कला

स्मृतिका

कथा

सूर्यप्रसाद लाकोजू 

असारे मास । झरी परिरहेको छ । यसपालि जस्तो झरी पोहोर साल परेको थिएन । यस्तो झरीले पनि मेरो मनको निभाउन सकेन । ज्वालामुखीजस्तै दन्केको आगो निभोस् पनि कसरी ? मनमा खागो बलेर सपना सबै खरानी भए पनि ओठ भने हाँसेको देखाउने गरेको छु । कति सपना देखेको थिएँ ! सुन्दर सपना सजाएकी   थिएँ । अनुहार पनि सोझो थियो । कति मीठा कुरा   गर्थे । मनले खाएको त्यही सोझो मान्छेलाई हृदयभरि सजाएर बाँचेकी छु ।

हाम्रो भेट कलेजमा भयो । ब्याचलर पढ्दै गरेका हामी दुवै एउटै कक्षाका थियौं । अहिले जस्तो त्यो बेला सेमेस्टर प्रणाली लागु भैसकेको थिएन । उसको पढाइ राम्रो थियो । साथीहरूलाई पनि नआएको कुरा सिकाउँथ्यो । आफू जान्नेछु भन्ने घमन्ड उसमा कहिल्यै देखिएन ।  सरल र शान्त स्वभावको थियो विश्वास । नामअनुसारकै सबैले विश्वास गर्ने खालको थियो ऊ । सायद त्यसैले होला ऊप्रति मेरो मनमा सद्भावको बिउ तुसाएको थियो । हुन त विश्वास सबैका प्रिय थिए । तर मेरा लागि विशेष प्रिय थियो ऊ । एक प्रकारले भन्ने हो भने मेरो मनको कतै कुनामा प्रेमको पालुवा पलाइसकेको थियो ।

एक दिनको कुरा हो । ऊ क्यान्टिनमा चिया पिउँदै  थियो । म पनि “एक कप चिया  मलाई पनि   है ।” भन्दै चिया अर्डर गर्दै विश्वास र उनका साथीहरू बसेकै स्थानतिर लागें । कुर्सी दुईओटा खाली नै थियो । उनीहरूकै टेबुल साझा गर्न मन लाग्यो । “ म यहाँ बस्न सक्छु नि?” मैले ऊतिर प्रश्न तेस्र्याएँ । उसले भन्यो, “ बसिसक्नुभएको छ । यो सार्वजनिक ठाउँ हो तैपनि तपाईले सोध्नुभयो, धन्यवाद छ ।” त्यो दिनभन्दा अगाडिसम्म ऊसँग राम्रोसँग बोलेको थिइन । मात्र एउटै कक्षामा पढ्छौं । त्यति हो । राम्रो चिनाजानी थिएन । त्यो बसाइमा हामीले राम्रोसँग कुरा ग¥यौं । त्यही बसाइबाट हामी राम्रो साथी बनेका थियौं ।

कलेजमा आउने जाने क्रममा  हाम्रो भेट बाक्लिंदै गएको थियो । उसले मलाई पढाइमा पनि सहयोग गर्न थाल्यो । हामी दुई जना असल साथी बनिसकेका थियौं । समय आफ्नै गतिमा बढिरहेको  थियो । समयसँगै हाम्रो मित्रता प्रगाढ बन्दै गयो । हामीबीच भावनात्मक सम्बन्ध विकसित हुँदै गयो । एक किसिमले भन्ने हो भने मित्रताभन्दा माथिको सम्बन्ध रहँदै गयो । हामीले मुखले एक अर्कासँग माया गर्छौ भनेका थिएनौ । शब्दमा प्रेम व्यक्तिएको थिएन । तर शब्दले नभनेका कुरा आँखाले भनिसकेका थिए । ओठले बोलिसकेको थियो । मनले स्वीकार स्वीकार गरिसकेको थियो ।

कलेजमा हिउँदे बिदा सुरु हुनै आँटेको थियो । मैले भने, “जाडो बिदामा कतै घुम्न जाउँ न ।” मेरो प्रस्तावलाई उसले तत्कालै स्वीकृति दिएजस्तो गरेन उसले । ऊ ट्वाल्ल परेर मेरो मुखमा हेरिरह्यो ।

  “के ट्वाल्ल परेको ?”

  “होइन त्यसै ।”

“किन स्मृतिकाले भगाएर लैजाला भनेर डराएको?”

“टाढा जाने होइन बिदामा काठमाडौकै कुनै ठाउँ जाऊँ न । हुन्न ?”

   “हुन्छ ।” मेरो सहज उत्तर गयो ।

   “कता जाने?” उनले सोध्यो ।

   “गोदावरी” मैले उत्तर दिएँ ।

भोलिपल्ट हामी दिनभर गोदावरी घुम्न गयौं । त्यहाँको बोटानिकल गार्डेन लगायतका स्थानमा घुम्यौं । रमाइला कुराकानी भए । त्यसपछि पनि बिदाका अन्य समयमा हामी काठमाडौका अन्य थुप्रै ठाउँ  घुमेका थियौं । यसरी घुम्न जाँदा पनि हाम्रो मनमा मायाको आगो जति दन्किए पनि देखाउन भने सकेका थिएनौं । कहिलेकाहीं कोही आएर मलाई उडाएर लग्यो भने भनेर म ठट्टा गर्थें । मेरो ठट्टामा पनि ऊ गम्भीर बन्थ्यो । हामी दुईतीनपल्ट रञ्जना सिनेमा हलमा फिल्म पनि हेर्न गएका थियौं । उसको डेरा पनि उतै थियो । यसरी हामी घुम्न जाँदा, सिनेमा हेर्न जाँदा पनि उनले उसको घर, परिवार, ठेगाना बताएन । म पूर्वको मान्छे भन्थ्यो ऊ । मैले पनि कहिल्यै परिवारको बारेमा चासो राखिन । कहिल्यै सोध्न मन पनि लागेन । मलाई त विश्वाससँग मतलब थियो । यति थाहा थियो विश्वास परिवारमा एक्लो छोरो हो ।

हाम्रो मायाको दूबो फैलिंदै गएको थियो । कहिलेकाहीँ चिच्याएर आई लभ यू विश्वास भन्न मन लाग्थ्यो । तर भित्रभित्रै भुसको आगोजस्तै सल्किएको मायालाई दुवैले व्यवहारमा गरे पनि शब्दमा भनेका थिएनौं । “अब शब्दको सीमा पनि भत्काउनुपर्छ ।” मनले यस्तै भन्थ्यो । तर म महिला थिएँ । ऊ पुरुष थियो । त्यसैले उसैले पहिला शब्दमा प्रेम व्यक्त गरोस् भन्ने चाहना थियो मेरो । म महिला भएका कारण आफैले पहिला भन्न लाज लाग्थ्यो मलाई । अप्ठ्यारो लाग्थ्यो पहिला भन्न ।

समयलाई कस्ले रोक्न सक्छ ? आजभोलि भन्दाभन्दै तेस्रो अन्तिम परीक्षा आइसकेको थियो । त्यो बेला स्नातक तहको पढाइ तीन वर्षको हुन्थ्यो । “परीक्षापछि त कलेज पनि जान नपर्ने भयो । केही त गर्नै प¥यो । गाउँको केटो । सोझो छ । उसलाई पनि भन्न कठिन भयो  होला । म आफै अघि सर्नुपर्ने भयो ।” मनमा खेलेको कुराले विश्राम लिन मानेको होइन ।

“परीक्षाको तयारी कस्तो छ तिम्रो ? राम्रो गर्नुपर्छ है दुवैले ।” परीक्षा नजिकिंदै गर्दा उसले भेटैपिच्छे मलाई भन्ने कुरा त्यही थियो । कहिले “ तिमीले कति पढ्यौ ?” भन्थे । परीक्षाताका उसको ध्यान पूरै पढाइमा केन्द्रित रहन्थ्यो । यस्तो बेलामा आफ्नो मनको कुरा खोल्दा अन्तिम परीक्षामा असर पर्ला भन्ने डर पनि थियो मनमा । त्यसैले आफ्ना मनका पोकापुन्तुरा परीक्षा सकिएपछि मात्रै खोल्ने निधोमा पुगें म ।

परीक्षा सकिएको दिन विश्वास प्रसन्न मुद्रामा थियो । मैले परीक्षा कस्तो भयो भनेर सोधें । “तिमीजस्ती साथी पाएको छु । मेरो परीक्षा नराम्रो हुने कुरै भएन । सूर्य उदाइरहँदा अन्धकार हुने त कुरै भएन । सोचेभन्दा राम्रो भएको छ ।” विश्वासले जवाफ फर्कायो । उसको जवाफबाट मेरो मन प्रसन्न थियो । हामीले क्यान्टिनमा चिया पियौं । ऊ सहजै देखिन्थ्यो । मैले कतै जाने हो कि भन्ने प्रस्ताव गरें । उसले परीक्षा बल्ल सकिएको छ, थकित छौं । पछि जाउँला भन्यो । मलाई पनि हो जस्तो लाग्यो  तर पनि आज केही त भन्नेपर्छ भन्ने मैले ठानेकी थिएँ । हामी छुट्टिने बेलामा “मेरो केही भन्नु छ तिमीलाई विश्वास ।”

मैले अझ थपें, “ तिमीसँग धेरै कुरा गर्नु छ, दुखसुख र सुनौलो भविष्यका बारेमा बात मार्नु छ ।” मेरो कुरा सुन्दै “हुन्छ । पछि गरौंला नि ।” भन्ने जवाफ दिंदै उसले मेरो हातमा एउटा चिठी ठम्याइदियो । हामी आआफ्नो घरतर्फ लाग्यौं । पत्र हातैमा बोकेर घर फर्कें । घर पुगेपछि हातमुख धुने धैर्य पनि थिएन मसँग । आफ्नो कोठामा गएर हत्तपत्त विश्वासको चिठी पढ्न पल्टाएको मात्र के थिएँ आमाले ढोका ढकढक्याउन थाल्नुभयो । “किन आमा?”

“ढोका खोल । तँलाई खाजा खानु पनि पर्दैन?”

“एकछिनमा खान्छु म ।”

“ढोका त खोल ।”

हामीआमा छोरीको एकैछिन यस्तै प्रश्नोत्तर चलिरह्यो । मैले ढोका खोल्नै प¥यो । हत्तपत्त चिठी लुकाएँ डसनामुनि । अनि ढोका खोलें । आमा खाजा पर्खिरहनुभएको रहेछ, सँगै खायौं । चढ्दो उमेरका कारण आमालाई घरको काम गर्न पनि कठिन हुँदै थियो । खाजा खाएर भाँडाहरू माझें । भान्छामा केही समय आमालाई सहयोग गरेर छिटोछिटो कोठामा पुग्दा साँझ परिसकेको थियो । कोठामा पुगेर डसना मुनिबाट चिठी निकालें । चिठी पढ्न थालेपछि मेरो सास रोकिएलाजस्तो भयो । अचानक रूखको टुप्पोबाट भुईमा झरेजस्तै भयो । आँखा बन्द भए । मनमा पीडाको आँधी पस्यो । नबोलाईकन आएको दुखको बाढीले सबै खुशी बगाएर लग्यो । म शून्यमा हराएको जस्तो भएँ । उनले आफ्नो चिठीमा लेखेका थिएः  

प्यारी समृतिका,

आँखाभरिको सम्झना अनि हृदयभरिको माया ।

म उच्च शिक्षा हासिल गर्न पूर्वबाट राजधानी झरेको मान्छे । यहाँ आएर मैले थुपै्र कुरा प्राप्त गरें । राजधानीले मलाई धेरै कुरा दिएको छ । यहाँ आएर तिमी जस्तो मनको मीत पाएँ । अरू धेरै मेरो भागमा परेपनि  मेरो जिन्दगीको महत्वपूर्ण पाटो तिम्रो पवित्र माया भने सायद मेरो भाग्यमा लेखेको रहेनछ । भौतिक रूपमा मैले तिमीलाई स्वीकार्न सकिन  । तिम्रो र मेरो अव्यक्त तर सागरजस्तै गहिरो प्रेममा अमूल्य मोतिका दाना पनि देख्न पाइन । मलाई थाहा छ तिम्रो मप्रतिको प्रेम गंगाजस्तै निर्मल छ । हिमालजस्तै अटल छ ।  

तिम्रो निर्दोष अनि हेरिरहूँजस्तो लाग्ने अनुहारमा म कहिले भुलें, थाहा छैन । कसरी तिम्रो मायाको आकासमा म हराएँ त्यो पनि थाहा भएन ।  तर, तिम्रो चोखो मायाको बदलामा मैले तिमीलाई गमराहमा राख्नु पनि भएन । तिमीजस्तो मान्छेलाई म कसरी धोकामा राख्नसक्छु ? हुन त मेरो वास्तविकता तिमीलाई भन्नैपर्छ भन्ने लागेर धेरैपल्ट भन्ने प्रयास नगरेको पनि होइन । तर किन ? किन ? तिम्रो चन्द्रमाको जस्तो अनुहारको अगाडि परेपछि मेरो मुखबाट शब्द 

बाहिरिन्न ।

म राजधानीभन्दा टाढा गाउँको मान्छे । हाम्रो घरमा आमा प्रायः बिरामी पर्नुहुन्थ्यो । घरधन्दा गर्न, वस्तुचौपायाको काम गर्न उहाँले सक्नुभएन । म एक्लो छोरा । बुबाले एसएलसी सकिएपछि नै मेरो विवाह गरिदिनुभयो । घर, परिवार, वस्तुचौपायाको भताभुङ्ग अवस्था देखेर विवाह गर्दिन भन्न सकिन । प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्दासम्म त एउटी छोरी पनि जन्मिई । जिल्लातिर स्नातक पढ्ने कलेज नभएका कारण म स्नातक पढ्न यता राजधानी आएँ ।

कलेजमा आएपछि तिमीसँग देखभेट भयो । हाम्रो परिचय क्रमशः पे्रममा बदलियो । प्रेम गर्छु भनेर गरेको होइन । माया त हुने रहेछ । पे्रमको वास्तविक अनुभूति पनि यतै आएर तिमीसित माया बसेपछि मात्र गरेको हुँ तर म विवाहित थिएँ । एक मनले भन्थ्यो, “यतै कुनै जागिर खाएर बस्ने । तिमीसँग जीवन बिताउने । गाउँ नजाने ।” तर गाउँमा बूढी आमा, बूढा बा हुनुहुन्छ । जस्तो परिस्थितिमा विहे गरेको भएपनि उता गाउँमा सीता छे । छोरी छिन् । सीताले नै मेरो घर धानेकी छिन् । मेरो सिङ्गो परिवार मलाई पर्खेर बसेको छ । यदि यतै घरजम गरें भने उनीहरूमाथि अन्याय होलाकी भन्ने डरले मलाई खाएरह्यो । फेरि तिमीले ममाथि गरेको निस्वार्थ मायाको बदला यी सबै कुरा लुकाएर धोका दिनुपनि महापाप सम्झें मैले । तिमीलाई छल गरेर पापको भारी कसरी बोक्न सक्छु म?

त्यसैले मैले यो अलकापुरीमा प्राप्त गरेको आत्मीय साथीसँगै अलौकिक सुख पनि छोडेर जाँदैछु । मैले आफ्नो मायाको बलिदान दिएर परिवारको खुसी रोजें । भोतिक रूपमा छोडेर गए पनि मनभरि तिमी मखमली बनेर फुलिरहने छौ ।

म आजकै नाइट बसबाट घर फर्कंदैछु । यही शहरमा तिमीबाट टाढिएर बस्ने हिम्मत छैन मसँग । सकिन्छ भने हाम्रो अव्यक्त प्रेम एउटा सपना सम्झेर भुल्ने प्रयास गर्नु, मलाई क्षमा गर्नु ।

उही तिम्रो  

विश्वास

ऊ रात्रिबसबाट घर फर्कने कुरा थियो । “एकपटक मात्र भए पनि मुख हेर्न पाए......।” मन घरीघरी यही भन्दै थियो । एक मनले उसलाई खोज्न जाउ जस्तो लाग्यो  तर मसँग उसको ठेगाना थिएन । केही गरेर ठेगाना भेट्टाई हालें भने पनि उसको सुन्दर संसारमा विष घोल्न चाहनालाई मैले मारिसकेकी थिएँ । विश्वासलाई मैले दिलैदेखि प्रेम गरेकी थिएँ । आफ्नो स्वार्थका लागि उसको परिवार बिगार्न कसरी सक्छु म?

आज मेरो कपाल हिउँजस्तै फुलिसके । जिन्दगीमा उसलाई बाहेक कसैलाई प्रेम गर्न सकिन । आज पनि उसैलाई मनको मन्दिरमा सजाएर बसेकी छु । बाहिर झरी थामिएजस्तो छ । तर वर्षौदेखिको मेरो  मनमा परिरहेको झरी कहिले र कसरी थामिएला ?

प्रकाशित: ४ मंसिर २०७७ १०:३५ बिहीबार

अक्षर