कला

जात मान्छेमा जमेको जड

लघुकथा

लक्ष्मी उप्रेती

 

मान्छेकै जात भएर मान्छेले जन्म लिन्छ।  रगत उस्तै रातो, भोक,निद्रा, इच्छा र चाहाना सबै उस्तै। तर जातको नामलाई अगाडि सारेर रडाको मच्चाउँछन् मारामार गर्छन् ।

ब्राह्मण समुदायकी सुनिताको अठार वर्षमा नै बिहे भयो। तर दुर्भाग्य बिहे गरेको एक वर्ष नपुग्दै उसको श्रीमानको मृत्यु भयो। लोग्नेको मृत्युपश्चात् गर्भवती सुनितालाई घरकाले निकै नै दुर्व्यवहार गरे। अन्ततः ऊ माइतै आएको तीन महिनामा छोरी जन्माई।

  त्यसपछि ऊ घर नगई माइतमा नै बसेर छोरी हुकाई । छोरी पाँच कक्षमा पढ्दै थिई। जवानीमा नै विधवा भएकी सुनिता २८ वर्षको उमेरमा छोरीलाई माइतमै छाडेर घरमा विश्वकर्म जातको हलीसँग स्वाट्ट भागी ।

ऊ अजातसँग हिँडी भनेर गाउँमा आगो बल्यो । अन्ततः उसलाई अब यो गाउँमा पस्नै नदिने निष्कर्ष निकालेर साम्मे भयो।

नौ महिनापछिको एक साँझमा आगनको छेउमा कक्रक्क परेर बसेको उसकी आमाले उसलाई देखी। आमाको मन न हो  हत्तनपत्त भित्र लगेर ढोका लगाइन्। अनि थाहा पाइन् जोसँग ऊ भागेकी थिई त्यसले अनेक निहुँ  निकालेर दिनै जसो मरणासन्न हुने गरी कुटिरहने कुरा ।

आमाको मन पग्लियो र छोरीलाई कसरी बचाउने भनेर आमाले एउटा जुक्ति निकालिन्। अलि टाढा भएकी एक्ली आमा बिरामी भएकाले  बैनी र आफूले स्याहार्न घर बिताएको सम्झिएर छोरी र नातिनीलाई त्यहीँ पुर्‍याउने भइन्। अनि बिहानै एउटा ट्याक्सी रिजर्भ गरेर नयाँ हलीलाई अराईकराई बेलुकासम्ममा आइपुग्छु भनेर स्वाट्ट बाटो लागे।  रिजर्भ गरेको गाडीमा आमाको घर पुग्न ५ घण्टा लाग्यो ।

  घरको व्यावहार बिगारेर पनि आमाको सेवामा बैनी तैनाथ थिई। अनि पहिले बैनीसँग सरसल्लाह गरिन् र बैनीले आमालाई भनिन् । आमा सुनिते त्यो अजातलाई छाडेर आइछ। अब गाउँमा पनि यसलाई बस्न दिँदैनन्। यहाँ त कसैलाई थाहा छैन। आमाको सेवा उसले गर्छे ।  नातिनीले उसलाई नछुवाई खाना बनाएर खुवाउँछे भन्दा दिदीबैनीलाई चकित पारेर अस्पतालमा कसकसले पकाएको खाना खानु परो भनी आफ्नी नातिनीले छोएको चै किन नखानु । खान्छु म त  सुनितेले पकाएको पनि।

 यो जात भन्ने कुरा त मान्छेमा जमेको जडता मात्र हो भनेर आमाले भन्नु हुँदा सबैजना भित्रभित्रै गद्गद् भए। अलि पर अलग्गै बसेकी सुनिता आएर हजुरआमाको  हात समाउँदै रुन थाली। अनि हजुरआमाले भन्नुभयो – सुनिते त्यो गल्तीलाई उमेरको गल्ती ठानेर माफ दिएँ। अब चै यस्तो गल्ती नगर है भनेर तान्दै  गालामा म्वाइँ खानुभयो।

प्रकाशित: १८ मंसिर २०७७ ०६:५४ बिहीबार

अक्षर