कला

गुरुमापा

लघुकथा

डा. विदुर चालिसे

 

 –  तुरुन्त यसलाई कन्टेनरमा लगेर फालिदेऊ  ।

प्राकृतिक प्रसुती गृहको कक्षमा एकजना चिकित्सक अत्यन्त अनिष्टताको त्रासले कराइरहेका थिए। उनको नजरलाई कालो पावरवाला चस्माले ढाकिएको थियो । मुखबाट थप शब्दहरू फुत्किरहेका थिएनन्। राजमतीले चिकित्सकलाई पुनः बर्बराएर भनिन् –मेरो शरीरको लाज जोगाइदिस्योस् भगवान् !

– लाज जोगाउन भगवान् चाहिँदैन बरु मेरै शक्ति नै पर्याप्त अपरम्पार छ ।

प्रसूति कक्षमा बेहाल छटपटाइरहेका चिकित्सकको अनुहारमा राजमतीले असह्य प्रसव पीडासँगै पुलुक्क हेरिरहिन् । चिकित्सकको शल्यक्रियाशय्यामा रहेको परम पराक्रममाथि हरितालको मन्द गन्धले एकतमासमा उनीहरूलाई हेरिरहेको थियो । यसैबीच रगतले अमितिएको लालायित जीवन चक्रमा जीवाणु सल्बलाउन थालेको थियो । उसको बारम्बारको एउटै एकोहोरो प्रश्न थियो –

– मलाई नाजायज गर्भाश्राव किन गराएको !

– जायज राजमतीको आज्ञाले ।

– त्यसो भए जायज सपथ ग्रहण !

– संगठनमा मुर्दा शान्तिको शून्यता छाएपछि ।

चिकित्सकको जवाफले रन्थनिएको जीवाणु रुन, कराउन र चिच्याउन थाल्यो । उसका रुवाइ कैलाशका छेउछाउसम्म फैलियो । उसमा अर्कै नयाँ जीवनको छुट्टै प्रकाशको परावर्तन हुन थाल्यो । तब उसले एकाएक उम्रिएको जुँगालाई झट्कार्न थालेर चिकित्सकलाई धम्की दिन थाल्यो –

यो पत्रमा लेखिएको  असन्तुष्टिको जवाफ देऊ  नत्र निको मान्दिन । फुटे यही विषाणु घैंटो फुट्छ ।

जीवाणुको त्यो प्रहार चिकित्सकको दिमागमा पुग्यो । उसले नजिकै रहेकी नर्ससमक्ष पुनः यसको व्यवस्थापन गर्नु भनेर आदेश दिँदै भने,

– यो जीवाणुको नैतिकता नहुने भएकाले जता पनि भाइरल भएर सर्छ । याद गर्नु ल ।

– ओहो, के यो कोरोना भाइरसभन्दा पनि भाइरल हुन्छ र !

कोरोना भाइरसलाई नेपालीमा श्रीपेच जीवाणु भनिन्छ । के ख्यालठट्टा गरेको ! बजारमा अति नै भाइरल हुने सम्भावना बढेर गइरहेको छ । विचार गर्नु है ।

–ओहो, यो त डार्विनको विकासवादी सिध्दान्तभन्दा पनि सर्वथा नौलो पो रहेछ त ।

नर्सले सो जीवाणुको घैंटोलाई बोकेर राजमतीछेउ पुगिन् । उनको खर्ल्याकखुर्लुक भएको चरित्र थियो । उनले नर्ससमक्ष केही बोल्न सकिनन् । मुन्टो हल्लाएर यसलाई सेलाइदिनु भन्ने सङ्केत गरिन् । त्यसपछि जीवाणुलाई घाटमा बगाइदिइन् ।

प्रेतात्माको आवाजमा जीवाणु फेरि सन्दिग्ध स्वरले सुनसान रातमा निशाचरहरूसँग गीत गाएर हल्ला गरेको सुनिन्थ्यो ।

– गुरुमापाले बच्चा लग्यो रे ! लखट्लखट त्यसलाई ।

– भोजन देऊ भोजन । बालभक्षकलाई ।

रातभर चलेको सहरको हल्लाहरूमा एउटा जीवाणुको घैंटोको  खोजी भइरहेको थियो । बजारमा सबैका बन्द मुखहरू ओहोरदोहोर गरिरहेका थिए । गुरुमापा खोपीको अर्को शिशु ताकिरहेको थियो ।

प्रकाशित: ३ मंसिर २०७७ ०९:२७ बुधबार

अक्षर