कला

कुसंस्कार

लघुकथा

जितेन्द्र रसिक

 

सुनिता घरखेतकै काम गर्थिन् । उनको श्रीमान् विनय जागिरे थिए । जीवन साधारण तरीकाले चल्दै थियो । उनीहरूको एउटा छोरा थियो । उनको नाम बाबु र आमाको नाम सँग जोडेर विसुन राखेका थिए । सानै छँदा  खूब हेरचाह गरेर भुइँको धुलो लाग्ला कि झैं गरी हुर्काएको विसुन बाबुआमाको मायाले बाबुआमाले भनेकै कुरा पनि नटेर्ने भइसकेको थियो । ऊ ठूलो हुँदै गयो । विसुनको अन्य क्रियाकलापमा बाबुआमाको ध्यान जान छोड्यो । बाबुआमाको छेवैमा बस्दा कहिलेकाहीं उनले पनि रक्सीको स्वाद लिन भ्याइसकेको थियो । विनय हरेक रात रक्सीले मातेर घर आइपुग्दथ्यो । उनको त्यो बानीले पराकाष्ठा नाघ्दै गयो । छोराकै कारणले सुनिता  र विनयबिच सधैं झगडा हुन थाल्यो । लोग्नेको प्रतिशोधका कारण सुनिताले पनि रक्सी पिउन थलिन् । श्रीमतीले पनि रक्सी पिएपछि विनयलाई के खोज्छस् कानो आँखा भनेझैं  भयो । 

बिस्तारै विसुनको संगत खराब केटाहरूसँग हुन थाल्यो । उनले गाउँमा चोर्न र डकैती गर्न थाले । त्यसरी ल्याएको पैसा पाएर बाबुआमा पनि दङ्ग पर्दथ्यो ।  बिस्तारै विसुन गाउँकै गुण्डाको रूपमा  चिनिन थाल्यो । अब त ऊ घर पनि महिनामा एकाध आउँथे ।

 एक रात विसुन बुबाआमालाई भेट्न भनी घर फर्कदै थियो ।  त्यस दिन  उसँग बाबाआमालाई दिन खर्च पनि थिएन । रात छिप्पिदै थियो । बाटोमा हिंड्दाहिंड्दै उनले एउटा छायाँ अगाडि – अगाडि गैरहेको देख्यो । उनले ती छायाँलाई पच्छयाउँदै गयो  र पछाडिबाट छुरा दापे । छायाँ घोप्टो परेर लड्यो र निष्प्राण भयो । उनले हतारहतार उनको गोजीमा रहेको पैसा  लुट्यो र घरमा गयो । लुटेको पैसा आमाको हातमा लगेर राखिदिए । भोलिपल्ट गाउँमा कसैको शव भेटिएको हल्ला चल्यो । गाउँभरिका मान्छेहरू जम्मा भएर हेर्न गए । घटनामा नजाँदा शंका होला कि भन्ने डरले सुनिताको पछिपछि विसुन पनि गयो । शव अगाडि पुग्दा विसुन झस्कियो । राति आफूले प्रहार गरेको उसको आफ्नै बाबु विनय थियो ।  

प्रकाशित: ३ मंसिर २०७७ ०६:२७ बुधबार

अक्षर