कला

साइबर एडिक्सन

लघुकथा

विजयराज आचार्य

 

  साइबर एडिक्सन  

 

तोतेबोली बोल्दादेखिकै साथी थिए प्रवृक र सुमन । डाक्टर बनुञ्जेलसम्मै सहपाठी भए । जागिरे जीवन पनि एकै दिन सुरु गरे । तर फरक–फरक अस्पतालमा ।

बिहे पनि एकै दिन गरे । एउटै परिवारमा । दुई भाइका छोरीहरू । दुवै जना बिजनेस स्टडीमा मास्टर्स । प्रवृकले फिजासँग विवाह ग¥यो । सुमनले बिजुनासँग । विवाहपछि दुई बहिनी नै मास्टर्स डिग्री होल्डर हाउस वाइफ बने ।  

डाक्टरी गर्न थालेपछि सुमन र प्रवृकले धेरै पैसा कमाए । दुवैले राजधानीमै घडेरी किनेर घर बनाउने सल्लाह गरे । घडेरी पनि एकै ठाउँ किने । दुवैले दुरुस्तै एउटै डिजाइनको घर बनाए ।

बाहिरी गेट एउटै थियो । भित्र पसेपछि आ–आफ्नो घरमा छिर्नु पर्दथ्यो । दुवै डाक्टरलाई गेटसम्म अफिसको गाडीले लिन र पु¥याउन आउँथ्यो ।

दुवै घरका चारैजना सामाजिक सञ्जालमा पोख्त थिए । निश्चित कामका बेलाबाहेक उनीहरूको हातमा मोबाइल टुट्दैनथ्यो । डाक्टरहरू मोबाइल हेर्दै अपरेशन गर्थे । गृहिणीहरू फेसबुक चलाउँदै घरको काम भ्याउँथे ।  

शुक्रबार साँझ ठिक ५ बजे प्रवृकलाई गाडीले गेटमा ओरालिदियो । ऊ मोबाइल हेर्दै गाडीबाट ओर्लियो र मोबाइलमै आँखा गाडेर गेटभित्र छि¥यो । त्यो दिन ऊ मोबाइलको कारण झुक्किएर सुमनको घरमा पस्यो ।

घरभित्रको बनावट उस्तै भएकोले उसलाई कुनै शङ्का भएन । सरासर भित्र गयो र फ्यात्त झोला भुइँमा फालेर थ्याच्च सोफामा बसेर च्याटिङमा मस्त भयो ।

विजुता पहिलेदेखि सोफामा बसेर च्याटिङमै व्यस्त थिई । उसले श्रीमान् आएको ठानी । मोबाइल हेर्दै भान्सामा गएर चिया पकाई र चिया टी टेबुलमा राखिदिएर च्याटिङमा व्यस्त भई ।

बिस्तारै दुवै ढाड जोडेर विपरीत दिशातिर फर्केर मोबाइल चलाउन व्यस्त भए । बेला–बेला चिया पनि घुट्क्याएकै थिए ।

चिया खाँदाखाँदै प्रवृक नराम्रोसँग असल्जियो । उसलाई खोकी लाग्यो । बिजुताले उसको मुखमा पुर्लुक्क हेरी । सुमनको ठाउँमा प्रवृकलाई देखेर ऊ नराम्रोसँग झस्किई । प्रवृक पनि अक्क न बक्क भयो । उसले ट्वालट्वाल्ती बिजुताको मुखमा हेरिरह्यो । एक्कासी दुवैको मुखबाट फुत्कियो ‘सरी’ ।

प्रवृक दुःखी र लज्जित भएर आफ्नो घरतिर लस्कियो । घरभित्र छिर्ने बित्तिकै फिजा र सुमन टाँसिएर बसेर च्याटिङ गरेको देख्यो । उसलाई के गरौँ के गरौँ भयो । उनीहरूको अगाडि पुगेर उसले ख्वाक्क खोक्यो । आफ्नो अगाडि प्रवृकलाई देखेर फिजा र सुमन हडबडाए ।

प्रवृक मुसुक्क हाँस्यो । फिजा र सुमनको बीचमा बसेर उसले भन्यो । यो हाम्रो गल्ती होइन । यो साइबर एडिक्सनको कमाल हो । ‘सरी’ भन्दै शिर निहुराउँदै सुमन आप्mनो घरतिर लाग्यो ।

 

सिद्धार्थलाई प्रश्न

 

 सिद्धार्थलाई मध्यरातमा दरबारबाट सुटुक्क बाहिर लगेर जंगलमा पुरयाएका सारथि छन्दक वृद्ध भइसकेका थिए भने सिद्धार्थ बुद्ध भइसकेका थिए ।

छन्दकले सिद्धार्थलाई बच्चैदेखि नजिकबाट चिनेका थिए र अहिले पनि सँगै थिए तर उनको मनमा एउटा प्रश्नले निरन्तर पिरोलिरहन्थ्यो । ‘यत्रो राजपाठ, धनसम्पत्ति त्यागेका सिद्धार्थले किन मागेर खान्छन् !’

छन्दकले धेरै पटक सिद्धार्थसँग यो प्रश्न सोध्ने प्रयास गरे तर उनको प्रयास सफल हुन सकेका थिएनन् ।

एक दिन बुद्ध आफैंले छन्दकको अनुहारको भाव बुझेर भने, “तपाईंको अनुहारमा धेरै दिनदेखि कुनै जिज्ञासा उठिरहेको देख्छु । के छ भन्नुस् । म सकेसम्म तपाईं जिज्ञासा शान्त पार्ने प्रयास गर्छु ।”

“हो भन्ते, मेरो मनमा धेरै दिनदेखि एउटा प्रश्न उठिरहेको छ । तर संकोचवश सोध्न सकिरहेको छैन,” छन्दकले हात जोड्दै भने ।  

“तपाईंलाई जे सोध्नु छ निर्धक्क सोधे हुन्छ,” बुद्धले मुसुक्क मुस्कुराउँदै भने । 

“तपाईं महान् व्यक्ति हुनुहुन्छ । तपाईंले सम्पूर्ण राजपाट, धन दौलत, सुन्दर श्रीमती भर्खर जन्मेको छोरो सबै त्यागेर सादा जीवन अपनाउनु भयो ! ” बोल्दाबोल्दै उनी बोल्न सकेनन् । 

“किन संकोच मान्नु भयो । खुलस्त भन्नुस् न,” बुद्धले आग्रह गरे ।

छन्दकले सकेसम्म विनम्र हुँदै भने, “तपाईंले तपस्या गर्नुभयो र बोधिसत्व प्राप्त गर्नुभयो । महामानव बन्नुभयो । संसारलाई ज्योति छर्नुभयो  तर...!”

फेरि पनि छन्दक रोकियो । बुद्धले आग्रहपूर्वक भने, “छन्दक तपाईं सञ्चै त हुनुहुन्छ । किन मलाई अलमल्याउँदै हुनुहुन्छ । मनको कुरा भनिहाल्नुस् न । यसरी दुविधामा पर्नु राम्रो हैन ।” 

छन्दकले सकेसम्म विनम्र हुँदै भने, “तपाईजस्तो महान् व्यक्तिले भिक्षा मागेर जीवनयापन गर्नुभन्दा पसीना बगाएर बाँच्न सिकाउनु भएको भए दुनियाँले पनि त्यस्तै गर्थे होलान् । तपाईंका अनुयायीहरू सबै जना भिक्षु भए र अरूको श्रममा बाँच्न थाले भने कसरी संसार चल्ला !”

छन्दकको प्रश्न सुनेर बुद्ध मुसुक्क हाँसे र भने, “भन्नुस् त छन्दक के म सबै त्याग –तपस्या मागेरै खानको लागि गरेको होला ! भोग विलास गर्न चाहेको भए मसँग के को कमी थियो र !”

छन्दक बोल्न सकेनन् । ट्वाल्ल परेर सिद्धार्थलाई हेरी मात्र रहे । 

“हो छन्दक मलाई पनि बाँकी जीवन ध्यान गरेर बिताउँ भन्ने लाग्छ । तर त्यसो गर्दा मैले प्राप्त गरेको ज्ञानको कुनै उपयोग हुने भएन । यसैले मैले आफूले पाएको ज्ञान संसारका मानिसहरूसँग बाँड्ने अठोट गरेँ । तर यो कामको लागि गृहस्थ जीवन त्याग्नु आवश्यक छ । यसैले मैले दाताहरूले दिएको अन्न र वस्त्रबाट जीवन गुजार्नु परेको हो ।” बुद्धले भने ।

नतमस्तक भएर सुनिरहेका छन्दकलाई बुद्धले फेरि भने, “छन्दक एउटा कुरामा भ्रम नपाल्नुस् । म जोगी होइन भिक्षु हुँ । जोगीले मागेर खान्छ, भिक्षुले दिएको मात्र खान्छ । म मागेको खान्नँ, दिएको मात्र खान्छु ।” 

बोल्दाबोल्दै सिद्धार्थको अनुहार उज्यालो भयो ।  

 

 

 

थाहाको विडम्बना

 

रूपचन्द्र विष्ट भित्तामा मात्र हैन ढुङ्गा र रूखमा पनि थाहा लेख्दै हिँड्थे । मानिसले सबै कुरा थाहा पाउनु पर्छ भन्ने उनको विचार, सिद्धान्त र उद्देश्य पनि थियो । थाहा पाएपछि मात्रै मानिसले आप्mनो हित गर्न सक्छ भन्ने उनको दृढ विश्वास थियो । थाहाको सिद्धान्त र व्यवहारलाई लागू गर्न गराउनका लागि उनले पूरै जीवन बिताए ।  

उनका शिक्षाको प्रचार तथा परिपालन गर्न र उनको सम्झनालाई दिगो बनाउन उनको जन्मस्थान र कर्मभूमि रहेको नगरपालिकाले एउटा अनौठो अठोट ग¥यो । उनको सिद्धान्त र शिक्षालाई नगरपालिकाले आप्mनो नाम बनाउने निर्णय ग¥यो । नगरपालिकाको नाम थाहा नगरपालिका भयो ।  

मानिसहरू लामो शब्द र वाक्यलाई छोटो बनाउन चाहन्छन् । काठमाडौँ जिल्लालाई काजि, पाल्पा जिल्लालाई पाजि लेख्छन् । अहिले आएर नगरपालिकालाई नपा र गाउँपालिकालाई गापा लेख्न थालेका छन् । फलस्वरूप थाहाको आन्दोलन चलाउने नेताको सिद्धान्तको नाममा राखिएको थाहा नगरपालिका अहिले थाहा नपा भएको छ ।  

 

 

  इन्काउन्टर

 

‘श्यामबहादुर भएनन् भने त ! जनयुद्धले हावा खान्छ । हामी मरेर भए पनि उनलाई बचाउनै पर्छ !’ नवीनले सधैँ यस्तै सोच्थे ।  

दशवर्षे जनयुद्ध कालमा श्यामबहादुर र नवीन मिल्ने कमरेड थिए । श्यामबहादुर स्थायी समिति सदस्य थिए भने नवीन जिल्ला इन्चार्ज । नवीनका आदर्श नेता श्यामबहादुर थिए । सेनाले पनि सबभन्दा खतरनाक श्यामबहादुरलाई नै ठानेको थियो ।  

सेनाले श्यामबहादुरको सेल्टरलाई घेरा हालेर गिरफ्तार गरेर इन्काउन्टर गर्ने योजना बनाएको सुइँको नवीनले थाहा पायो । सेनाले पुरै गाउँ घेरा हालिसकेको थियो । यसैले श्यामबहादुरलाई भगाउन सम्भव थिएन । नवीनले श्यामबहादुरलाई बचाउने योजना बनाए । अचानक पल्लो गाउँमा बम विस्फोट भयो । सेना विस्फोट भएको ठाउँमा गयो । त्यही मौका छोपेर श्यामबहादुर पलायन भए ।  

आफ्नो ज्यानको बाजी राखेर धेरै पटक नवीनले श्यामबहादुरलाई इन्काउन्टर हुनबाट बचाए । यसरी आफ्नो आदर्श नेतालाई बचाउन सफल भएकोमा नवीनको छाती गर्वले फुल्थ्यो ।  

भेटैपिच्छे श्यामबहादुरले दह्रो हात मिलाएर भन्थे, “मेरो जीवन रक्षाको लागि तपाईंले निर्वाह गर्नुभएको भूमिकालाई सलाम ।” श्यामबहादुरका कुरा सुनेर नवीन पनि मख्ख पर्थे ।

दश वर्षपछि श्यामबहादुरले जनयुद्ध बिसायो र सत्तामा पुग्यो । उता नवीनहरू जनताको माग पूरा भएको छैन भनेर क्रान्तिमै लागिरहे । एउटै सिद्धान्त लिएर एउटै मोर्चामा काम गर्नेहरू कोही शासक र कोही विद्रोही बने ।  

सत्तामा पुगेपछि श्यामबहादुरको प्रतिष्ठा घट्दै गयो भने नवीन र उनका साथीहरू जनताको आशा बने ।  

जति नवीनको प्रसिद्धि बढ्दै गयो त्यति श्यामबहादुरको सत्ता ढलमलाउँदै जान थाल्यो । श्यामबहादुर नवीनसँग व्रmुद्ध भयो । उनले नवीनलाई इन्काउन्टर गर्ने योजना बनाए ।  

साता दिन नबित्दै घरमा बसिरहेका नवीन प्रहरीसँगको इन्काउन्टरमा वीभत्स तरिकाले मारिए ।  

श्यामबहादुर हेलिकप्टर चढेर नवीनको लास हेर्न गए । उसले नवीनको लासलाई लामो समयसम्म घोरिएर हेरे र मुसुक्क मुस्कुराएर त्यहाँबाट फर्के ।

 

 

  हराएको चेक

 

“बाबु यो भुइँमा खसेको साबुनको खोल डस्टबिनमा राखिदेऊ त,” धर्मराजले आफ्नो काखमा बसेर टिभीमा कार्टुन हेरिरहेको छ वर्षे नाति सिम्रोनलाई अह्राए ।  

स्रिमोन हजुरबाको काखबाट जुरुक्क उठ्यो र साबुनको खोल टिपेर डस्टबिनमा राखिदियो । त्यसपछि दौडिदै आएर हजुरबाको काखमा थ्याच्च बसेर कार्टुन हेर्न थाल्यो ।  

“स्याबास ! नाति अब सधैँ यसैगरी भुइँमा खसेका फोहोरलाई डस्टबिनमा राखिदिनु है ।” धर्मराजले नातिको गालामा च्वाप्प म्वाइँ खाँदै भने ।  

तीन वर्षको नातिलाई उनले धेरै कुरा सिकाउन खोज्थे । कुन सामान कहाँ राख्ने भन्ने सिकाउने क्रममा उनले नातिलाई फोहोर राख्ने भाँडामा भुइँमा झरेका कागत राख्न सिकाउँदै थिए ।  

धर्मराज विज्ञानका प्राध्यापक थिए । उनी बेलायतको अक्सफोर्ड विद्यालय जाँदै थिए । कार्यालयबाट उनले एक लाख रुपैयाँ पेश्की लिएका थिए । उनी चेक साट्न बैँक जान लागे थिए ।  

चेक र अन्य कागतपत्र टेबुलमाथि राखेर उनी खाना खान गए । खाना खाएर फर्कँदा टेबुलमाथि चेक थिएन । उनले यताउति हेरे । लुगाको सबै खल्तीभित्र हेरे तर चेक भेटिएन । उनी आत्तिए । उनकी पत्नीेले पनि उनलाई चेक खोज्न सघाइन्  तर भेटिएन ।  

नाति टेलिभिजन नजिकै खेलिरहेको थियो । धर्मराजले नातिर्लाइ सोधे, “बाबु, तिमीले चेक देख्यौ कि ?”

“यति सानो केटोलाई चेक भनेको के थाहा !” पत्नीले हाँस्दै भनिन् ।  

“घरमा कोही आएको थियो कि ?”

“खै कोही पनि आएको छैन । कोठामा सिम्रोनबाहेक अरू कोही थिएन ।”  

“उसैलाई फकाउँदै सोध्नुु प¥यो,” धर्मराजले भने ।  

“सिम्रोन तिमीले टेबुलमाथि राखेको चेक देखेनौ ?” धर्मराजले सोधे ।  

सिम्रोनले केही थाहा नपाएभैmँ आकाशतिर हे¥यो । धर्मराजले चेकजस्तै आकारको कागत देखाउँदै सोधे, “बाबु, तिमीले यस्तो कागत देख्यौ ?”

“भुइँमा खसेको कागत भन्नुभएको हो ?” सिम्रौनले उत्साहित हुँदै सोध्यो ।

“हो बाबु यस्तै कागत कहाँ छ ?”

सिम्रौन मुसुक्क हाँस्यो । उसले हजुरबाको औँला समात्यो र सरासर कोठाको कुनामा राखेको डस्टबिनतिर लगेर देखाउँदै भन्यो, “यो कागत भन्नुभएको हो ? यो त भुइँमा पो थियो त !”

डस्टबिनभित्र हराएको चेक देखेर दुवै जना दङ्ग परे र नातिलाई जुरुक्क बोकेर माया गरे । अनि धर्मराजले कोठामा घुमिरहेको पंखा बन्द गरिदिए । 

                                           (लघुकथाकार विजयराज आचार्यको ‘राँगालाई जुत्ता’ लघुकथा संग्रहबाट !) 

प्रकाशित: ४ मंसिर २०७७ ११:०४ बिहीबार

अक्षर