कला

प्रतिस्पर्धा

कविता

सोनाम सज्जन किराती

 

 

अहिले  प्रतिस्पर्धा 

लुटेरा– लुटेराहरूको चलिरहेछ

देश खाने धमिराहरूबीच चलिरहेछ

 कुर्सीमाथि बाँदर  

जसरी चढ्छ  

लिस्नो खोसाखोसमा  

ध्यान ढल्काइरहेछ

 

हो यति कुरा बुझेर  

पनि नबोल्ने मानिस देखे सामुन्ने  

तिनीप्रति घृणा जागिरहेछ

अरू मेरो केही छैन  

 

  प्रतिस्पर्धा  यस्तै छ

 

यहाँ जज

उनै बन्छन्  

उनको आदेश पालनकर्ता

लम्पसार छन्

कार्यान्वयन गर्न भष्माचुर हुन्छन्  

 

र आफ्नो लङ्गौटिया पुच्छरहरूको  

हर्कत नियन्त्रणमा छैनन्  

तब त ती तथाकथित विद्वात्त

किङ घोषित छन्

 

मलाई त्यतिबेला  

यो गुलाफी मुलायम

झर्को लाग्छ

चर्को आगोको समन्वय  

अर्को लाग्छ  

 

त्यहाँ त्यतिबेला सम्बन्धमा शंका देख्छु  

र रित्तिएको बेवकुफ बोतल भएर

लडिरहेको खोक्रो आदर्श भेट्छु

 

मनमा ऊर्जा भरिएर

उम्रिएको सपना  

एकाएक ढलेको देख्छु  

 

यसो र त म अचेल

चूपचाप  बस्नुभन्दा

तिते मुख छाडेकोमा ग्लानि लाग्दैन  

फिटिक्क सहेको मन पर्दैन

 

प्रगतिशील आत्मचेत बिलाएर

दुर्गतिशील शीतल

बनेको देख्छु  

आम जीवनमा लुच्चा सहुलियत  

खोजिरहेको पाउँछु

 

यसर्थ त मलाई मनपर्न छोडेको छ  

गफाडीतन्त्र

बाँदरतन्त्र मुर्दावाद

सफेद वीरतातन्त्र जिन्दावाद ।

प्रकाशित: १८ मंसिर २०७७ ०६:२९ बिहीबार

अक्षर