कला

अन्तिम उपाय

लघुकथा

सीताराम नेपाल

 

उसले गुहार माग्यो– डाक्टरले ज्वरोको बिरामी जाँचेनन् । अस्पतालले यहाँ उपचार हुन सक्दैन अन्यत्र लग्नुस् भन्यो । बिरामीको स्वास्थ्य उपचार गर्ने संवैधानिक हक हनन भयो ।

यो कुरा सुकेको खरबारीमा लागेको आगोजसरी फैलियो । डाक्टरहरू आफ्नो सङ्घमा भेला भए । छलफल भयो । आफू सुरक्षित हुने अत्यावश्यक वस्तुको उपलब्धता भए पो बिरामी जाँच्नु। आफै समाप्त हुने गरी कुन मूर्खले बिरामीको उपचार गर्छ । स्वयं जिवेत जगत भला !

अस्पतालहरूको सङ्घको बैठकले पनि डाक्टरहरूको भनाइ ठिक ठहर्याइयो ।

सरकारले डाक्टरको प्रमाणपत्र खोस्ने , अस्पताल बन्द गर्नेसम्मको गोर्खेलौरी देखायो । लगत्तै डाक्टर र अस्पतालका सङ्घहरूको बैठक बस्यो । अस्पताल खुले । डाक्टरहरू काममा लागे ।

बिरामीहरू अस्पताल जँचाउन गए । ऊ पनि खुसी हुँदै जँचाउन गयो ।

– के भोर अस्पताल आउनु भो !  

– ज्वरो , खोकी, स्याँस्याँ हुने !

– त्यहीँबाट भन्नुस । अलिपरबाट डाक्टरले सोधे ।

– घर कहाँ हो ! कहाँबाट आउनुभयो ! भारततिर तीर्थ गर्न जानु भाथ्यो कि ! कोरिया , युरोप , अमेरिका नि । तपाईंका आफन्त कोहीले यी मुलुक गई फर्केका छन् कि !

– लौन डाक्टर सा’ब मलाई गाह्रो भैरा’छ । मेरो इलाज गर्ने कि प्रहरीले अपराधीलाई जस्तो सोध्ने मात्रै ।

– बिरामी ऊ नजिक जान लागेपछि नजिक नआउनुस् । म सङ्कमित हुँ । तपाईंलाई सर्ला भन्दै डाक्टरपछि हटे ।

ऊ अर्को राम्रो अस्पतालमा गयो तर उसले आफ्नो कुरा भनी नसक्दै डाक्टर भागे । जिल्ल परेर अलि परको नामी अस्पताल जाँदा मूलढोका नै बन्द भएको पायो । हैरान भएर घर आर्इ यूट्युबमा बेलिबिस्तार लायो । बेलुका समाचार सुन्दा अस्पताल र डाक्टरहरूले सफेद झूट बोली उसलाई उल्लीबिल्ली पारेको सुनेर ऊ तीनछक्क भयो ।

प्रकाशित: १८ मंसिर २०७७ ०५:०१ बिहीबार

अक्षर