गोम विक्रम
१)
बिहान खाए साँझ के खाऊँ हुन्छ बरा सुन्तलीलाई
भोकै पर्छन् जहान यता, निमेक नगए तुल्बीरे दाइ
यिनको पनि घरमा दशैं, आउँछ सायद कुन्नि कसै
सबलाई आए हुन्थ्यो चाड, उस्तै खुशी उस्तै हँसाइ ।
२)
जीवन कति स्वर्गीय छ, बतिलै कहाँ थाह हुन्छ,
हुर्किँदै जाँदा परिवेशले, बिस्तारै बुझ्ने चाह हुन्छ ।
कति जिउँदै मरेका छन्, कति अकाल परेका छन्,
पुण्यको नाउँमा पाप कर्म, अझै बालविवाह हुन्छ ।
३)
कति जीवन बन्धकी छ, सिन्की खोलेमा नून लाउन,
तिनकै पसीना चुस्ने बरू, सक्षम भए सुन लाउन ।
न त कहिले रस पाइने, न त कसैको जस पाइने,
अलिक गाह्रो लाग्छ अचेल, बैगुनीलाई गुन लाउन ।
४)
देशको सारा अभिभारा, सानामा मात्र टाँसो देख्छु,
सक्नेहरूको जता पनि, केवल धनमा चासो देख्छु
चाहे जस्तो छैन शासन, न त चाहे जस्तो जीवन,
आँसु टुट्दैन निमुखालाई, ठूलाबडामा हाँसो देख्छु ।
५)
जलन घट्ने होइन कबै, चर्किरहेका छातीहरूको
रडाको ठूलो सुनिदैछ, झन्–झन् विश्वासघातीहरूको
घुम्ने मेचमा अन्धा मान्छे, उच्च पदमा बहिरा मान्छे,
हालीमुहाली सधै उस्तै, बढ्दैछ खुराफातीहरूको ।
प्रकाशित: २ मंसिर २०७७ ०८:३४ मंगलबार