कला

आधा शरीर

लघुकथा

तुलसी पण्डित 

 

चिनाको श्रीमान परलोक भएको आज तेर दिन भयो । उनलाई आङ  ढाक्न सेतो पहिरन दिइएको छ । उनले त्यसमा विरोध जनाइन् । विरोधका बाबजुद उनका मुखबाट अनायास शब्दहरुको वर्षा हुन थाले।

लोग्ने मरेर महिलाले सेतो पहिरन लगाउने चलन  समाजको कलङ्क हो । यो सदाका लागि अन्त्य हुनुपर्छ । अझ उनले भन्दै गइन् – पती मर्दा त्यसै त पीडा हुन्छ । अझ त्यसमा सेतो पहिरन पहिर्याएर पीडा थप्ने किन ! नारीमाथि यो ज्यादती कहिलेसम्म ! किन नारीहरुको वेदना बुझ्ने कोसिस गरिन्न ! किन यो समाजले चिन्तामाथि चिन्ता थप्ने काम गर्छ ! उहाँ भने नारी पुरुष समान रे !  पहिलेकै पहिरनमा  बस्न पाए आधा चिन्ता घट्ने थियो तर चिनाको यो वेदनाको कुनै सुनुवाइ भएन ।

 चिनाले अझ विरोध गर्दै रहिन् । चिनाको यो विरोध देखेर होला पण्डित विवेकानन्दले रिसाउँदै भने– यो हाम्रो रीतिरिवाजमा कसैले दखल गर्न पाउँदैन । जे चलन छ त्यही हुन्छ । लोग्ने मरेपछि सेतो पहिरनमा सजिन पर्छ । किनभने तिमीहरुको आधा शरीर त मरेतुल्य भयो नि ।

पण्डितको यो कुरा सुनेर चिना मर्माहत भइन् ।

केही समयपछि पण्डित विवेकानन्दको श्रीमतीको असामयिकक निधन भयो । यस घटनाले पण्डितलाई निकै मर्माहत तुल्यायो । उनले वेदनामा नै तेर दिनको काम सके ।

तेह्रौ दिनको काम सकेपछि चिना पण्डितको घरमा गइन् । उनले पण्डितलाई झोला दिदै भनिन् – ल हजुर यो झोला लिनुस् ।

पण्डितलाई यसले ताजुब बनायो । पण्डितले झोला खोलेर हेरे । त्यसभित्र भएको चिजले उनलाई चकित तुल्यायो ।उनले आश्चर्य मान्दै भने – यो सेतो पहिरन किन !

चिनाले पनि निर्भीक भएर भनिन् – तपाईले लगाउने सेतो पहिरन हो यो । हजुरको पनि श्रीमती मरेपछि आधा शरीर भयो नि !’

प्रकाशित: ३ मंसिर २०७७ १०:५२ बुधबार

अक्षर