कला

पैसा

कथा

 ममता मृदुल  

 

मधु नामजस्तै गुलियो स्वभावकी धनी थिइन् । उनी असाध्यै सुन्दरी थिइन् । सधैंभरि मीठो बोली बोलेर सबैलाई रिझाएकी थिइन् । स्नातक पास भएपछि घरमा उनको बिहेको कुरा चल्न थाल्यो । मृदुभाषी, सुकुमारी मधु आमाबुबाको इच्छाअनुसार विवाह गर्न राजी भइन् । गौरवसंँग मधुको विवाह भयो । व्यवसायी गौरव व्यापारको सिलसिलामा बाहिर गइरहन्थे । मधुको गौरवसँंगको वैवााहिक सम्बन्ध राम्रैसँंग बितिरहेको थियो । उनीहरूबीच अगाध प्रेम थियो । मधुले दुई वर्षको अन्तरालमा दुई छोरा जन्माइन् । छोरा हुर्काउन रमाएकी मधुलाई बाहिरी संसार हेर्ने फुर्सद थिएन । 

धेरै खुशी मनभरि सँंगालेर मधु छोरासँगै एक महिना माइत बस्न आइन् । आमाको सान्निध्यमा माइतीमा छिट्टै समय बित्यो । समयको चक्रसँगै माइतबाट बिदा भएर उनी घर आइन् । घरमा नौला मान्छे आएका थिए । अन्दाजी पचीस वर्षे आइमाई र एउटी केटी थिई । मधुले हाँसेर सोधिन्  – तपाईलाई मैले चिनिन । मधुको प्रश्न नसकिंदै सासू आमा बाहिर आइन् । ठूलो छोरा आँगनमा भकुन्डो खेल्दै थियो । मधुले उत्तरको प्रतीक्षा गरिनन् । ढोगभेटपछि आफ्नो कोठामा आइन् ।  लथालिङ्ग कोठा मिलाउन थालिन् । एक महिना घर छाडेर हिंड्दा मेरो कोठा गोदाम भएछ । एक्लै बोल्दै कुचो लगाइन् । साँझ झमक्क भइसकेछ । हतारहतार भान्छाको तयारीमा जुटिन् । छोरा र सासू आमालाई खाना ख्वाइन् । , पाहुना र तीनकी छोरीलाई खान दिइन् । खाना खाएपछि छोराहरूलाई सुताउँदै थिइन्, गौरव आइपुगे । मधुले गौरवतिर हेर्दै भनिन् ‘कहिलेकाहीं त हामीलाई सम्झेर छिटो आउँदा हुन्थ्यो नि !’

 काम धेरै थियो, मिटिङ साँझ परेपछि सकियो । छिटो आउन चाहेर पनि सकिंन । मधु उठिन् ! हिँड्नुस खाना खाऊँ भोक लागिसक्यो दुवै जना खान गए । खाना खान सुरु गरेपछि गौरवले रामवती खोई भनेर सोधे । ए । त्यो बच्चाकी आमा खाना खाईवरी सुत्न गई । मधुले सरल जवाफ दिइन् । गौरव केही बोलेनन्, चूपचाप खाना खाए । मधु खुसी थिइन् । गौरव खाना खाएर आमाको कोठातिर गए । मधु भान्साको काममा लागिन् ।

आमा निदाउनुभयो ? छैन बाबु आइज भित्र, आमाले बोलाइन् । गौरव आमाको छेउमा बसे, आमा उठेर बसिन् । आमा म के गरूँ ? भोलि मधुले सबै कुरा थाहा पाउँछे । मैले सोच्न सकेको छैन । म मधुलाई सम्झाउन सक्दिनँ । कसरी भनूँ आमा केही ............। गौरव मधु सोझी र पढेलेखेकी छे । समस्या जति जटिल भएपनि समाधान नगरी हुँदैन । यी कुरा मैले भन्दा तैले भन्नुपर्छ । धैर्यका साथ प्रेमले सम्झाउनु, आवेशमा नआई । समस्याको समाधान खोज्नुपर्छ । प्रयास तैले गर्नुपर्छ । आमाछोरा बीच गोप्य वार्ता चलेजस्तो छ नि ! मधु हाँस्दै भित्र पसिन् ।

मधु आइमाईको जीवनमा कति बेला आँधीबेहरी आउँछ थाहा हुँदैन । वर्षा कालमा पानी पर्छ, असिना पर्छ, पैह्रोले बगाउँछ तर नारीको जीवनमा वसन्त ऋतुमा पनि पैह्रो जान्छ । पहाड भत्केर टाउको माथि खस्छ, धेरै समस्या आउँछ । अर्काले गरेको गल्तीको समस्या भोग्नुपर्छ, । सोचेर निर्णय गर्नुपर्छ ।

आमा खुलस्त कुरा गर्नुस् । मैले केही बुझिन ? मधु छक्क परी , उठ म भन्छु,  सबै कुरा खुलस्त पार्छु । गौरवले मधुलाई लिएर आफ्नो कोठामा आए । ढोका बन्द गरे । एउटा पलङ्गमा छोराहरु सुतेका थिए । छोराहरु मस्त निंद्रामा थिए । अर्को पलङ्गमा दुवै जना बसे । मधु उत्सुक थिइन, आखिर के भएछ ? किन आमा छोरा गम्भीर छन् ।

मधु यो कुरा आज भन्दा दश वर्ष अगाडिको हो । गौरव बोल्न खोज्दै थिए, लामो सुस्केरा हाले पुनः बोल्न थाले । म बी.एड. पास भएपछि गाँउ गएँ । बुवा बिरामी हुनुभएको थियो ।  रामवतीको बाबु हाम्रो हरूवा थिए, खेती गर्न  रामवतीको परिवार सिपालु थिए । हाम्रो खेतमा काम गर्थे र हाम्रै घरमा बस्थे । म र रामवतीबीच शारीरिक सम्बन्ध भयो । मधुले त्यसपछि केही पनि सुनिनन् । अनुहारमा पीडा व्याप्त भयो, आँखामा आँसु भरियो । गौरव एक्लै बोलिरहेका थिए । अस्ति पार्टीका मान्छे आएर घरमा बुझाएर गए । सारा संसार घुमिरहेको थियो, मधुको मनमा गौरवप्रति प्रेमको स्थानमा घृणा भरिंदै आयो ।

धेरै बेरसम्म कोही बोलेनन् । मधु जुरुक्क उठिन् दैलो उघारेर बाहिर निस्किइन । गौरव पछिपछि हिंडे । रातको अँध्यारोमा सुनसान बाटो थियो । मधुको हात समाएर गौरवले रोक्न खोजे । मधु हिंडिरहिन् । झड्काएर हात छुटाई केही नबोली अगाडि बढिरहिन, निरन्तर हिंडिरहिन । गौरवले मधुको साथ छोडेनन् । धेरै टाढा आएपछि वरपिपलको चौतारीमा मधु बसिन् । गौरव सँगै आएर बसे । विस्तारै हात मधुको काँधमा राखे । थकित मन र शरीर दुवै ढल्यो, मधु ढलिन् । गौरवले उठाएर चारैतिर नजर दौडाए पानी कतै थिएन । कसो गर्ने मन आत्तिएको थियो । मधुलाई विस्तारै बोलाए, केही समयपश्चात विस्तारै आँखा खोलिन् । मधु मैले रामवतीसँंग प्रेम गरिनँं । एक दिनको सम्पर्कपछि हाम्रो सम्बन्ध रहेन । तिमीलाई देखेपछि मैले कसैलाई हेरिंन । मैले संधै तिमीलाई मात्र माया गंरे, मैले गरेको भुललाई क्षमा गरिदेऊ । मधु म तिमीविनाको जीवन बाँच्न चाहन्न, तिमी घर हिंड । म तिम्रा लागि ज्यान फाल्न तयार छु । दुईजना छोरा सम्झेर हिंड । मधु बिस्तारै उठिन् । गौरवल् मधुलाई विवाह अघि भएको सम्बन्धलाई भुलको उपमा दिए । मधुको आँखाबाट आँसु बगिरहयो, गौरवले आँसु पुछिरहे । विहानको तीन बजे दुवैजना घर फर्के । गौरवले मधुलाई भुल भएको विश्वास दिलाए ।

घर आए, दुवै छोरा मस्त निन्द्रामा थिए । आमाको कोठामा बत्ती बलिरहेको थियो । मधुले गौरवलाई सोधिन् ! अव रामवतीलाई के गर्नुहुन्छ ? रामवती हाम्रो सानो समस्या हो, म त तिम्रो चिन्ता गरिरहेको छु । रामवतीलाई मिलाउने मैले सोचिसकेको छु, गाउँको खेतबारी रामवतीको नाममा पास गरिदिन्छु । रामवतीको छोरी के गर्नुहुन्छ ? गौरवले भने उसैले लैजान्छे ।

रामवतीकी छोरी म राख्छु । मधुको कुरा बीचमा काट्दै गौरवले भने रामवतीको छोरी नराख, अरूले उचालेको भरमा यहाँ आई । रामवती गलत पनि छैन । उसले आफ्नो अधिकार पाउनुपर्छ, रामवतीको छोरी म राख्छु । अरू सल्लाहपछि गरौंला भनेर दुवै जना सुते । गौरवको आँखामा निन्द्रा थिएन । मधु निदाइन् ।

बिहान आठ बजे मधुको आँखा खुल्यो । छोराहरू कोठामा थिएनन् । गौरवले चिया बनाएर ल्याए । मधु ओछयानमा सुतिरहेकी थिइन् । दुवै जनाले सँगै चिया पिए । छोराहरू कहाँ गए ? गौरवले आमासँग छन् भनेपछि ढुक्क भइन् । जुरुक्क उठेर वाथरुम गइन् फर्केर आएपछि रामवतीलाई बोलाउनोस् म मिठो कफी बनाउँछु भनेर भान्छातिर गइन् । कफी लिएर आउँदा गौरव रामवतीलाई बोलाएर अगाडि आइसकेका थिए । मैले जे भने पनि तपाईं चुप लागेर बस्नुस् है भनिन् । गौरवले सहमति जनाए ।

रामवती छोरी लिएर मधुको कोठा बाहिर आएपछि अडिई । मधु र गौरव सँगै बसेका थिए । रामवती बाहिर उभिएको थाहा पाएर भित्र बोलाइन् । रामवती छोरीको साथमा भित्र आई ।

मधुले रामवतीसँग छोरीको नाम सोधिन् जमुनाह नाम रहेछ । जमुनाह र रामवतीलाई सोफामा बसाइन् । प्रेमले ढुंगा त पग्लन्छ मधुलाई थाहा थियो । मधुले बिस्तारै रामवतीलाई सोधिन्– रामवती तेरो के विचार छ ? तैंले भनेको कुरा हामीले मान्छौं भन् भनेपछि रामवती झस्किई । मौन व्रत बसेझैं भई । एक्कासि मधुको प्रश्नको उत्तर दिन रामवती तयार थिइन । रामवतीले मधुलाई सोचेको भन्दा उल्टो पाएकी थिई । मधुले पुनः प्रश्न गरिन् रामवती तैंले चुप लागेर यति ढिलो भयो अब चुप नलाग तेरो मनमा के छ ?  

रामवती बिस्तारै बोली– मलाई न्याय चाहिएको छ ।  

कस्तो न्याय चाहियो ? तँलाई चाहिएको कुरा प्रष्ट पार । के चाहियो ? कति चाहियो ? मधुको कुरा सुनेर रामवतीले आफन्तसँग सल्लाह गरेर भन्छु भनिसकेपछि मधु उठेर दराज खोलिन् हजारहजारका दशवटा नोट रामवतीलाई दिइन् । दुई दिनपछि सोमवार एघार बजे आफ्ना मान्छे लिएर आउनु भनिन् । रामवतीले हुन्छ भनेर टाउको हल्लाई । जमुनाह तँ यहीँ बस रामवती भरे आउँछे । मलाई घरको काममा सहयोग हुन्छ । रामवतीले छोरीलाई सम्झाएर गाउँ जान हिँडी ।  

गौरव छक्क परेर हेरिरहेका थिए । मधुले गौरवलाई हेर्दै भनिन्–मलाई अरू पैसा चाहिएको छ । गौरवले हाँस्दै भने–पैसाको के कुरा ज्यान हाजिर छ । मैले भनेको कुरा राम्ररी सुन्नोस् । मलाई अहिले दुईतीन लाख चाहियो । गौरवले उठेर आफ्नो दराज खोल्यो । दुई लाख लेऊ बाँकी कति चाहिन्छ भन्नु म एटिएमबाट झिकौंला हुन्छ । मधुले गौरवको हातबाट लिएको रकम दराजमा राखिन् । हरिया कहाँ छ ? मधुको प्रश्नको उत्तर दिँदै भने– फ्याक्ट्रीमा छ बोलाउनुपर्छ । भनेपछि फोन गरेर बोलाए । आधा घण्टापछि हरिया आयो । मधुले हरियालाई आफ्नो कोठामा बोलाइन् । हरिया तिम्रो बिहे भएको छ कि छैन ? छैन मालकिन् । मधुले फेरि सोधिन् किन नगरेको ?  

घरमा दुई जना बहिनी बिहे नगरी बसेका छन् । तिनीहरूको बिहे खर्च जुगाड भएको छैन । बाउआमा मरिसके । कमाउने एक्लो म छु । कति पैसा पायौ भने बिहे गर्छौ ?

मालिक्नीसँग के ठग्नु मसँग पैसा बच्दैन । गरीब मान्छेले .....म तिमीलाई चार लाख दिन्छु । मैले भनेको मान्छौ ?

हरिया छक्क परयो । उसलाई लाग्यो मालिक्नी बहुलाएकी त छैनन् ? उसले चारैतिर हे¥यो । मनमा नराम्रा विचार आयो । ऊ डराएजस्तो भयो । मधुले बिस्तारै भनिन्– हरिया तिमी रामवतीलाई फकाएर बिहे गर, म तिमीलाई चार लाख दिन्छु । तिम्रो बहिनीको बिहे खर्च पचास हजार अरू थपिदिउँला ।

हरियाले सबै कुरा बुझ्यो । मालिक्नी म रामवतीसँग बिहे गर्छु तर रामवतीकी छोरी जमुनाह कसले पाल्छ ?

जमुनाह तिमीले पाल्नु पर्दैन । रामवतीलाई मैले सोमबार आफन्त लिएर आउन पठाएकी छु । एक घण्टा अगाडि गाउँ जान्छु भनेर गएकी छे । तिमी अहिले यो लिएर जाऊ बाँकी काम भएपछि दिन्छु ।

हरिया गौरवको घरबाट निस्क्यो । हरियाको उद्देश्य रामवतीलाई खोज्नु थियो । पहिलो फिलिम हल गयो दुई वटा फिलिमको टिकट किनेर हटियातिर गयो । हटियामा दुई चक्कर लगायो । रामवती देखेन । बुधनीसँग भेट भयो । हरियाले रामवतीलाई हटियामा देखेको छौ भनी सोध्यो । बुधनीले रामवती कृष्णे साहुको कपडा पसलमा छे भनिदिई । हरिया हतारहतार कृष्णे साहुको कपडा पसलमा गयो । रामवती सारी छान्दै थिई । हरिया पनि सारी छान्न थाल्यो । हरियाले रामवतीलाई कसलाई सारी किनेको भन्यो । रामवतीले आफैंलाई किन्न लागेको भनी । हरियाले मलाई पनि छानिदेऊ भन्यो । रामवतीले दुइटा सारी किनी । हरियाले एउटा सारी किन्यो । चोलो र पेटीकोट किन्यो । हरियाले रामवतीलाई तँ यहीँ बस्छेस् होला म त गाउँ जान्छु भनेपछि रामवतीले म पनि जान्छु, तेरो साइकिलमा लान्छस् भनेपछि हरियाले हुन्छ भन्यो । रामवतीलाई होटलमा लगेर सिँगडा छोयला ख्यायो । चिया पनि खान्छेस् भनेर सोध्यो । रामवतीेले हुन्छ भनी । दुवै जनाले चिया पिएपछि हरियाले बिस्तारै जाल फिँजाउने विचार ग¥यो । रामवती राम्रो फिलिम चलेको छ । मसँग दुइटा टिकट पनि छ । फिलिम हेरेर मेरो साइकिलमा घर जानुपर्छ । रामवतीले आज जान्न भनी । हरिया मान्नेवाला थिएन । फकाएर छाड्यो । दुवै जना फिलिम हेर्न गए । फिलिम हेर्दा मध्यान्तरमा हरिया बाहिर निस्क्यो । टेलिफोनबाट  सबै कुरा मधुलाई भनेर आज म रामवतीलाई छाड्दिन भनेर फोन राखिदियो ।

हरियाले फोन राखेपछि मधुले गौरवलाई फोन गरेर घर आउन भनिन् । गौरव घर आएपछि सबै कुरा गौरवलाई भनिन् । मधु र गौरव प्रहरी कार्यालयमा गई सारी चोलो किन्न जान्छु भनेकी रामवती घर नफर्केको जानकारी दिए । हराएकी रामवतीको फोटोसहितको निवेदन दिएर फर्के । रामवतीको फोटो हातमा लिएर प्रहरी गस्ती टोली निस्क्यो । नौ बजे फिलिम सकिएपछि साइकल पन्चर भएकोले हरियाले रामवतीलाई होटलमा बस्न राजी गरायो । होटेलमा खाना खाएर राति त्यहीँ बसे । राति बार बजे रामवती र हरियालाई लजको कोठाबाट प्रहरीले पक्राउ गरयो ।

 बिहान हरिया र रामवतीको गाउँमा सूर्यको किरण फैलिएसरी खबर फैलियो । गाउँले सबै प्रहरी कार्यालयमा आएर रामवतीलाई हरियाको जिम्मा लगाए । साँझमा हरियाको हातमा गौरवले दिएको चारवटा  हजार हजारका बन्डल दिए । चारपाँच दिनपछि मधुले थाहा पाइन् हरिया र रामवती गाउँ छाडेर अन्तै बसाईं सरेछन् । मधुले मनमनै सोचिन्– यो पैसाले मान्छेलाई जता पनि लैजाँदो रहेछ । जीवनको सुन्दर पल पैसाले किन्न सकिंदोरहेछ !

प्रकाशित: २ मंसिर २०७७ १०:२० मंगलबार

अक्षर