कला

घमण्ड

लघुकथा

जितेन्द्र रसिक

 

 उमा घमन्डका साथ सधैं शर्मिलालाई भन्ने गर्थिन्, ‘हेर न मेरो बूढा त क्या सरिफ छ । क्या भलाद्मी छ । अरूको जस्तो न जाँडरक्सी नै खान्छन् न परस्त्रीमाथि कुनजर नै लगाउँछन् । मलाई यतिविघ्न माया गर्छन् कि भुईंको माटो नै लाग्लाझैं गर्नुहुन्छ । उहाँजस्तो श्रीमान् पाउन त अरूले सात जुनीको तपस्या नै गर्नुपर्छ ।’

शर्मिलाले भनिन्, ‘हुन त मेरो बूढा पनि तिम्रोभन्दा कम्ती छैन क्या ! अलिकति पिउने बानी भएर मात्रै हो तर तिमीले जे भन पुरूष मान्छेहरूको मनमा पस्नचाहिं गारै पर्छ क्या !’

‘तर मेरो बूढा त्यस्तो हुनु हुन्न म विश्वस्त छु ।’ उमाले भनिन् ।

केही महिनापछि पत्रिका बेच्दै हिँडिरहको हकर कराउँदै आयो, ‘लल ताजा खबर ! होटलमा प्रहरीले छापा मार्दा दुई जोडी महिला र पुरुष निर्वस्त्र पक्राउ ।’

छापिएको ठूल्ठूला फोटामा उमाकै श्रीमान् र परस्त्री थिए । 

प्रकाशित: २६ कार्तिक २०७७ १०:२७ बुधबार

अक्षर