कला

कमरेड

सोनाम सज्जन किराँती  

 

अब त कमरेड  

भन्न मन पनि लाग्न छोडेको छ ।

कमरेडली चरित्र सर्वहारा हुनुपर्ने हो  

कमरेडली चिन्तन मजदुरप्रेमी हुनुपर्ने हो  

कमरेड भनेको अर्थ  

संसारभरि छरिएका  

श्रमिकहरुको हक खोज्ने हो  

किसानहरूको हितमा लड्ने हो  

आज कमरेडको अर्थ  

वियरको नास्तामा बेचिएको छ

कमरेडको अर्थ जस्ले बढी कमिसन लिएर  

पार्टी अफिस धाउँछ उस्ले पाइरहेछ

टोलदेखि शिखर कमिटी  

उनै गुण्डाहरुको हिसावकितावमा छ  

कमरेडको अर्थ बदलिएर

ईटाभट्टामा घाइते मानिस पोल्नेहरू भइरहेछ

यसर्थ म कमरेड स्वीकार गर्न सकिन ।

 

जीवनमा एउटै उद्देश्य थियो र हुन्छ  

ऊ यसरी बदलियो

मानौ

संगैको साथी हवाईजहाजमाथि  

सालेज्यू सालेज्यू  

म भैंसी गोठाले ।

 

पीडाको आगो उठेको छ  

आस्था स्खलित बाटो भएर उभिदा  

सन्नाटा छाएको छ  

फेरि एकपटक अन्धकारले पिरोलेर  

जतिबेला तेत्तीस किलो सुन तस्करले  

कमरेडली उपमा पाउँछ

निर्मला बलात्कृत हुन्छ

वाइड वडी घोटला सामसुम हुन्छ

जुन चै देशमा खाडीलाई पसीना बेचेर

सरकार टन्न रेमिटान्सभन्दा

दलालहरूको चाकरी भित्र्याउँछ

उनीहरूलाई कमरेड देख्छ

 

त्यतिबेला ओरजिनल कमरेड  

को बन्छ करोडपति खेलमा हारेर

कतै ईटाभट्टामा ज्याला गरिरहेको होला  

होटल रेष्टुराँमा भेटिने

करोडपति कमरेडको जुठो थाल माझिरहेको होला  

मन्त्री आवास निवासको पानी ओसारपसारमा व्यस्त होला  

किनकि उस्ले त्योभन्दा माथिको  

जिम्मेवारी पायो भने  

बालुवाटारको जग्गा दलाल रिसाउँछ

एकनम्बर दलालहरू अच्छा कमरेड बनाइएको छ

तिनको आशीर्वादमा प्रतिक्रान्ति बाँचिरछ

तिनलाई म कसरी कमरेड भनी सम्बोधन गरुँ ।

 

कमरेड शब्द यति वजिलो छ  

यस्को महत्त्वमा यति गर्वलायक छ

जस्को औचित्य

थैलीमा चल्नेरूले के थाहा पाउछ  

लुटमा रम्नेहरुले किन मतलब गर्छ र  

कमरेडको अर्थ संसार बदल्न हिडेकाहरू हुन्

श्रमिक किसानको मुक्ति हुन

जस्ले क्रान्ति परिवर्तनको खातिर  

आफूलाई बलिदानमा सुम्पन तयार राख्छ

उनै हुन कमरेड

आज त कमरेड देश बेच्ने विचौलियहरू पो छन्

धोकेवाजहरु कमरेड छन्  

भनिदिनुस् म किन उनीहरूलाई कमरेड भन्ने  !

प्रकाशित: २ मंसिर २०७७ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App