कला

जून र केटाकेटीको अनुहार उस्तैउस्तै लाग्छ

कविता

 हरि कट्टेल 

 

रोपेर फुलवारीमा घडी फूल  

ढक्कमक्क फुलाउँछन्  

केटाकेटीहरू ।

फुलाएर गोदावरी

रंगीन पुतलीहरूलाई  

फूलवारीम‌ै बोलाउँछन् केटाकेटीहरू

जब  हुन्छु  म  फूलबारीछेउ

मलाई केटाकेटी र फूल छुट्याउन  मुश्किल पर्छ ।

 

मलाई जून र केटाकेटीको अनुहार उस्तैउस्तै लाग्छ  

कहिल्यै धितै नमर्ने  हेरेर  

न त जाडो न त गर्मी  

दुवैले  छर्छन् मलिन ज्योत्स्ना उसैगरी  

कहिलेकाहीँ त म  

जून देख्दा केटाकेटी र

केटाकेटी देख्दा जून भन्दो रहेछु।

 

बिहानै  मिर्मिरेमा  चरीले  चिरविर गर्दा  

तिनै केटाकेटीहरू सम्झन्छु ।

चारपाथे ठेकीमा नेतीले घार्रघुर्र  बनाउँदा  

तिनै केटाकेटीहरू सम्झन्छु ।

लाग्छ केटाकेटी नभए  

नआउँथे यी पुतलीहरू ,

न गाउँथे चरीले गीत ।

केटाकेटीबाहेक  कसले पो लाउँदो हो र चरीको जस्तै  प्रीत  

क्यालेन्डरका पन्नामा  

जब देख्छु दशैँ – तिहारको मास

तिनै केटाकेटीहरू सम्झन्छु  

लाग्छ नभए केटाकेटी  

न मच्चिन्थे यी पीङ  दलिनमा  

न आँगनीमा  गुञ्जन्थ्यो भैली ।

 

देख्छु  

बजारको चटकेले  झैँ चटक गर्छन् केटाकेटीहरू  

र बनाउँछन्  छुट्टै  जादुमय संसार एकैछिनमा  

एकाएक इन्द्रप्रस्थझैँ  बनाउछन् कल्पनको राज्य  

र गर्छन् रामझैँ शासन एकैछिनमा  

केटाकेटीहरू बनाउँछन् घर बन्दिलो

र भत्काउँछन् फेरि एकैछिनमा

एउटा कुराचाहिँ सुटुक्क सोध्न मन छ  

यिनलाई  

बनाउन त दलिनको गौँथलीले सिकायो घर

कसले सिकायो तिमीहरूलाई भत्काउन हँ ।

प्रकाशित: २८ कार्तिक २०७७ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App