कला

आकाशवाणी

लघुकथा

राजेन्द्र शर्मा 

 

 छोरा जमाना कोरोनाकालको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले पनि महामारी घोषणा गरेको छ  । तिमी आफ्नो राम्रो ख्याल गर्नु । घर बाहिर जान बन्द गर है । घरबाहिर जानु परे मास्क, सेनिटाइजर र साबुनपानीको प्रयोग गर्नु । साथै सरकारले हाम्रै लागि गरेको बन्दाबन्दीको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो, बुझ्यौं ।

ह्या डेडीमम्मी हजुरहरू पनि कति डराउनुहुन्छ । म हजुरहरू जस्तो बूढो, रोगी होइन के । म हृष्टपुष्ट युवक हुँ। कोरोनाले मलाई केही हुन्न । हजुरहरू आफ्नो ख्याल गर्नु । यी ज्ञानगुनका कुरा हजुरहरूसँगै राख्नुहोस् । म त हिँडे साथीहरू कहाँ ।

त्यसदिन यत्ति कुरो मात्रै भएको थियो । त्यसको पाँच दिनपछि त उसलाई कोरोना लागि गो । उसको अवस्था नाजुक हुँदै गयो । आइसियूबाट भेन्टिलेटरमा सारियो तर पनि अहँ, टसको मस भएन । अन्ततः भगवानको प्यारो भयो । त्यसको अन्तिम संस्कार पनि विधिविधानले नहुने भयो भन्दै आमा रुँदै अन्तिम संस्कारका लागि आएका व्यक्तिका अगाडि आफ्नो छाती पिट्दै बिलौना गर्दै थिइन् ।

किरिङ  साइरनको आवाजसँगै प्रहरीको स्कर्टिङमा सेनाको गाडी आयो । अन्तिम संस्कारका लागि उपस्थित व्यक्तिहरू सतर्क भए । केही समयपछि व्यक्तिगत सुरक्षा उपकरण पिपिईसहित केही व्यक्ति गाडीबाट झरेँ । गाडीको पछाडि राखिएको सेतो पोलेथिनले बेरेको लास निकालेर न कुनै कर्म न कुनै संस्कार उसको अन्त्येष्टि शुरू गरियो ।

एकाएक लासमाथि मडारिदैं गरेको कालो धुवाँले कोरोना विषाणुको रूप लियो ।  उक्त सन्नाटामा खित्का छोडेर हाँसोसँगै बोलेको आवाज सुनियो – यो यसको लापर्बाहीको परिणाम हो । घरभित्र बस भनेको सुनेन । साबुनपानीले हात मिचीमिची धोऊ भनेको धोएन । खै मास्क, खै सेनिटाइजर केही प्रयोग गरेन । मसँग जिस्किने । भोग परिणाम । हाहा  अब तिमेरुको पालो ।

यो आकाशवाणी सर्वत्र फैलियो तर आमाहरू रुने क्रम भने रोकिएन ।

प्रकाशित: ४ मंसिर २०७७ ०८:१० बिहीबार

अक्षर