कला

भेट्न नसकेको लाहाछाप

कथा

टंकबहादुर आले मगर  

 

छैनन् केही छैनन् । न आकार न नीराकार । छैनन् आकाश न छन् घाम जून न पृथ्वी न हावा न आगो । प्रकाश छैन त्यसको प्रतिपक्ष अँध्यारो छैन । कस्तो हुन्छ पानी, हावा, बादल श्वासप्रश्वास । चेतना, बोध, स्मरण, स्पर्स, अनुभूति, माया, आक्रोश न नै वेदना ।

अहँ यो संसार थियो न यी मैले लेख्दै गरेको अक्षरहरू ।

आज यहाँ आइपुग्दा ज्ञान भइरहेछ अनि मेरो महान आमाको  स्वर  खूब खेल्थे अरे आमाको कोखमा । ती तीता सुइँरे घाउको दुखाइ निको हुन्थ्यो अरे म हुर्किरहेको पेट छामेर आमा तारा हेरेर, भालेको डाक सुनेर, घाम हेरेर, आफ्नो छायाँ देखेर समयको नाप गर्ने सोझा आदिबासी आमा । मगरहरूको बाहुल्य रहे पनि, दलित र दुईचार घर सोझा क्षेत्रीबाहुन मिलेर बसेको मेरो गाउँ – डाडाँगाउँ ।

मलाई के थाहा अघिदेखि नै रहेछन् आफन्त । विविध जीवजन्तु र तिनलाई हाँक्ने प्रकृति । म जन्मेको छैटौं दिन नाम, थर, उपथर र जातको शिलान्यास भएछ ।

के थाहा थोत्रो छिटको गुन्यूको थाङ्नामा गँुडुिल्कएर आमाको वाात्सल्य काखमा दुईटै मुठी बाँधेर, निस्फिक्री निदाइरहेको म बबुरो शिशुलाई आफ्नै न्वारन भइरहेको छ । सपनामा फ्यास्स हाँस्दा आमाले गालामा टाँस्दै म जन्मिदाको प्रसव – पींडालाई भुल्दै जानु भयो सायद ।

मसँगै फस्टिदै गए मेरा चेतना र अंगहरू । तब पहिलोपटक मैले मेरी आमा मेरा ईश्वर मलाई अपार ममता सेचन गर्ने पाएछु र त मेरी आमा मेरो जीवनको पाटो रहेछिन् । आमा जता जानुहुन्थ्यो उतै रुँदै पछ्याउँथे, दंग्याउँथे, लडीबडी गर्थे धूलोमा । तब हिँडिसक्नु भएकी मेरी आमा फर्केर दूध चुसाएर, फकाएर, कान्छी दिदीको आङमा बोकाएर लुकेर जानुहुन्थ्यो मेलोतिर । म, माइला दाइ, कान्छी दिदी र अन्यसँग रमाउँदै धूलो खेल्थ्यौँ । कहिले कोक्रोमा भोकले रुँदा मेरी कान्छी काकी आई दूध खुवाएर जानुहुन्थ्यो ।  

आज मेरो बुबाआमासँगै ती माया दिने कान्छी काकी पनि हुनुहुन्न यो संसारमा ।

काकी भन्नुहुन्थ्यो “मंगले ! (मैले म जन्मेको बारले पाएको नाम) तँ मेरै छोरा होस् । तैले मेरो दूध खाको छस् । तँ भाग्यमानी छस् । नहाँसी बोल्दैनस् आदिआदि ।

आज आफँैलाई धिकार्छु, ती आमा– काकीलाई एउटा गम्छासम्म दिन सकिन । न कहिल्यै एक गाँस मीठोमसिना दिन सकेँ । जति बेला उहाँ हुनुहुन्थ्यो, म असमर्थ थिएँ । आज अलिक सार्थक छु उहाँ हुनुहुन्न । सोच्छु – केही आफन्तलाई दिनु छ भने दिइहाल्नु पर्दाेरहेछ । नत्र त यस्तै अपुरो र  अधुरो, कहिल्यै नमेटिने गुनासो रहने रहेछ ।

यसरी मेरो सचेतनासँगै घाम,  आकाश, हावा, बादल, आगोपानी, मीठोनमिठो, राम्रोनराम्रो, अग्लोहोचो, उकालोओरालो, तेस्रो, कुइनेटो, लेकबेंसी मधेस, पहाड, हिमाल, अक्षर इत्यादि क्रमश ः आए आइरहेकै छन् ।

मेरो चेतना दगुर्दै गर्थे नयाँ वस्तुलाई चिन्न जान्न । प्रतिफल म मेरै मातृभाषामा दिदीको आङ्गमा झुन्डेर सोध्थें –“होसै ही आले डै ?” (त्यो के हो दिदी ) थाकेकी दिदी मलाई भुईमा राख्दै भन्नुहुन्थ्यो –“होसै ग्वाजा आले ।” (त्यो चरा हो)

“ह्योच्यो म्यार्मिन ही आले?” (त्यसको नाम के हो?)

“पिटलुङ !” (जुरेली)

“होच्यो इम?” (त्यसको घर)

“म्यार्टुङ्आङ् ! ” (बोटमा) यसरी प्रथम गुरु मेरी दिदीहरू हुनुहुन्थ्यो । बोल्न, हिँड्न, सिकाउने प्रशिक्षक दिदीहरू ।

हुर्किंदै जाँदा मैले धेरै माया दिने थापा टोल, मुखियो टोल, बाहुन टोल, सार्की टोल, कामी टोल, दर्लामी टोल यस्तै टोलहरू भेट्दै गए । यस्तै टोलै टोल बनिएको मेरो गाउँ, ठ्याक्कै मान्छेको शरीरजस्तै मेरो गाउँ । बिहानै थपेनी फुपू आएर म छेउमै बस्दै भन्नुहुन्थ्यो —‘तेरो बिरालोले टेकेको नेप्टो नाकबाट कति सिँगान आउँछ हँ ?’

म फ्यास्स हाँस्थेँ ।

अझै यो फुलेको केशको छात्रछायामा रहेको मगजभित्र, आलै छन् ती अतीत । जति मेट्न खोजे पनि नमेटिने सम्झना –“गाउँमा सुँगुर घुमाउने लागेको बोका, बहिली पठ्याङ्ग्रा काट्दा बुबाले मलाई काँधमा बोकेर मासु लिनु जानुहुन्थ्यो । म दुइटै काँधबाट खुट्टा झारेर बुबाको टाउको समाएर बस्थेँ । बुबाको टाउकोनिरै मेरो नाक हुने गथ्र्याे । र त्यो महान टाउकोबाट निस्केको बुबाको मौलिक घुर, परिश्रमको सुवास अझै सुवासित भइरहन्छ हृदयको कुनाकन्दरामा । अहँ विस्थापित गर्न सकेको छैन यो बेलासम्म महँगो, विदेशी पफ्र्युमहरूले पनि ।

आमाको काख, बुबाको काँध दिदीहरूको पिठ्यूँबाट ओर्लेर हात समाई टुकुटुकु हिँड्न थालेपछि पाथी डालो एक हातले झुन्डयाएर, एक हातले बुबाको दौराको फेर समाएर भेजा हाल्ने आँगनसम्म पुग्ने हुँदा, भेजा लाउन टुक्य्राएको मासुका सीठा टिप्न थाल्थेँ छेउमै बसेर । कति दाइकाकाहरू कराउँथे –“मंगले, पर जा खुकुरीले लाग्छ’ भन्दै । तर छलिँदै छेउमै बस्थेँ अनि हेर्थे जति धार्नी भएको छ त्यति खुट्टा, टाउको, कलेजो, मृगौला, पाटे बोसो, करङ्ङ, पीडा, हयाकुलो, गर्धनहरू टुक्रा बनाएर भाग लगाइरहनुभएको छ ।

आज सोच्छु – त्यो भेजा उठाएर स्याउला फ्याक्ने बेला सिलो गरेका हत्केलामा टिपेका मासुका सीठाहरू अनि घरमा लगेर पोलेर खाएको कथा । उफ कति अभाव रहेछ !

समयको पालुवासँगै झ्याँगिएका मेरा दिनचर्याहरू केही जिज्ञासा उब्जाउने अग्रजका चलन गाईभैसी बियाउँदा पहिलो दूधको बिगौतीलाई दूधे घाँसको पातमा अलिअलि राख्दै पोका पार्दै बाँसको काम्टोमा सातपोका च्यापेर घरको चिर्पटमा सातपोके सिउरिने चलन । बुबा भन्नुहुन्थ्यो – पहिलो – पोका इष्टदेवलाई, दोस्रो – सिमे भूमेलाई, तेस्रो – देशान र रोग वेगलाई, चौथो – नराम्रो नयन राख्नेलाई, पाँचौ – सबैको भलो चाहनेलाई, छैटौं – आगो, घाम, बतास, आकाश र धर्तीलाई, सातौ – उनै गोठाले देवलाई ।”

म जिज्ञासा पोख्थेँ – यसो गर्दा के हुन्छ र ?  

उहाँ भन्नुहुन्थ्यो –“विश्वास हो । परम्पराबाट चल्दै आएको चलन । खाना खानअघि तिहुनमा चोभेर भातको सिठो  मन्साउनु, मासु ल्याए पातमा एक सिठो मासु राखी त्यसलाई आगोको कोइला राखेर बाहिर बाटामा मन्साउनु । कतै हिँड्नु पर्दा थुथु गर्दै हातमा थुक लगाई पैतालाको धुलोको, या ओदाननको कालो टीका लगाई मलाई हिँडाउनु हुने मेरी आमा, कतै बाहिर जानुपर्दा, आकाशमा गड्याङगुडुङ गर्न थालेपछि मेरी आमा हताँरिदै मेरो र माल्दाइको टाउकोमा, जाँडको फाक्चो र हातमा थुक लगाई  दलेर हतारहतार अगेनामा लोहोरो राख्नुहुन्थ्यो । खोई कस्तो विश्वास हो । त्यसो गर्दा हामीलाई चट्याङ लाग्दैन अरे ! भूतपे्रतले छुँदैन अरे ! कति ढुक्क मन, एउटी आमाको, सन्तान रक्षा गर्ने चलन । कहिले बुबा परदेश हिँड्न घरबाट निस्कनअघि मेरो दुइटै हत्केलामा थुथु  गर्दै जानुहुन्थ्यो बुबासँगै मेरो सातो जान्छ भनेर ।  

छाकछाकमा पिँधेर कुटेर (ओखली र ढिकीमा) खाने चलन । बाख्रा थुन्ने बेला आमा जाँतो  पिन्न थाल्दा, उहाँको पछाडि ढेसिएर उभिन्थे –“ज्याट् ज्याट् (भात, भात) भन्दै आमाले आफूले  थप्ने  भात पित्ले भाँडाको कोखामा सानो डल्लो राख्नुहुन्थ्यो । त्यही भात सिलिबारे बटुकोमा लगाई घाराखुरीको तेल चुहाइदिनुहुन्थ्यो । कहिले सिलौटोमा नून र लसुन पिनेर दिनुहुन्थ्यो । ‘उफ ! कति मीठो, स्वादिलो  भात खाएर आमाको काखमा टाउको राखी भुईमै ढल्कन्थे । जाँतोको एकोहोरो  आवाज, आमाको काख हल्लिदा मस्त निदाउथेँ, कोक्रोको नानीझैँ ।

 त्यो समय बाल्यावस्था घस्रिरहेको थियो संसारको उच्च र स्वर्गिक अनुभूतिमा ।

त्यो बेलाको जातीय छुवाछूत, घरछेउमै तीनचार सार्कीको घर थिए । पहलमान सार्की, मेरो माइला मामाको मीत, म सधंै मामा भन्दै सम्मान गर्थे । उहाँको जेठा छोरा मेरो अभिन्न मित्र । कहिलेकाहीँ हामीसँगै सुत्थ्यौँ पातलो बर्काे तानातान गर्दै तर हामीलाई न्यानो दिन हाम्रो बीचमा पसेर सुत्थ्यो, ढाडे बिरालो । कहिलेकाहीँ हाम्रो निन्द्रा पनि भङ्ग गथ्र्याे, गाउँको अर्काे बिरालोले ढाडेलाई आक्रमण गरेपछि । कान्छा मामा (राते सार्की) मेरो मन पर्ने मान्छे । सधैँ उहाँ प्रेरणा दिनुहुन्थ्यो, पढ्नुपर्छ नराम्रा काम गर्न हँुदैन भन्दै । अर्का एक्ले दाइ जीवनको अर्काे सहारा । तर आज उहाँहरू हुनुहुन्न, उहाँहरूले मेरो हृदयमा छोडेका छाप अमर छन्  र म चाहन्छु  म मरे पनि मेरो ती अतीत दोहोरिरहोस् ।

आज एक्लै हुँदा हुरुरुरु आइरहेछन् सम्झनाहरू पखेटा हालेर ।तर कहिले बिर्से मेरो रछयान सोसेको माटो, साथी पुरेको बारीको कान्ला । अझै सम्झनामा आइरहन्छ । मैले खेलेको चिप्लेटी ढुंगा, गँगटा खोज्दा पल्टा’को ढुंगा । अनि ती मेरा बुबाआमा, बाजेबज्यूका चिहानहरू, छोपे होलान् घँगारुका काँडै काँडाले । अघिअघि म हुन्थेँ पछिपछि इमानको घाँसको डोको बोकेर कख सिकाउँदै हिँड्नुहुन्थ्यो संसारको सबैभन्दा महान मान्छे आमा ।

प्रकाशित: १८ मंसिर २०७७ ०७:३८ बिहीबार

अक्षर