स्नेह पोखरेल
महादेव कैलाश पर्वत घुम्न गएका थिए । पति घुम्न गएका बेलामा पार्वतीले आफ्नो सुरक्षाका लागि छोरा गणेशलाई ढोका बाहिर राखिन् अनि ढोकाबाट भित्र कसैलाई पस्न नदिनु है भनिन् ।
कैलाशकुट पर्वत घुमेर जट्टेधारी शिव घर आए । शिवले गणेशलाई छोरो भनेर चिनेनन् । गणेशले पनि शिव आफ्नो बाबु हो भनेर चिनेको थिएन । शिव आफ्नो घरभित्र जान खोजे । पार्वती भित्र नुहाउँदै थिइन् । आमाको आज्ञापालन गर्न गणेशले भित्र जान दिएनन् । शिव र गणेशको भनाभन भयो । शिव एकदमै झ्वाँकी र रिसाहा थिए । आफ्नो घरभित्र जान यति सानो केटाले बाटो छेक्दा रिसले आगो भए । रिसको झ्वाँकमा बाटो छेकेर बस्ने केटाको टाउको नै काटे अनि शिव भित्र आए ।
शिवलाई भित्र आएको देखेर छक्क पर्दै पार्वतीले सोधिन् – महादेवलाई बाहिर द्वारमा कसैले रोकेन !
“अँ, एउटा फुच्चे केटो खूब फूर्ति गर्दै रोक्न खोज्यो । अनि मेरो घरमा मलाई नै रोक्नेको शिर नै काटेर दुई टुक्रा पारेर लडाए । त्यसको कस्तो हिम्मत भनेर बाटो खोलेर आए ।’ महादेव रिसको आगोमा दन्कदै भने ।
आफ्ना पतिका कुरा सुनेर पार्वती विलाप गर्न थालिन । आफ्नो बालक छोरालाई बाबुले नै काटकोमा रुँदै महादेवलाई त्यो त हाम्रै छोरा हो । महादेव नभएको बेला मेरो रक्षाका लागि मैले नै उसलाई बाहिर राखेकी थिएँ । यो के गरेको । जसरी भए पनि हाम्रो छोरालाई बचाउनुस् । ऊबिना बाँच्न सक्दिन भनेर विन्ती गरिन् । पार्वतीले यसोभन्दा महादेव तीन छक्क परे । आफूले ठूलो गल्ती गरेकोमा उनी खूब पछुताए ।
पछुताएर पनि के गर्नु । छोराको टाउको र जीउ टुक्रयाई त गए । पार्वतीको बिलौनाले उनलाई असह्य भयो । अनि आफ्ना सेनाहरू नन्दी, भिरुंगीलाई, ‘अन्जानमा मैले मेरो छोरा काटें । अब उसलाई बचाउन जे जसको टाउको पाउँछौं, त्यसको टाउको छिटो ल्याओ हतारिदै आदेश दिए । आफ्ना स्वामी महादेवको आज्ञापालना गर्दै नन्दी, भिरुंगीहरू टाउको लिन भनी तुरन्तै हिँडे ।
बाटामा जाँदाजाँदै पहिले हात्तीको बच्चा देखे अनि त्यही हात्तीको बच्चाको टाउको नै काटेर ल्याए र महादेव अगाडि राखे ।
हात्तीको टाउको देख्नेबित्तिकै महादेवले आफ्ना छोराको शरीरमा टाउको जोडे ।
आफ्नै छोराको शरीरमा हात्तीको टाउको राखेरै भए पनि छोरो बचाउन सकेकोमा महादेव र पार्वती खुसी भए ।
त्यसैले हात्तीको जस्तो सुँड गणेशको टाउको छ । गणेश जन्मदा यस्ता थिएनन् ।
प्रकाशित: ८ मंसिर २०७७ १०:१२ सोमबार