त्रिविक्रम पाण्डे
आँखालाई झूटा सपना देखाएर पनि के गरूँ,
म यहाँ तासको महल बनाएर पनि के गरूँ !
मलाई थाहा छ जीवन त्यति लामो छैन,
शताब्दीसँग शर्त लगाएर पनि के गरूँ !
मेरो मन प्यार त भुइँ धरतीसँग छ,
आफैंलाई गगनमा पुरयाएर पनि के गरूँ !
संसारको कुनै जलले पनि धुँदैन यो कलङ्क,
त भन बाग्मती कर्णाली नुहाएर पनि के गरूँ !
शिखर टेकेर मलाई नीच देखाउनेहरू पनि छन्,
ती अवसरवादीहरूको साथी बनेर पनि के गरूँ !
यसरी त चम्किने छैन अँध्यारो यो भाग्य मेरो ,
फेरि आफ्नो यो मन जलाएर पनि के गरूँ !
मलाई थाहा छ उनीमाथि कोही पराईको हक छ,
अकारण उनीमाथि आफ्नो हक देखाएर पनि के गरूँ !
तन – मनले अब उनी मेरो हुनै सक्दिनन् ,
त उनलाई यो ह्रदयमा राखेर पनि के गरूँ !
सायद यो भाग्यमा दुख– पीडा वियोग मात्रै छ,
सुख चैन आनन्द शान्ति मिलन खोजेर मात्रै के गरूँ !
प्रकाशित: ७ मंसिर २०७७ ०६:३० आइतबार