कला

दसैँको घाम

कविता

प्रभात राई चिसो 

 

एउटा अलच्छिना समयको आँधीले

अनिश्चितताको किनारभरि छरिदिएको

छरपस्ट अव्यवस्थाको थुप्रो कोट्याउँदै  

जिन्दगीले खोजिरहेछ  

आफ्नो हराएको अनुहार।

 

एउटा महामारीको अन्धकारमा  

सङ्क्रमित मन बोकेर  

दिग्भ्रमित छ जीवन।

 

तर बिस्तारै

यो अघोषित युद्धमा

घाइते जीवनका चोटहरू

सुमसुम्याइरहेछ समयको हत्केलाले।

 

यसै क्रममा  

दसैँको घामका किरणहरूले चियाइरहेछ्न्

रित्तो खल्तीको अँध्यारोमा।

 

यो साल जिन्दगीले दसैँको घाममा

मनग्गे आङ सेकाउन पाउने छैन

तर त्यसको न्यानोपनमा  

फेरि उठने जमर्कोहरू सलबलाइरहेछ्न्।

 

जीवनको यही हठीपनमा

कायल छन् सम्भावनाहरू।

 

कुनै चट्टानको कापबाट  

जबसम्म एउटा फूलले  

जीवनको शङ्खघोष गरिरहनेछ  

तबसम्म मान्छेले जीवन र मृत्युबीच  

सिमाना कोर्ने दुष्साहस गरिरहनेछ।

प्रकाशित: २६ कार्तिक २०७७ ०८:३३ बुधबार

अक्षर