डा. विदुर चालिसे
गाउँमा भेडा गोठालाहरू थिए । शहरमा साँढेका टहलुवाहरू थिए । खेतको चपरी काटिरहेको माइलाले कानमा झुन्डिएको एयरफोनमा सुन्यो
– फुट्यो रे फुट्यो !
– के फुट्यो रे होई माइला !
– पार्टीहरू भसक्कै फुटे रे !
भर्खर जुटेर खेतमा पर्म गर्न लागेको साइलालाई अलि ननिको कुराजस्तो लाग्यो । उसलाई बेलाबेला उरन्ठेलो हावाले कहिलेकाहीँ छुने गर्दथ्यो र बखतबखतमा बत्तास्सिएर उडिदिन्थ्यो ।
सुनेको खबर अपच भएपछि उसले माइलालाई निश्चित गरेर सोध्यो,
– होइन होला, सत्ता र सत्य त !
– सत्य नभए सत्ता त फुट्यो फुट्यो !
– तँ पनि धेरै ढिंड छस् है साथी, चूपचाप लाग !
उनीहरूको मनले एक्कासि तनाव लिन थाल्यो। घरबार बनाउने ध्येयले भर्खर जम्मा भएका उनीहरूमा नयाँ प्रश्न जन्म्यो– अब कता लाग्ने ! दरबार या सिंहदरबार !
माइलाले स्वास्नी, छोराछोरी, बाआमा र नातागोता ऐश्वर्य, धन र दौलतको भोग सम्झँदै भन्यो –
दरबारतिर लागे शान पाइन्छ ।
प्रतिवाद गर्दै साइलाले समाज, परम्परा, संस्कृति, इतिहास र साथीभाइसँगको कर्तव्य सम्झँदै भन्यो –
–सिंहदरबारतिर लागे काम पाइन्छ !
उनीहरू अल्मलिरहेको यही समयमा कहिल्यै गाउँ नटेकेका शवयात्रीहरू शङ्ख फुक्दै खेतमा आएर उनीहरूलाई निकै मान गरेर फकाउन थाले –
लौ हजुरहरू त समाजको प्रतिष्ठित किसानहरू हुनुहुन्छ, हाम्रो साथ लाग्नुपर्यो ।
उनीहरूले धेरै नै करकाप गरेपछि दुवै जना किसानले लुरूक्क परेर आश्वासन दिएझैं गरेर भने – भइहाल्छ नि ,बरु टीकाचाहिँ कुन रङको लगाउने गरेको छ, हजुरहरूले !
मलामीहरू अलमल्ल परे । उनीहरूलाई समर्थनको टीकाबारे याद भएनछ । उनीहरू अमिलिएर फर्के । एकछिनपछि अर्को भीड मूर्दा नै बोकेर खेतको आलीमा राखेर ह्वाँह्वाँ रून लागे ।किसानहरूले डर र रिसले एकैचोटि कामेर सोधे – तपाईंहरूको के जात्रा हो यो वाहियात सन्ठहरू !
– नरिसाउनु न हजुर, यहाँजस्तो बुझकीले त झोक देखाउन मिल्छ र ! के गर्नु, नहुने कुरा भइगो, शहीदको सपना गई गो । अब हजुरको एक मात्र साथ हामीलाई हुनुपर्यो ।
किसानहरूको आँखा भीडको बयान सुनेपछि टलपल रसाएर आयो । उनीहरू भावुक बने । भीडले तिनलाई सोध्दै नसोधी कालो रङको टीका लगाइदिए । कालो टीका लगाइदिने भीड फर्केको मात्र के थियो । अर्को क्रान्तिकारी भीड आएर च्याप्प समात्यो र भन्यो – सबैभन्दा शक्तिशाली हामी नै हौँ ट्याँस्स टिको टाँस ! देश बनाउने जिम्मा हाम्रो पक्का भो ।
खेतको चपरी ताछिरहेका किसानहरूले रातो रङको टीकामा रगतको फाल्सा फाटेर बगेको देखेर एकार्कालाई हियाइरहेथे– शैतानी तुफान !
प्रकाशित: ६ मंसिर २०७७ ०८:३२ शनिबार