कला

जीवन नायिका

कविता

दिङ्लाली कान्छो 

 

मैले पहिलोपल्ट आँखा खोल्दा  

पहिलो अनुहार उनैको थियो

त्यो बेला मलाई लाग्थ्यो –

संसार देखाउने, चिनाउने

मायाममता बाँड्ने

दुखसुख बुझाउने  

तिनै बोझिला हातहरू  

जब मेरो स्पर्शमा आउँथे  

मलाई कुनै डर वा भय हुँदैन

 

बिस्तारै जब म हिँड्डुल गर्न थालें  

आफूलाई असुरक्षित पाउथें  

अनि म उनीसंग अंकमालमा हुन्थें  

फेरि म सुरक्षित महसुस गर्दथें  

अर्थात्  

मेरो सुरक्षा कवच हुन्थिन उनी 

 

समयको निरन्तरतामा  

आज म संसार बुझ्ने र बुझाउने भएको छु  

मलाई डर कुनै कुराको लाग्दैन  

भय के हो मलाई थाहा छैन  

तथापि म आफूलाई असुरक्षित पाउँछु  

किनकि

मलाई अन्धकारमा दृष्टि दिने  

अभावमा सृष्टि बुझाउने  

मैले देखेका सपनाहरू अर्थ लगाइदिने

उनै मेरो बाल्यकालको सुरक्षा कवच  

मबाट टाढा गइसकिन्

कहिल्यै नभेट्ने गरी

तसर्थ,

आजकाल मलाई डरले  नसताए पनि  

कताकता असुरक्षित पाउँछु  

तिर्सनाले सताउंदा

म आफैसंग डराउँछु

फगत मातृवात्सल्यको अभावमा  

अनि म फेरि डराउँछु

वर्षौंदेखि शब्दकोषबाट  

मेरा लागि ‘आमा’ शब्द हराएकोमा

मेरो मुखबाट आमा हराएकोमा ।

श्रद्धाञ्जली उनै आमाप्रति 

प्रकाशित: ४ मंसिर २०७७ ०९:३९ बिहीबार

अक्षर