कला

फेसबुके प्रेम

लघुकथा

त्रिलोचन ढकाल

 

– बाबा मलाई यही केटासँग विवाह गरिदिनुपर्छ । हेर्नुस् त फोटो कति राम्रो । कस्तो हृष्टपुष्ट । नामजस्तै विशाल । कति मायालु आँखा ।

– तिमीले कसरी चिन्यौं  सरस्वती छोरी !

– फेसबुकमा भेटेको बाबा । कुरा गर्दागर्दै गहिरो प्रेम बस्यो ।

– परिवार पनि हेर्नु पर्यो । जातपात के हो । पढाइ कति छ । जागिर के हो । सबै बुझ्न पर्यो नि छोरी ।

– केही बुझ्नु पर्दैन बाबा । मैले सबै बुझेकी छु । ऊ दुवैमा जागिरे छ । मेरो उसँग गहिरो  प्रेम छ ।

– यसरी पनि विवाह हुन्छ त छोरी ! अन्धो प्रेमले त धोका दिन्छ नि ।

– मेरो विवाह यही हिरोसँग गर्दिनुपर्छ । नत्र मैले आत्महत्या गर्दछु ।

भनेको केटासँग विवाह नगरिदिँदा धेरै युवतीहरूले आत्महत्या गरेको सुनेको थियो उसले । ऊ डरायो । छोरीको जिद्दिले उसलाई झुकाइदियो अनि त्यही केटासँग विवाह गरिदिने निर्णय गर्यो ।

– बोलाऊ त छोरी विशाललाई ।

विशाल आइपुग्यो । बाउले एकान्तमा बोलाएर सबै सोधखोज गरे । अनि विवाह गरेर पठाइदिए । 

उनीहरू सुहागरात मनाउन बन्दीपुर पुगे । दिनभर पहाडकी रानीको अङ्गप्रत्यङ्गमा छामछामछुमछुम गरे । सेरोफेरोको दृश्यावलोकन गरे । साँझमा बास बस्न रिसोर्टमा कोठा रिजर्भ गर्नु स्वाभाविक थियो । कोठाभित्र प्रवेश गरेपछि विशाल नुहाउन बाथरूममा पस्नु अस्वाभाविक भएन । कपडा खोलेर बाथरूमभित्र पस्यो । उसले कपडा खोल्दा कमिजको खल्तीभित्र रहेको  नागरिकताको प्रमाणपत्र भुईमा खसेछ । सरस्वतीले उठाएर पढिन् । त्यहाँ त नाम विशाल विश्वकर्मा लेखिएको रहेछ  । अनि उनी आत्तिइन् र बाबुलाई फोन गरिन्– बाबा यिनी त विश्वकर्मा रहेछन् नि । म भागौँ !’

– नआत्तियौं  छोरी, मलाई यो सब थाहा थियो । मैले उनको पूजा गरेको छु । अब उनी ब्राह्मण भए ।

प्रकाशित: २८ कार्तिक २०७७ ११:२२ शुक्रबार

अक्षर