कला

मान्छे

कविता

  खिमानन्द पोखरेल  

 

मान्छे आफ्नो औचित्य

आफैले समाप्त पार्न

चाहिरहेछ

अनि समाप्त पार्न चाहिरहेछ

आफ्नो सम्पूर्ण अस्तित्व

मान्छे सपनाको महल बनाउने

प्रयास गरिरहेछ

किन मेटाउन चाहिरहेछ मान्छे

गुनिला कुराहरू

किन गर्दैछ अर्धपागलको नाटक

फूर्तिलो घोडा जस्तै वेगसँग  

किन दौडिन सक्दैन

मान्छे बुध्दिमानको आदर्शमा

उसको चरित्र खुल्छ

आदर्शका कुरा छॉट्दा आफूलाई

सभ्य हुँ भन्छ  

नरम बनेर फाइदा उठाउन जान्दैन

विश्वासको आस्थालाई समेट्न सक्दैन

उसको विचारले विवेकको राजधानीको मौलिक अस्थित्व कहॉ सखाप पार्न सक्छ र  

तैपनि

सूर्यको एक चोइटा घामसँगै

उसका सपनाहरू सल्बलाइरहेछन्  

पाखुरीहरू चल्मलाइरहेछन्

निल गिरीका अग्ला पहाडहरू खण्डित भइरहेछन् ।

आकाशी पीण्डका स्वेत पतकरहरूसँगै  टॉसिएका छन् अतिरन्जित

अवयवहरू ।

मानिस आफूभित्र रहेको आदर्शको

पर्खाल मेटाउन किन चाहिरहेछ

मानिस – मानिस बिचको सम्बन्ध किन

समाप्त पार्न चाहिरहेछ  

मनिस किन कोलाहलको दुनियाँभित्र रमाउँदै

औचित्यहीन मार्ग अनुसरण गर्दै

बेमौसमको राग फलाकिरहेछ ।

अग्ला ढुंगिला र चुच्चिला चट्टानहरूमाथि

स्पर्श गर्दा कोमल पाउबाट निस्किरहेछन्

रक्तरन्जित वेदनाहरू ।

वेदनासँगै जोडिएका छन् कोलाहलका स्वरहरू

स्वरहरूबाट निस्कने गरेका कारुणिक भावमा स्वल्प रक्त कणिकाको  

अजीव प्राणी बनिरहेछ मान्छे ।

मानिसले खनेका कोदालोका

डोबहरूमा चुहिरहेछन् परिश्रमका थोपाहरू

नाङ्गा खुट्टाको भरमै कोशौ दूरी तय गरिरहेछ मान्छे मिसिएको छ

अनि  

खोजिरहेछ आफैले आफ्नो  

औचित्य समाप्त पार्न ।

प्रकाशित: ९ मंसिर २०७७ ०६:१६ मंगलबार

अक्षर