कला

उपहार

लघुकथा

अप्सरा भट्टराई  

 

नातिनिले मलाई सधैँ  सोध्ने गर्थीन्  , ‘हम्मा हजुरको बर्थ डे कहिले !’

मैले  जिस्कदैँ  भनेकी थिएँ, ‘ दर खाने दिन  नानु !’  

उनले भनिन्, ‘प्लिज म पनि  खाने नि  दर । ’

मेरो जन्मदिनमा  खुवाउाछु हैँ  त भनेर फकाएकी थिएँ   ।

घरमा सधैं हामी नातिनी बजू मात्रै  हुन्थ्यौं । उनी कहिले  भित्र र बाहिर दौडन्थिन्  भने कहिले कोठामा  गएर   खत्र्याकखुत्रुक्क गर्दै खेल्ने गर्थिँन्  । उनी  खेलेको बेलामा म  पनि मौकामा चौका छोपिहाल्थें  र लेख्न बस्थें   । मलाई व्यस्त देखिन भने उनी पनि चूपचाप  मेरो छेउमा आएर  प्रायः चित्र कोरेर बस्थिन् ।

घरका  अरू सबै जना आआफ्नो  काममा जान्थे ।

यसरी नै हाम्रो समय बितिरहेको थियोे । घुम्दैफिर्दै फेरि एक वर्षमा  तिज आयो।

घरमा दर खाने  दिन  थियोे ।म विभिन्न  परिकार पकाउन थालेँ  । मेरी पाँच वष्र्रकी नातिनी आफ्नै धुनमा चित्रमा रंग भरिरहेकी  थिइन्  । चित्र बनाइसकेर मलाई देखाउदै सोधेकी थिइन्, ‘कस्तो  छ हम्मा !’

म हतारमा  थिएँ  । खासै ध्यानै नदिई  भनिदिएँ, ‘आहाँ  कति  राम्रो !’ 

हामी दुवै आआफ्नो काममा  व्यस्त भयौं। साझँपख  ढोकामा टकटक  आवाज सुनेर  हत्त न पत्त  नानीले ढोका खोलिन् । मामुको हातको प्याकेट लिइन्  र सबैको कानमा कानेखुसी गर्दै थिइन् ।

म किचनमा  पसें ।  खाजा लिएर आउँदा बर्थडे  लेखिएको केक  र केही  मिठाईहरू  टेबलमा  सजाइएको देखेर म टवाल्ल परें ।  सबैले लय मिलाएर  प्रमोद खरेलको गित  गाउँदै थिए मतिर हेरेर,    आज तिम्रो जन्मदिन  ! जन्मदिनको शुभकामना, आमा !

नातिनीको अनुरोधमा खुशी हुँदै  केक काटें । नानीले एउटा खाम दिइन रंगले लत्पतिएको चित्र  थियोे । त्यो देखेर  सबैले जिस्काए ।

उनले मलिन अनुहार पार्दै मलाई  एकनि है भनिन्  र दौडेर आफ्नो  कोठामा   गइन् । आउँदा एक हातमा  खुत्रुके , अर्को हातमा  चित्र थियोे। मेरो अगाडि आएर खुत्रुके प्वाट्ट फोडिन्।

हामी सबैले  किन  फुटाएको भनेर गाली गर्यौं । यो मेरो  हो  भन्दै सबै पैसा प्लेटमा  खन्याइन्  र  मायालाग्दो गरी भनिन्, ‘ मैले  रंग  नसुकी चित्र पटयाएकी थिएँ ।  त्यसैले रंग पोतिएर कोरोनाजस्तो देखियो । मैले जानेर बनाएको हैन हम्मा !’

म सानी छु मावल जान  पनि सक्दिनँ ।  राम्रो नाना किनेर लगाउनुस् है  भनेर  खुद्रा  पैसाले भरिएको प्लेट र चित्र मेरो हातमा राखिदिँदै  ह्यापी बर्थडे हम्मा भन्दै  मलाई  अँगालो मारिन्  र म्वाई खाइन् ।

मेरा आँखा भरिए  निशब्द हुँदै  कागज खोलेँ   – बज्यैको काखमा  नातिनी हाँसेर सुतेको सुन्दर चित्र  उपहार थियो ।

प्रकाशित: २७ कार्तिक २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App