ट । तिमीहरूले गर्न थालेको काम त्यही त हो । कम्पनीले झुक्याएको हैन, तिमीहरू आफैं झुक्किएका हौ ।” 

हरिको कुरा सुनेर उनीहरू बोल्नै सकेनन् । एकअर्कालाई वाक्क परेर हेरिरहे ।

 

रूम नं. १०४

 

“जय नेपाल सर ,  मनोज बिमारी भयो । उसलाई अस्पताल लैजानु परयो ,” प्रहरी हवल्दारले जेलरलाई स्यालुट ठोक्दै भन्यो ।  

“को मनोज !

त्यही जबर्जस्ती करणीमा जेल परेको !  त्यसले त जेलभित्र हैरान पारिसक्यो । त्यस्तालाई कसरी बाहिर पठाउने !” जेलरले भन्यो ।  

“जस्तोसुकै अपराधी भए पनि उपचार त गराउनै परयो  नि साब । फेरि जेलमै मरयो भने !” हवल्दारले जेलरलाई तर्साउँदै भन्यो ।

“लानै पर्ने भए लैजाऊ तर होसियार हुनु । प्रहरीको कर्तव्य नभुल्नू । अपराधीले लोभलालचमा फसाउन खोज्छन् विचार गर्नु नि । तलमाथि भए तिम्रो जिम्मा हो,” जेलरले सम्झाउँदै भन्यो । 

“हस् साप,  केही फरक पर्दैन । म मात्र पनि त हुन्नँ । अरू प्रहरी जवानहरू पनि जान्छन् ।”

बिरामी कैदी मनोज, दुई जना प्रहरी जवान र हवल्दार भएर उनीहरू अस्पताल जान भनी हिँडे । तर, अलि पर पुगेपछि उनीहरू अर्को बाटो लागे । 

निर्धारित समयमा पनि कैदी र जवानहरू नफर्केपछि जेलरको मनमा चिसो पस्यो । उनले अस्पतालमा फोन गरे । कैदी र जवानहरू अस्पताल नगएको जानकारी पाएपछि उनी छाँगोबाट खसेझैं भए ।

उनले तत्कालै हवल्दारलाई फोन गरे ।

“हामी चियानास्ता खाएर फर्कँदै छौँ साप,” हवल्दारले लर्बरिएको बोलीमा भन्यो र विश्वास पार्नका लागि होटलको नाम पनि बताइदियो ।

जेलर सरासर होटलमा पुगे । होटलको रेस्टुँरामा हवल्दार र दुई जना जवान रक्सी र मासु खानमा मस्त थिए । हवल्दारले लर्खराउँदै उठेर स्यालुट हान्दै भन्यो, “मनोज रूम नं. १०४ मा छ सर ।”  

जेलरले कुरा बुझ्यो । ऊ रूम नं. १०४ मा पुग्यो । एक लात्ती हानेर ढोका फुटायो । भित्र मनोज एउटी महिलासँग निर्वाङ्ग भएर टाँसिएको थियो । महिलाको अनुहार देखेर जेलर तस्र्यो । ऊ भिजेको बिरालोझैं लुरुलरु आफ्नो अफिस फक्र्यो ।

 

सन्यास  

 

“बाबा म यो कभर बनाउने कामबाट सन्यास लिएर अर्कै काम थाल्नु परयो ।” कम्प्युटरमा आफ्नै बाबाको हाइकु सङ्ग्रहको आफैले डिजाइन गरेको कभर आफैलाई चित्त नबुझेर प्रवृकले औँला पड्काउँदै भन्यो ।  

“यति राम्रो कभर बनाएका छौँ । मलाई त एकदम राम्रो लाग्यो । तिमी भने सन्यास लिने कुरा गर्छौ ।” प्रवृकका बुबाले मुस्कुराउँदै भने ।

“यही कभरलाई दश चोटि बनाइसके आपैmलाई चित्त बुझाउन सकेको छैन । के गरिरहनु यस्तो  काम ?” उसले झर्कदै भन्यो ।  

“सन्यास त कुनै एउटा काम लामो समयसम्म गर्दागर्दै वाक्क लागेर लिने गर्छन् । लौ भन त तिमीले यो काम गर्न थालेको कति भयो ?”  

“कति हुनु नि पहिलो पटक कभर बनाउन लागेको तपाईंको किताबको त हो,” उसले दिक्क मान्दै भन्यो ।  

“पहिलो प्रयासमै यति राम्रो छ । किन सन्यास लिने !” छोरालाई हौसला दिँदै बुबाले भन्नुभयो । “मेरो पनि पहिलो कथामा धेरै आलोचना आएको थियो । त्यसैको पछि लागेको भए म कहाँ यहाँसम्म आइपुग्थेँ र ।”  

प्रवृकले पनिआफूले  बनाएको कभर ट्वाल्ल परेर कम्प्युटरमा हेरिरह्यो ।  

प्रकाशित: १९ मंसिर २०७७ ०६:१८ शुक्रबार

अक्षर