कला

साइत

लघुकथा

किशन पौडेल

तिहारमा बहिनीको हातको टीका नलगाएको नि धेरै वर्ष बितिसकेको थियो । कुनै वर्ष जुठो कुनै वर्ष सुत्केरो कहिले कुनै समस्या कहिले कुनै यस्तै अनेकौँ सामाजिक , धार्मिक र व्यावहारिक व्यवधानहरूले गर्दा हाम्रो टिकाको साइत धेरै वर्षसम्म जुर्न सकेन ।

यो वर्षचाहिँ अब तिहारमा बहिनीको हातको टीका लगाउने साइत पक्कै जुर्ने छ भन्ने कुरामा म ढुक्क थिए । मनभित्र ठूलो इच्छा र चाहना थियो ।

कोरोनाको त्रास भयावह रूपमा बढ्दै गइरहेको थियो । दसैँमा आमाको हातको टीका लगाउन बहिनी ज्वाइँ र  भान्जाहरू आउनु भएन । सपरिवारलाई कोरोना पोजेटिभ देखियो रे घरभित्र सपरिवार क्वारेन्टिमा बस्नुभएको समाचार आयो । हल्का जरो आउने र टाउको दुख्ने समस्या रहेछ । दसैँ यतिकै सकियो ।

पन्ध्र दिनको क्वारेन्टिनपछि बहिनी ज्वाइँको सपरिवार तन्दुरुस्त भइसक्नुभएको र रिपोर्ट नेगेटिभ आएको खबर पाए।  

कोरोनाले गालेको शरीर लिएर भए पनि बहिनीले यसपालि दाइ आउनुहुन्छ भनेर सकीनसकी तिहारको तयारीमा जुटिन र मलाई फोन गरिन्, ‘दाइ, जसरी पनि टीका लगाउन आउनुपर्छ है। म तन्दुरुस्त भैसकेको छु ।’

मैले नि प्रतिउत्तरमा हुन्छ । म जसरी नि टिकाको साइत छोप्न आइपुग्छु भनेर वचनबद्ध भएँ ।

टिकाको दिन बिहानै काठमाडौँबाट बाइक लिएर हेटौँडा हुइँकिए चार घण्टाको बाटो दस बजे बहिनीको घरमा टुप्लुक्क पुगे ।

बहिनी बरन्डामा बसेर झोक्राउँदै रहिछिन् । मुख मास्कले छोपिरहेकी थिइन्। म नजिकै कुर्सीमा गएर टुसुक्क बसे । मेरो मुखमा नि मास्क थियो । भाइटिकाको सम्पूर्ण सरसामान मरमसला ठिक्क पारेर राखेकी रहिछन् । मैले सम्झे – कोरोनाले थला नै परिछन् । अझै मनभित्र डर –त्रास कायमै रहेछ । सामाजिक छुवाछूत त बिस्तारै समाजबाट हराउँदै गएको थियो फेरि यो कोरोनाले आफन्त नातागोता सबैलाई झनै अछूत बनाउँदै लगेको थियो ।

टिकाको साइत सुरु हुनै लागिसक्यो । बहिनी बसेको ठाउँबाट हलचल नै गर्दिनन् । मलाई अचम्म लाग्यो । म आफै अग्रसर हुँदै भने– ल बहिनी अब टीकाको लागि तयारी गरौँ ।

उसको आँखामा आँसु टिलपिलाइरहेको देखे ।  

‘होइन के भो झन् त्यति टाढादेखि टीकाको साइत छोप्नु कतै अलमल नगरी समयमै आइपुगेको छु । मलाई यो कोरोनासोरोनासँग फिटिक्कै डर लाग्दैन नजिकै आएर टीका लगाइदिए हुन्छ । अप्ठ्यारो मान्नु पर्दैन ।’ मैले सान्त्वना दिँदै भने र म आफैँ जुरुक्क उठेर बहिनी नजिकै गएँ ।  बहिनी झन् परपर सर्छिन् ।

–होइन के नाटक गरेको तिमीले ।म अलि कड्किएँ ।

– होइन दाइ, मलाई सब ठिक छ । नजिक न आउनुस् । म भर्खरै पर सरेर बसेकी,  एक घण्टा भो मिन्स भएको ।  

म अवाक् परेर टोलाउन थाले ।

प्रकाशित: ३ मंसिर २०७७ ०६:५५ बुधबार

अक्षर