रमेशचन्द्र अधिकारी
दुःखी छु बाबु
के सुनाऊ र खै !
टालेर पनि फाटेको
आफ्नै जीवनकथा ।
गाउँभरिका मान्छेहरूको माजीहडाम
म
सबैले मान्ने, जान्ने बुझ्ने ।
झगडा मिलाउनु,
सबैको नाइके बनिनु,
मेरो काम ।
सम्झिदा पनि पोलेर आउँछ !
मेरो पुर्खौली हक
माजीहडाम खोसिएको छ आज ।
दारा र नंग्रा झाँरिएको सिंहको झैं
।
म कानु सतार
पुर्खाहरूको नासो गुमाएर
नायकत्व खोसिएको जीवन जिउँदैछु ।
असक्षम ठहरयायो सबैका सामु
आफ्नै पारानीले मलाई
र छिन्यो मेरो माजीहडाम ।
बाबुको क्रियाको बेला
मन्जिथानमा जाड पनि मैले
चढाएकैथे,
देवी काली फकाउन,
मराङ बुरु रिझाउन
गाउँमा दुःख नपरोस् भनी
परेवा, सिन्दूर, केरा चिनी
पनि चढाएकै हुँ,
पत्ता पूजा, एउरो पूजा,
हडियार पूजामा पनि
नाच नचाएकै हुँ ।
सबै गाउँलेलाई झारखण्ड थानमा लगेर
अलुवा, चिनी, केरा पनि
दिएकै हो देउतालाई ।
सोराहीमा जाँड बनाई
सबैलाई खुवाएकै थिए ।
कसम बाबु !
चुड्कीको बाउलाई चुङनाको
दुई घ्याम्पा जाँड र मासु
पनि बुझाएकै हो ।
विहेमा दुवैका घरमा
पेन्चु बूढा र पेन्चु बूढीको
पुत्ला पनि झुन्डयाएकै हो ।
छोरा जन्मिँदाको खुसीमा
फेरि सबैलाई भोज खुवाएकै थिए
दुर्गिन बूढीलाई खुसी बनाएकै थिए ।
दिवी मनाएर दशाएँ नाच
पनि नचाए
तर खै !
मानभाउ पुगेन कि !
किन रिसाए ?
म माजीहडाम खोसिएको
कानु सतार
मराङ बुरु देउता
आउने बाटो हेरिरहेछु
भेट्नेबित्तिकै खुट्टा समातेर
ढोग्नेछु र सोध्नेछु
मैले कहा बिराए ?
(नोट – माजीहडाम भनेको सतारहरूको नाइके)
प्रकाशित: २७ कार्तिक २०७७ ०७:०१ बिहीबार