जेठानी मन दुखाउने नियतले बोल्थिन्, ‘शान्ता , वर्ष दिनको चाडपर्वमा त्यसै बस्नु हुँदैन । तिम्रो माइतमा ढोका लागे पनि हिँड् न मेरा माइतमा जाऔं ।’
उता माइतमा भाउज्यू गनगनाउँदै थिइन् , ‘हाम्रा लागि उनी मरिन् । मेरो भाइ हुँदाहुँदै सुटुक्क अर्कैसित हिँड्नेको मुख कसरी हेर्नु ! मैले सोल्टासोल्टीनीको जोडी मिल्छ भनेर कति बल गरें । त्यस्तीलाई केको चासो, केको गुनासो !’
दाज्यू भाउजूको पुच्छर हल्लाउँथे, ‘रिसले अन्ध भएको छु म । अहिले यहीँ भएको भए मैले के गर्नुपर्छ जानेको थिएँ ।’
मैले उनलाई भगाएर लाएपछि माइतमा बोलाएको थिएन । मलाई बर्सेनि चाडपर्व घाँडो लाग्थ्यो । उनी एकान्तमा बसेर धुरुधुरु रुन्थिन्।
म सम्झाउँथे, ‘नरोऊ सानू, रोएर केही हुनेवाला छैन ।’
उनी मसित निकै खुल्थिन् , ‘रोएर भए पनि मन बुझाउँछु म । रुँदा कति मन हलुको हुन्छ मेरो ।’
– दिज्यू, यसपालि त तिहारमा जसरी भए पनि आउनुपर्छ है ।
– कान्छी , म भदा लिन पठाउँछु है । रिसको आवेगमा आँखै देखिएन । अहिले पछुतो लाग्छ । जे भए पनि आउनु है ।
– आफ्नो भनेको आफ्नै हुन्छ । जे भए पनि माइत जाऊ है कान्छी ।
धेरै वर्षपछि दाजुभाउजू, जेठानी सबैमा नाटकीय परिवर्तन देखियो ।
शान्ताले गम्भीर भएर प्रतिक्रिया दिइन्, ‘मैले मेरो नगरपालिका प्रमुखको प्रमाणपत्रको फोटोकपी पठाउँदै छु । हो , त्यही फोटोकपीसित यसपालिको ऐतिहासिक दिपावली मनाउनु होला । मेरो सबैलाई हार्दिक शुभकामना !’
प्रकाशित: २८ कार्तिक २०७७ ११:४७ शुक्रबार