कला

फूलको जिन्दगी

निबन्ध

ज्ञानेन्द्र विवश

 

प्रिय फूल, तिमीलाई सम्बोधन गरेर म आज तिम्रो जिन्दगीमाथि फूलबुट्टा भर्न उत्सुक छु । तिम्रो दर्शनपश्चात् मेरो दैनिकी प्रारम्भ हुँदै छ ।

पवित्र प्रेमको विराट रूप नै कोमल, कमनीय अनि प्रीतिकर फूल । सत्यमं, शिवमं सुन्दरंको साकार स्वरूप नै तिमी हौ प्रिय फूल । तिम्रो रङ, तिम्रो रूप नेहेरी म बिहान बिउँझिन सक्दिनँ । तिम्रो त्यही रङहरूका अनेकौं प्रकारहरूले मलाई मोहित पार्दछ । फूल म तिम्रो जिन्दगीसँग रमाउन चाहन्छु । तिमीसँग सधैं नजिक रहन चाहन्छु ।

फूलको जिन्दगी कति प्रिय र कति अप्रिय । सबैको आँखा फूलैमा । कसैले माया गरेर मलजल गर्ने । कसैले प्रेम गरेर टिपी आफूसँगै लिने । फूल तिमी कति थरी दुःख र चोट सहन सक्छौ ? तिमी सबैको प्रिय छौ । काँडैकाँडाका बीचमा पनि तिमी हाँसेर अरूलाई पनि आनन्दित पार्न सक्छौ । धन्य फूल तिमी जिन्दगीको एक प्रेरणादायी बनस्पति हौ ।

जिन्दगी तिमी फूल भएर मुस्कुराई देऊ । काँडा बनेर रगताम्मे हुने गरी घोच्न नआऊ । अनि सधैँ झक्झक्याइरहने याद बनेर पनि नआई देऊ । स्याहार–सुसार गर्दै व्यर्थ म कति माया गरुँ तिमीलाई ! तिमीलाई अरूले टिप्न, लुछ्न, लुट्न सक्छन् भनी म कति चिन्ता लिऊ ? तिमी अब आफ्नो ख्याल आफैं गर । भो अब म धेरै शुभचिन्तक बनिरहन सक्दिनँ तिम्रो । शुभेच्छा पोखिरहने मेरो अधिकार पनि छैन । तिमी अब आफैँ सुरक्षित र शक्तिशाली बनी मुस्कान बाँडेर बाँच मेरो शुभकामना छ, प्रिय फूल !

झरीले रूझे पनि फूलले मिठो मुस्कान बाँडेकै छ । कस्तै चोट र पीडा पनि निर्धक्क सहेर बाँचे छ । त्यसैले त पवित्र मानिन्छ फूल । त्यसैले फूललाई पूजाकर्ममा चढाएर सम्मान दिइन्छ फूललाई । अनि फूलको जीवन सार्थक र धन्य बनेको छ !  

रङसँगको गहिरो मित्रताको परिणाम नै त हो यो कमाल । कुशल कलाकर्मको प्रमाण हो यो चित्रकर्म । रङहरूका अनेक अन्तरसंघर्षले जन्माएको मैत्रिपूर्ण रङ–सौन्दर्यको चमत्कारले म मोहित भएर मूकदर्शक भइरहेको छु । निःशब्द बनिरहेको छु !  

प्रकृति र फूल नै हो प्रेरणा र प्रभाव । प्रकृतिको एक अनुपम उपहार । फूल तिमी नै हो गुरु–गौरव । सिक्नु कति प्रकृति तिमीबाट हामीले ? हेर्नू कति सुन्दरता तिम्रा ! सारा रङका भण्डार तिमीमै छ । सारा खुसीका उच्छ्वास तिमीमै छ । बयान गरेर सकिँदैन । हेरेर थाकिँदैन । अथाह, अनन्त, असीम सौन्दर्यको आलोकमा उपस्थित तिमीलाई यो बिहानीमा आँखाले आस्वादन गरेर नमन गरें । जय प्रकृति माता ! जय फूल !

मुस्कान बाँड्न सक्नुपर्ने रहेछ काँडैकाडाको घेरामा घेरिए पनि । सौन्दर्य सम्प्रेषण गर्न सकिने रहेछ पीडामा चोबलिए पनि ।

मैले आँखामा तिमीलाई नराखेको दिनै छैन । मैले मन र मुटुले तिमीसँग कुरा नगरेको क्षणै छैन । आस्थाको दीप प्रज्ज्वलित सधैं आशाको किरणले कहिल्यै अँध्यारो देख्न नपरोस् । शान्त, समृद्ध मनले रचनात्मक समय व्यतीत भइरहोस् ।

प्रिय फूल म हेर्छु आँखामा तिम्रै सुन्दर संरचना, तिम्रै प्रेम प्रकम्पन । भेट्छु बारीका डिल, कान्ला, बगैँचा र घरका गमलाहरूमा तिमीलाई सुकोमल मधु–माधुर्य ममतामा । जुन बेला पनि तिमी मुस्कुराइरहेकै देख्दा म कस्तै तनावलाई पनि चटक्कै बिर्सिन पुग्छु ।  फूल तिम्रै रूप–सौन्दर्यमा समर्पित हुन पुग्छु ।

अतः यी फूल हुन् जिन्दगीका रङगिन सपना–संसार । यिनमै छ सुख र दुःखका कथा र व्यथा । लिन सके यीबाट अनेक छन् सकारात्मक सन्देश जीवनमा । ग्रहण गर्न नजान्दा त्यत्तिकै खेर गएका छन् यिनको सुन्दरता ।

फूलजस्तै जीवन हाम्रो सिर्जना–समग्र यसमै छ । यसकै सौन्दर्य–सुवासले जिन्दगी ऊर्जाशील बन्दछ । प्रत्येक पत्र–पुष्प परागमा प्रणय विम्ब उद्घाटित हुन्छ । तिनलाई आत्मसात् गरी मनन–महसुस गर्नु प्रकृतिप्रेमी हाम्रो परम कर्तव्य हुन्छ । यात्रामा यस्ता धेरै फूल देखिन्छन् । आाँखामा यस्ता धेरै फूलहरूले प्रेम गर्न आउँछन् तिनलाई तिनको निश्चल सुन्दरतालाई हामीले सिर्जनात्मक मनको अक्षरले साकार आकार दिनु अति दिव्य दैनिकी हुन सक्दछ ।

प्रकाशित: १० मंसिर २०७७ ०८:२२ बुधबार

अक्षर