कला

चाउरी र ‘म’हरू

कथा

खेमराज पोखरेल

 

थाकेर झकाएँछु ।  

भन्दै रहेँछु – आज म तँलाई चाउरीको कथा सुनाउँछु । त्यो मेरी÷तेरी रोगी आमाको कथा पनि हुनसक्छ । म तँलाई नै किन सुनाउँछु भने, किनकि तँ मेरो विम्ब होस् । वा तेरो म विम्ब हुँ । ‘म’ भन्नु ‘तँ’ भन्नु समान हो । एउटै कुरा हो । यो कुरा हिजो मात्र थाहा पाएँ । किनभने मैले हिजो ‘म्ह’ पूजा गरेको छु । आफूलाई आफैँले पूजा गरेको छु । हामी एक भए पनि दुई भूमिकामा छौं । त्यहाँ तैँले दुई अस्तित्व देख्छस् । एक पुजिने ‘म’ र अर्को पूज्ने ‘म’ । त्यसकारण म तँलाई नै रोगी आमाको कथा सुुनाउँछु । आमाको चाउरीको कथा सुनाउँछु । कथा होइन व्यथा सुनाउँछु । अरूसँग मेरी आमाको व्यथा सुन्ने फुर्सद कहाँ हुनु र ! तर तँ छोरो होस् । तैँले त सुन्नै पर्छ । 

म कथा भन्दैछु –

कथा सुन्नुभन्दा पहिले तँ कुरा बुझ् कि हाम्रा वरिपरि कथा सुनेर बसेका लाखौँ मैमत्ता ‘म’हरू पनि छन् । अनावश्यक उकासिएका ‘ऊ’हरू पनि छन् । त्यसैले म भन्दैछु – हे असंख्य ‘म’हरू ! ‘ऊ’हरू तपाईँहरूकी आमा हुनुहुन्छ भने एकपल्ट यो कथा पक्का सुन्नु । जति बिजी भए पनि १५ मिनेट त हो । कथा सुन्न बस्नुभन्दा पहिले आफ्नी आमाको चाउरी पर्दै गरेको अनुहारको फोटोलाई गौर गरेर हेर्नुस् । बुवा हुनुहुन्छ भने बुवाको फोटोलाई हेरे पनि हुन्छ । वा हजुरबा हजुरआमा हुनुहुन्छ भने पनि हुन्छ । कोही पनि हुनुहुन्न भने कुनै जेष्ठ वृद्ध वा वृद्धाको फोटोलाई हेरे पनि हुन्छ । त्यो पनि अनुकूल छैन भने २० वर्ष अन्तरका आफ्नै फोटालाई जोडेर गौर गरेर हेर्दा पनि हुन्छ ।

हे ‘तँ’ नामको ‘म’ अब कथा सुन् है त –

मेरी आमाको प्रारम्भिक युगमा फोटो खिच्ने चलन, फेसन र सुबिधा थिएन । त्यसैले आमाका बालखकालका तथा ‘टिनएज’का फोटाहरू खिचिएका छैनन् । धेरै सन्तान पाइसकेपछि परिपक्व  यौवनावस्थामा पनि चेत नभएका कारणले फोटाहरू खिचेर राखिएका छैनन् । तर जिन्दगीको पछिल्लो उत्तराद्र्ध सुरु हुने अवस्थामा खिचिएका फोटा छन् । यतिबेला म आमाका त्यो वयस्कावस्थामा खिचिएको र हाल खिचिएको दुई फोटालाई राखेर गमिरहेको छु । ती फोटाहरूले एउटा युग बताइरहेका छन् । इतिहास बताइरहेका छन् । जीवन बताइरहेका छन् । जिन्दगी बताइरहेका छन् । हुन त मलाई ती फोटाको के काम ! आमाका सबालमा त्यो फोटोभन्दा धेरै पहिले पुग्छु । आमाका यात्राहरू सललल मेरा दिमागमा आइदिन्छन् । फोटो त एउटा तँलाई र ‘म’हरूलाई देखाउने प्रमाण मात्र हो ।

मेरी आमा ८० वर्षको छेउछाउमा हुनुहुन्छ । सय वर्ष कटेका कैयौं मान्छेहरू ठमठम हिँडिरहेको मैले देखेको छु । यो अवस्थामा ८० वर्षको छेउछाउको मेरी आमाको उमेर भनेको एकदम धेरै होइन । तर म अहिलेको आमाको फोटोलाई गौर गरेर हेर्दैछु  । त्यो फोटोमा मेरी आमा निकै बुढिनु भएको देखिनुभएको छ । आमा मेरै अगाडि हुनुहुन्छ । म उहाँलाई नै हेरिरहेको छु । अचेल आमाका घुँडाका पाइन सकिएर ती टेक्दा थेग्न मान्दैनन् । तिनले थेग्न नमानेपछि जाहिर छ या त ह्वील चेयर, या त घिस्रनु या त लौरोको सहायताले बिस्तारै पाइला चाल्नुपर्ने बाध्यता छ । घुँडाको हड्डी खिइएको छ । पानी सुकेको छ । नसा सोहोरिएका छन् । मासु डल्लिएका छन् । यस्तैयस्तै । उपचार गराउने पैसा छ, तर उपचार छैन । डाक्टरले पेनकिलर वा वैद्यले दर्दनिवारक तेल दिएर पन्छिएका छन् । पैसा लिएका छन् र हद बोलेका छन् ।

आमाको अनुहारमा कोरिएका धर्साहरूले घिरौँलाको जालोलाई मात गर्छन् ।  माकुराको जालोभन्दा मिहीन छन् ती । गोरो अनुहारमा कोरिएका ती कर्याङमर्याङ मिहीन रेखाहरू जब्बरतातिर उन्मुख छन् । तिनले त्यो अनुहारलाई विरूप बनाइदिएका छन् । रोग प्रतिरोधात्मक शक्ति यति कमजोर छ कि ज्वरोले सधैँ मित लाएको छ । रुघा त पाल्तु नै भएको छ । ब्लडप्रेसर, थाइराइड, डायबिटिज लगायतका बेथा त सामान्य नै भइहाले । गानो, गोला, रुचि, अरुचि, त्यसभित्रका सहायक भइहाले । आँखा, कान, दाँत, कपाल, छाला, चेत, संस्मरण आदिले धर्म निर्वाह गर्न असजिलो मान्दैछन् । १० सन्तान जन्माउँदा पनि नगुदानेको शारीरिक बल अहिले परिवेशीय अवस्थाले ल्याएको त्यो शारीरिक दुर्बलता बनेर रौसिएर देखा परेका छन् ।

त्यसै गरी अघिल्लो फोटोलाई पनि गौर गरेर हेरेको छु । फोटोभन्दा धेरै अघि पुगेको छु । म जेठो हुँ नि त । आमाले मलाई १४ वर्षमा जन्माउनु भएको हो नि त । ती घुँडाका पाइन मैले आमालाई चिनेर संस्मरण गर्दा वा त्यो बेला यति कडा, यति जब्बर, यति गतिला र बलवान् थिए कि घर र जङ्गल दुवै भ्याउँथे । भात भान्सा र खेतबारी सबै छिमल्थे । आफन्तदरदियाद पर्गेल्थे । ती घुँडाले शरीर मात्र बोक्थेन, शरीरभित्र सन्तान बोक्थे । त्यो दोजिया शरीरमाथि भारी पनि बोक्थे । भारीमाथि फेरि सन्तान पनि बोक्थे । ती साँच्चि जब्बर बलिया थिए । बाह्र हानेर तेह्र छिन्थे । अनुहार हिफाजतको थिएन तर पोटिला र सुन्दर थिए । दाँत अनारदाने थिए । आँखाले परपरसम्म हेर्थे । कानले बतासको चाल थाहा पाउँथे । कपाल कम्मरसम्म लरक्क थियो । चेत भन्नुहुन्छ भने इन्साइक्लोपेडिया थिए । रोग पस्ने कुनै द्वार नै थिएनन् । यस्ता थिए मेरा आमाको अघिल्लो फोटो र त्योभन्दा पहिलेको कथा ।

हुन त यो मेरी आमाको मात्र कथा होइन, असंख्य ‘म’हरूका आमाहरूको साझा कथा हो । गरिखानुपर्ने श्रमजीवी परिवारका आमाहरूको नियति हो । यो बुँदामा आइपुग्दा म एकदम दिग्दारिएको छु । एकछिन यो संसारको दिग्दार व्यस्तताबाट बाहिर निस्कन प्रयत्नरत छु । भनूँ निस्कन चाहन्छु । आँगनको पल्लापट्टिको करेसाबारी र त्योभन्दा पनि पर अवस्थित एउटा सानो फूलबारीमा पुगेको छु । त्यो पूmलबारीमा एकाग्र भएको छु । फूलबारीमा सानो संसार छ । कुनै सक्कली तान्त्रिकले मोहनी लाइदिएझैँ एउटा राम्रो फुलेको बुटामा घोरिएको छु । तर मेरो सैतानी दिमाग भने यता र उता कुदिरहेको छ । म भने दिमागलाई ज्ञान तथा विवेकका यन्त्रले नियन्त्रण गर्न खोज्दैछु । नाथ्न र खैँचन खोज्दैछु  र फेरि त्यही फूलको बुटामा समाहित भएको छु । त्यसैमा केन्द्रीकृत भइरहेको छु ।

त्यो फूलको बुटाको टुप्पामा फूलहरू फुलिरहेका थिए । फूलमा भमरा झुत्ती खेलिरहेथे । त्यसको ठिक मुन्तिर कोपिला थिए । मुना पात थिए । वयस्क पात थिए। कम हरिया र धेरै पहेँला पात थिए । पूरै पहँेला पात थिए । पहेँला पात झरेर त्यही बुटाको किनारमा लडेका थिए । किनारमा लडेका पात सनैसनै कुहुँदै थिए । डाँठ पनि त्यस्तै थिए । कोही कलिला थिए । कोही छिप्पिएका थिए । कोही भाँचिएका थिए । कोही भाँचिन उन्मुख थिए । जोजो जेजे थिए, ती एउटै बुटामा थिए । एउटै बुटामा एउटा भव्य संसार अटाइएको थियो ।

यो देखेर म झन् भावविह्वल भएको छु । हुन त यति कुरा मैले सधैँ देखेको, बुझेको, पढेको नै हो । तर आज त्यो बुटामा जीवन देखेको छु । पलाउनु, छिप्पिनु, झर्नु र नासिनु नै सारा जीवन लुकेको देख्दैछु । यही चिन्तन बोकेर घर फर्किएको छु । त्यो चिन्तनले गर्मी भएको छ, उफ संसार ! दिल बहलाउन एउटा कुनै एउटा सदाबहार आधुनिक नेपाली कथा पढ्दैछु ।

लौ अब तँ पनि सुन् । ‘म’हरू पनि सुन्दै हुनुहुन्छ होला । ‘ऊ’हरू पनि सुन्नुुस् है –

“एकादेशमा एउटा मान्छे थियो । आँगनमा उसको ८ महिनाको छोरो खेल्दै थियो । उभिएर एकटकले हेरिरह्यो । छोरो निष्कपट हाँसिरहेको थियो । छोराको अनुहार हेरेर मुस्कुरायो । छोराको निधारभरि भगवान् कुदेझैँ लाग्यो । छोराको निष्कपट हँसाइमा सारा संसारको रोमाञ्चकता देख्यो ।  छोरालाई सुम्सुम्यायो र म्वाइँ खायो र गम्यो – यो छोरा असाध्य ठूलो मान्छे बन्ने छ । यो हाम्रो कुल खान्दानकै लहरे पीपल बन्ने छ र चराचर जगतलाई शितलता दिनेछ । हामी त्यो छहारीमा आफ्नो बुढ्यौली मजाले बिताउने छौँ ।”

तँ नआत्तिई है, कथा सकिएको छैन । म पाना पल्टाइरहेको छु । कथा यसरी अघि बढ्छ –

“उसकी ३ वर्षकी छोरी छिन् । ऊ छोरीको अुनहार हेरेर गम्छ – यो छोरीलाई म डाक्टर बनाउँछु र धनी परिवारमा बिहे गरिदिन्छु ।”  

उसकी २५ वर्षकी श्रीमती भान्सामा व्यस्त छिन् । सुन्दर छिन् । ऊ २८ वर्षको छ । वेश्यागामी छ  तर ऊ श्रीमती पतिव्रता छ भन्ने भानमा बाँच्छ । ६० वर्षकी आमा र ६५ वर्षका बुवा छन् । ८७ वर्षकी एकल हजुरआमा छन् । ती वृद्ध छन् । अशक्त छन् । ती गाउँमा बस्छन् । ऊ आमाबाबु तथा हुजरआमासँग झगडा गरेर आफलेर शहर पसेको छ । मरेको बाँचेको खुट पनि लिँदैन । किनभने उसलाई आफू अंशमा ठगिएको महसुस छ । ऊ अब आमाबाबुको बोझ बोक्ने मुडमा छैन । उसको त्यो महसुसमा उसकी श्रीमतीले मलजल गरेकी छिन् । अन्तिममा कथाकार कथाको भेद खोल्छन् र भन्छन् – जो अगुवा उही बाटो हगुवा । किनभने ऊ ‘जेष्ठ नागरिक विभाग’को प्रमुख छ ।” 

मैले पढ्दै गरेको कथा सकिएको छ । तैँले बुझिस् त कुरा ? तर मेरो मनमा झन् औडाहा थपिएको छ यो कथाले । 

तँ कुरा बुझ् है । म उसको सभ्यताले हुर्काएको कथालाई गौर गरेर बुझ्दै छु ।

– ऊ आमाबाबु तथा हजुरआमा मरेकोसम्म पनि खुट–खबर लिँदैन । बैरी पल्टिएको छ  तर आफ्नो छोरा भने लहरे पीपल हुन्छ भन्ने कामना गर्छ । आफूलाई पाल्छ भन्ने ठान्छ । ऊभन्दा वेवकुफ यो सभ्यतामा अरू को हुन सक्छ !

– ऊ आफ्नी ३ वर्षकी छोरीलाई लादिएको शिक्षाको साङ्लाले बाँधेर डाक्टर बनाउन चाहन्छ र समाजको कठोर बन्धनले जकडेर धनीसँग बिहे गरिदिन चाहन्छ । ऊ धनलाई प्रधान ठान्छ । छोरी असल मान्छे बनोस् भन्ने ऊ सोच्दैन । ऊ उसकी आधुनिक स्वतन्त्रतामा हुर्केकी छोरीले उसले जे भन्यो त्यही गर्छे भन्ने विश्वासमा छ । त्यो आधुनिक सभ्यतामा ऊभन्दा वेवकुफ अरू को हुन सक्छ !

– आफ्ना परिवारका जेष्ठ सदस्यलाई त सम्मान गर्न नसक्ने ऊ जेष्ठ नागरिक विभागको प्रमुख छ । यो कुरा सरकार अन्धो हुन्छ भन्ने कुराको प्रतीक हो । जो गाउँको हगुवा उही मुखिया भनेको यही हो । मुर्ख आधुनिक सभ्यताले ऊसँग के आशा गरेको हो कुन्नि ! योभन्दा विभत्स के हुनसक्छ सरकारी पद्दतिमा !

– ऊ आफू जमानाको स्वतन्त्रतामा प्राप्त सुविधाको उपभोग गर्दै वेश्यागमन गर्छ  र मान्छेलाई ‘अचेल त भर्जिन आकाशको फल आँखा तरी मर भनेझैँ हो’ भनेर आधुनिक सभ्य र उदार बन्छ । तर ऊ आफ्नै श्रीमतीमा पतिव्रता गुण खोज्छ । छोरीलाई डोर्याएर सकुशल बिहे गरिदिन चाहन्छ र त्यही भ्रममा बाँच्छ । योभन्दा निर्लज्ज कुरा के हुन्छ !

अब तँलाई केही कुरा भन्छु । ‘म’हरू पनि गमेर बुझ्नुस् है । ‘ऊ’हरू पनि कुरा बुझ्नुस् है –

अब तँ माथिको कथाको कुरा र फूलबारीको मेरो कुरालाई एकै ठाउँमा मिसाएर घर जा । ‘म’हरू पनि घर जानुहोस् । ‘ऊ’हरू पनि दर्घदिशा लाग्नु होस् । हजुरआमा घरको ओसारीमा खोस्टाको पिरामा बसेर ट्वाल्ल हेरिरहनुभएको हुन सक्छ । उहाँले लगाएका लुगा टुङ्गामा पनि नहुन सक्छ । उहाँका कुरा बेसुरा पनि हुन सक्छन् । वर्तमानमा पन्पिएको सभ्यता मन नपरेको पनि हुनसक्छ । आफूले बाँचेको एउटा युग, आफ्नो पौरख र अहिलेको अवस्थालाई तुलना गरेर दुःखी भएको हुन सक्नुहुन्छ । हजुरबाको यादमा छट्पटाएको पनि हुन सक्नु हुन्छ । हजुरआमालाई हेपाइस गरेको हुनसक्छ । तर गौर गरेर चूपचाप हजुरआमाका आँखालाई हेरियो भने ती आँखाले कथा भन्दै हुनसक्छन् । यसरी –

“एकादेशमा एउटा मान्छे थियो । उसलाई उसका बाबुआमाले आफ्नो मुखमा निल्न आँटेको खानेकुरा ओकलेर खुवाए । ऊ ठूलो भयो । धन कमायो । मान कमायो । व्यस्त भयो । तर ऊ आफ्ना वृद्ध बाआमालाई हेला गर्न थाल्यो । दुःख दिन थाल्यो । र अशक्त आमाबाबु दुवैलाई एउटा डोकामा बोकेर भिरबाट खसाल्न हिँड्यो । उसको नाबालक छोरो पनि पछि लाग्यो । भिरको आडैमा टोक्माको सहारामा डोको बिसायो । यसैबेला सानो छोराले भन्यो – बाउ ! बाउ !! त्यो डोको नफाल है, पछि मेरा पालामा काम लाग्छ ।”

अब त कुरा बुझियो होला नि । ‘छेउको सियो माझैमा कोही बेला’ भनेको ‘माझको सियो छेउमा कुनै बेला’ पनि भनिएको हो ।  

अब म तँलाई एउटा प्रश्न गर्छु –

– लु भन् त, मान्छे किन जन्मन्छ, हुर्कन्छ, बढ्छ, बूढो हुन्छ र मर्छ ?

मलाई थाहा छ कि तँ मेरो प्रश्न सुनेर हाँस्ने छस् । र मलाई भन्ने छस् – यो फुस्क्यो ।

मैमत्ता ‘म’हरू पनि भन्ने छन् – यो फुस्क्यो ।  

उकासिएका ‘ऊ’हरू पनि भन्ने छन् – यो फुस्क्यो । 

भो छोड्दे त्यो कुरा । तर तँ आफ्नो केटाकेटीको फोटो र अहिलेको फोटोलाई मोबाइलमा एकै ठाउँमा राख् । जुम गर । गहिरिएर हेर । तँलाई लाग्ने छ, बुढिँदै छस् । तर म भन्छु – तँ चाँडै मर्दै छस् । किनकि यो संसारको ७ अरब ८० करोड मान्छेबाट हरेक दिन सरदर २ लाख मान्छे मर्छन् । बाँचेको हरेक दिन तँ भाग्यशाली भएको मात्र होस् । सधैँ भाग्यशाली दिनहरू भोगिरहेको तेरा जीवनमा एकदिन दुर्भाग्यशाली दिन पनि आउने छ । त्यसैले तँ आफ्नो नावालग छोरा र हजुरआमालाई एकैपल्ट गौर गरेर हेर् । र सोच, तेरी हजुरआमा पनि कुनै दिन तेरै छोरो जस्तै आँगनमा रोमाञ्चक भएर खेल्दै हुनुहुन्थ्यो होला । हजुरआमाका बाबाले पनि तैँले आफ्नो छोरालाई सुम्सुम्याएझैँ सुम्सुम्याउनुभएको थियो होला ।

धत मुला, तँ त परिस्थितिसँग भागेर यो विषयमा आध्यात्मिक चिन्तन राख्न थालिस् । यो सबै झन्झट भगवानका थाप्लामा हालिदिन थालिस् । पक्का । नत्र किन चुप लाग्थिस् ! तर एकछिन भौतिकवादी भएर सोच् – जन्मनु, हुर्कनु, बढ्नु, बूढो हुनु र मर्नु भौतिक प्रकृया हो । भौतिक कारण हो । यो भित्र पनि इमोस्नल फ्याक्टर हुन्छ, त्यसलाई भने तँ आध्यात्मिक तरीकाले सोच्न सक्छस् । किनकि त्यसको मापन हुँदैन । तैँले आफ्नो छोरालाई एकोहोरिएर हेरिस् भने तँलाई त्यो चिचिलो छोरामा देवत्व कुदिरहेझैँ लाग्छ । उसले खिस्स हाँसिदियो भने सारा संसारको रोमाञ्चकता त्यहीँ देख्न थाल्छस् । हुन पनि निष्कपट बच्चाको हाँसो जत्तिको सुन्दर र रोमाञ्चक सत्य संसारमा अरू केही हुँदैन ।

अरे यार, तँ त गम्भीर भइस् कि क्या हो ! गम्भीर नहो । म धेरै सेन्टी कुरा तँलाई सुनाउँदिनँ । तँ पनि भावनामा नबग् । म पनि मान्छेको जन्मदेखि मृत्यसम्मका कुराको बयान गरेर जेहाद छेड्दिनँ । तँलाई कन्फ्युज्ड बनाउँदिनँ । तर पनि एकछिन कल्पना गर् न – मान्छेलाई कुनै रोग पनि लागेन, दुर्घटना पनि भएन भने पनि एक दिन मर्छ । किन मर्छ ?

भो छोड् यार,  यो कुरा । बरु तँ र म एउटा प्रयोग गरौँ । तेरो छोरो, श्रीमती, आमाबुवा तथा हजुरआमालाई एउटै हारमा उभ्या । हो नि साँच्चि तेरो भन्नु र मेरो भन्नु एउटै त हो नि । अब एउटा एसएलआर क्यामराले । अटोक्लिक मोडमा राख् । अनि आफू पनि त्यही हारमा उभिई । हार मिलाउँदा उमेरका हिसाबमा कमदेखि बढीसम्मलाई मिलाएर राख । पूरा शरीर तथा बाहिरी सतह सबै प्रष्ट आउने गरी धडाधड फोटो खिच । टाढाबाट खिच । नजिकबाट खिच । एकदम नजिकबाट पनि खिच । सामूहिक खिच । सिङ्गल– सिङ्गल खिच । सम्झी फोटो सेसन गर्दै छस् । अब त्यो तँसँग भएको मल्टी डायमेन्सनल कम्प्युटरमा ती फोटालाई अपलोड गर् । कस्तो मजा आयो हगि !

पेग हान्न मन छ भने, लगालग दुई पेग बजा । मन छैन भने एउटा ठूलो कपमा कडा खालको मिल्क कफी बना र लिएर कम्प्युटरमा बस् । कफी पिउने मन छैन भने चिया, चिया पनि मन छैन भने तातो पानी, तातो पानी पनि खान्नस् भने एकदम बरफिलो चिसो पानी लिए पनि हुन्छ । अनि टन्सिल छ भनेर बरफिलो चिसो पानी नखाए रुम टेम्प्रेचरको पानी एउटा पारदर्शी सिसाको ठूलो ग्लासमा ले । पारदर्शी सिसाको ग्लास भने अनिवार्य छ । किनकि त्यसको भित्ताबाट त्यो भित्रको वस्तुको सही रङ देखिन्छ । मान्छेजस्तो रूपमा एउटा सारमा अर्कै देखिँदैन पारदर्शी सिसाको ग्लासमा । अब आफूभित्रका सबै कुरालाई उदाङ्गो बना । आफूले आफैँलाई त्यो पारदर्शी ग्लासमा हेर् । कम्प्युटर अन गर् । अनि ती फोटामा घोरिई । घोरिन दिमाग एकाग्र भएन भने मरिजाने स्वास्थ्यको ख्याल नगरी एउटा चुरोट सल्का । धुवाँलाई गोलो आकारमा सिलिङतिर फ्याँकि दे र अब त्यो अघिको फोटो हेर् । त्यो लहरे फोटोलाई स्याडो मोडमा लैजा । र्तँलाई बाँदरबाट मान्छेको विकासक्रम बुझाउने डायग्रामजस्तै लाग्नेछ ।

लौ यो त सेन्टी हुन थाल्यो ! पख् एकछिन कथालाई अन्त मोडौँ । यसपालिको दसैँको त कुरा हो । मेरी आमाले मलाई भन्नुभएको थियो – बाबु, आज फूलपाती हो । भोलिदेखि त दसैँले झ्याप्पै छोपिहाल्छ । आज पशुपतिको वृद्धाश्रममा गएर उनीहरूसँग २÷४ घण्टा बसौं । उनीहरूलाई दसैँको खुसी बाँडौँ । उनीहरूका दुःख सुनेर हल्का बनाऔँ ।

अनि म आमालाई लिएर वृद्धाश्रममा गएको थिएँ । आमा त्यहाँ भएका वृद्धवृद्धासँग निकै रमाउनुभयो । मैले ती वृद्धवृद्धाका फोटाहरू खिचेँ । तैँले पनि हेरेकै होस् नि । कस्ता दयनीय देखिन्थे ती वृद्धवृद्धा । ती वृद्धवृद्धाले आफ्ना जीवनमा घटेका घटना सुनाए । कथाजस्तै थिए  तर साँचा थिए । कहर थिए तर यथार्थ थिए । मान्छेको विद्रुप रूप अनुभूत गर्न सकिन्थ्यो ।

अब अलि फ्रेस भइस् होला । मूल मुद्दामा आइज ।  अनि तैँले ती फोटाहरूलाई गौर गरेर हेरिस् होला । के देखिस् ? कि ‘म्ह’ पूजाको मिष्टान्नको स्वाद पाइहालेँ, के हेर्नु ती फोटा भनेर सुतिस् । त्यस्तो भ्रममा नबस् । म तँलाई किमार्थ सुत्न दिन्न ।

ती फोटाहरू हेरेर तँलाई लागेको हुनुपर्छ कि संसारको नियति भनेको जन्मनु, हुर्कनु, बढ्नु, बुढिनु र मर्नु हो । केही दिनअघि वा पछि हो, आखिर मर्नु नै छ । यो सत्य हो ।

अब अझै गोर गरेर फोटामै हेर्  र ती फोटामा भएका मान्छेहरूको छायाँ–स्वभावलाई गम् । उमेर पिच्छे अलगअलग स्वभाव हुन्छ मान्छेको । बूढो हुन थालेपछि शारीरिक सक्रियताको अवस्थामा ह्रास आएको महसुुस हुन्छ । मनोवैज्ञानिक अवस्थामा त झन् गिरावट आएको हुनुपर्दछ । बरु यसरी भन् कि बुढेसकाल लाग्ने कुराको संकेत भनेको सम्पूर्ण भौतिक, मानसिक सामाजिक मान्यताको अवस्थामा परिवर्तन हुनु हो ।

ए तँ न आत्ति न हौ, आत्तिएर कहीँ पुगिन्न । त्यो सामाजिक मान्यताको परिवर्तनमा आउने शारीरिक र मनोवैज्ञानिक अवस्थामा आउने ह्रास एउटा चक्रझैँ तँसमक्ष पनि आइपुग्छ । आइरहेको छ ।

ए अँ, अगि नै मैलै तँलाई सोधेको थिएँ – मान्छे कुनै रोग नलागे पनि वा कुनै दुर्घटना नभए पनि किन मर्छ ?

मैले भनेँ नि, भगवानवादी भए त खिसा नै खत्तम । तर खासमा मान्छेका शरीरभित्र अनेकौँ प्रकारका पद्दतिहरू हुन्छन् । ती पद्दतिहरू आआफ्नो काममा चलायमान भइरहँदा सम्म मान्छे बाँच्ने हो । तर उमेरसँगै ती पद्दतिहरू स्वाभाविक तवरले क्रमशः कमजोर हुन थाल्छन् । यो कमजोर हुने प्रकृया रोकिन्न । जीवनचक्र भन्नु यही हो  र एकदिन कम्तीमा एउटा पद्दतिले काम गर्न छोड्छ, जीवनचक्र चल्दैन र मान्छे मर्छ ।

तँलाई मृत्युको कुरा सुनेर डर लाग्यो होला । नडरा न यार । त्यो सत्य हो । सत्य कुरासँग किन पो डराउनु र ? डराए पनि आइहाल्छ, न डराए पनि आइहाल्छ ।

तैँले त आमासँग कुरा नगरेको पनि धेरै भयो होला । सुन्, तेरी÷मेरी आमा भन्नुहुन्छ – त्यो दिन आइहाल्छ, हामीले चाहेर वा नचाहेर के गर्ने ! बरु बाँचुञ्जेल बाँचेको बोध गर्न पाइयो भने पो जिन्दगी त !

तँ कुरा बुझ्, आमाले भन्नुभएको जिन्दगी भनेको हसुर्नु र बिस्ट्याउनु मात्र होइन । आध्यात्ममा विश्वास गर्छस् भने तेरै शास्त्रअनुसार त्रिऋण तिर्न सक्नु जिन्दगी हो । त्रिऋण भनेको ‘मातृ ऋण, पितृ ऋण र देव ऋण’ हुन् । गुरुको ऋण पनि हो । यी ऋणहरू पैसाले तिरिन्न । अर्कोतिर भौतिकवादमा विश्वास गर्छस् भने पनि यही लोकमा मान्छेले तँलाई ‘मान्छे’ भन्ने÷भनाइने काम गर्नुपर्छ । नत्र त तँ÷म पनि मलमुत्र बिस्ट्याउने मार्का हुन जान्छौँ ।

अब तँ एकदम विन्दुमा आइपुगेको छस् । जब तँलाई मृत्युको सत्यताबारे ज्ञान हुन्छ । ज्ञान भएर पुग्दैन बोध हुन्छ, अनि बल्ल तँ सोच्न थाल्छस् कि अब के गर्ने ? यो बुँदामा भगवानवादी हुन सजिलो छ । तर म भन्छु, जब तँलाईलाई मृत्युबोध हुन्छ, तब तेरो खास र सही जिम्मेवारी सुरु हुन्छ । मान्छेको बचाइलाई शारीरिक तथा मानसिक रूपले सहज र सजिलो बनाउन गर्ने कृत्य अब तेरो काँधमा आएको हुन्छ । योभन्दा पहिला त तँलाई कहिल्यै मरिन्नझैँ लाग्थ्यो । सांसारिक विषयभोगमा जायज÷नाजायज तरीकाले होमिएको थिइस् । तँलाई लागिरहेको हुनसक्छ कि मर्दा पनि श्राद्धको माध्यमबाट यो सम्पत्ति÷सुविधा पाइन्छ । त्यसैले जोहो गर्नुपर्छ । तर तँलाई जब मृत्युबोध हुन्छ, थाहा हुन्छ कि यो साँचो÷झूट र इमानी÷बेइमानीका सबै सम्पत्ति यहीँ छोडेर जानुपर्छ ।

तँ त यार कस्तो बुद्धू ! मेरा कुराले किन सेन्टी भएको तँ । अब ती फोटालाई बिर्सिहाल् । ती फोटाले तँलाई अल्मल्यायो । दुविधामा पार्यो । म तेरो मेसेन्जरमा अस्ति दसैँमा आमासँग पशुपतिको वृद्धाश्रममा जाँदा खिचेको एउटा वृद्धा हजुरआमाको फोटो पठाइदिन्छु । ल हेर त, आयो होला । 

त्यो फोटो आमाको हो । तेरी÷मेरी आमाको, असंख्य मैमत्ता ‘म’हरूकी आमाको, बिनाबित्थामा उकासिएका ऊ र ऊजस्ता मेसिन भैसकेका करोडौँ मान्छेहरूको आमाहरूको फोटो हो । त्यो फोटो एउटा जीवनको विम्ब हो । त्यही दिन ती आमाले आफ्नो धेरै कथा भनिन् मलाई । मलाई बताएको एउटा कथा यस्तो छ –

“एकादेशमा उनी जन्मेकी थिइन् । त्यहीँ उनको घर थियो । १० वर्षमा बिहे भयो । समय सालमा सगल्तो चार भाइ छोरा र तीन बहिनी छोरी पाइन् । तीनवटा अधिग्रो गए । सन्तान बनाइदिएर खसम गुज्रे । बाँचेका सन्तानलाई माखामुन्द्रा ढुट्याएर पढाइन् । छोराछोरीको बिहे गरिदिइन् । छोराले सम्पत्ति हत्याए । कुपुत्र निस्के । अनि मलाई पहिले छिँडीमा र पछि यहाँ ल्याएर बिल्लीबाठ बनाए । सन्तान स्वास्नी र ज्वाइँ चेपेर भागे । मलाई अधमरो बनाए । सम्पत्ति बाँकी थिएन । बाध्य भएर यहाँ आएँ । ९२ की भएँ, खोई काल पनि आउँदैन !”

यो कथालाई तैँले मजाले बुझिस् होला । अब त्यो मैले मेसेन्जरमा पठाएको फोटोलाई मजाले हेर् त । ती वृद्धा कान सुन्दिनन् । अनुहारभरि मुजैमुजा छन् । उनको शरीरबाट छाला तुर्लुङ्ङ झुन्डिएको छ । श्वास खलाँतीझैँ स्वाँस्वाँ मात्र गर्छ । कपाल खुइलिएर आहालले खाएको जस्तै देखिएको छ । बाँकी रहेका कपाल पनि कपासभन्दा आगर सेताम्य छन् । आँखाको ज्योति एकदम कमजोर छ । दुईपल्ट त मोतीविन्दुको अपरेसन गरिएको छ । हातका औँलाहरू गठिया बाथले बाङ्गाटिङ्गा भएका छन् । शक्ति क्षीण भएको छ । शारीरिक अशक्तता छ । ब्लड पे्रसर, थाइराइड, डाइबिटिज, तथा हृदय रोगको खानी भएको छ । उनलाई डिमेन्सिया भन्ने बिर्सने रोग पनि लागेको छ ।

यस्तो बेलामा तेरो÷मेरो, असंख्य ‘ऊ’हरू, असंख्य ‘म’हरूको दायित्व हुन्छ कि आमाहरूको सघन हेरचाह गर्ने, खानपीनमा ध्यान दिने, आमाको निदका बारेमा चासो राख्ने । सामान्य व्यायाम गराउने । दिमागमा बोझ नदिने । औषधि उपचार गराइरहने । बिजी बनाउने । दामलीसँग भेट गराउने । नजिकै जाने, कुरा गर्ने । हातका औँला खेलाइदिने । आमाका विगत सोध्ने । त्यो युग सोध्ने । मनोवैज्ञानिक रूपमा ‘म छु नि आमा, केको चिन्ता गर्नुहुन्छ’ भनी ढाडस दिने ।

अनि नि साले गधा, तैँले मलाई त्यही बेला प्रश्न सोधिस् – यसो गर्दा के मान्छे मदैन र !

मलाई तँसँग एकदम रिस उठेछ । र भनेँछु – साले गधा, कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै । मर्न त को मर्दैन र ! आरामले मर्न पाउनु पर्यो पो भनेको त । आरामले मर्न पाउनु पनि मान्छेको फन्डामेन्टल राइट हो । त्यो कुराको ग्यारेन्टी तैँले÷मैले गर्नु पर्छ । कुरा बुझिस् ?

आमाका चाउरीहरू हेर्दै मैमत्ता ‘म’हरू, उछालिएका ‘ऊ’हरू छेवैमा बसेर ग्लानि महसुुस गरिरहेका थिए ।  

बिउँझिएँ छु । म त आफ्नै ‘म्ह’ पूजाको प्रतिविम्बसँग कस्तो सेन्टी बात मार्दै रहेँछु !

प्रकाशित: ४ मंसिर २०७७ ०७:५० बिहीबार

अक्षर