कला

चोटिलो साइनो संग्रह ‘ब्रह्माण्ड साइनो’

पुस्तक जगत्

छायादत्त न्यौपाने ‘बगर’

 

निपुण छु मान्छे म

औंसीको पूर्ण चन्द्रमा

विलासमुखी दर्शनमा ।

नेपाली साहित्यको काव्यविधा कविता सिर्जनामा रमेका स्रष्टाको नाम हो हरिप्रसाद चौलागाईं । माता अन्नपूर्णा र पिता जगन्नाथका सुपुत्र हरिप्रसाद चौलागाईंको जन्म विसं.२००९ काभ्रेमा भएको हो । साहित्य सिर्जना र समाजसेवामा क्रियाशील स्रष्टा चौलागाईंले सातौं कृति दब्रह्माण्ड साइनो लघुकविता संग्रह प्रकाशनमा ल्याएका छन् । चौलागाईं मूलतः कवि, बालकवि त्यसपछि नियात्राकारको रुपमा परिचित छन् । उनका रचनाले समाजमा व्याप्त समसामयिक विषय टिपेको पाइन्छ । उनी शास्त्रीय, सवाई, बाललयमा रचना गर्न रुचाउँछन् । रचनाहरूले चौलागाईंलाई नेपाली भाषा संस्कृति भनेपछि हुरुक्क हुने निजी वैशिष्ट्य भएका स्रष्टा भनेर चिनाउँछन् । सामाजिक न्यायको पक्षमा कलम चलाउने मानवीय संवेदना भएका सर्जक चौलागाईं व्यक्तिगत व्यवहारमा सरल, इमानदार, नैतिक मूल्यबोध भएका परिपक्व स्वभावका कवि हुन् ।

ब्रह्माण्ड साइनो

धेरैजसो साहित्य स्रष्टाहरूभैं हरिप्रसाद चौलागाईंको लेखन प्रकाशन पनि कविता विधाबाटै आरम्भ भई अघि बढेको देखिन्छ । उनको प्रथम प्रकाशित कृति आँसु, आँसु र आँसु(२०६७) शोककाव्य रहेको छ । पछिल्लो समय चौलागाईं नेपाली भाषाबाट सुरु भएको र सिंगै काव्यको कान्छो विधा साइनो सिर्जनामा लागिपरेका छन् । सात, आठ र नौ अक्षरी त्रिपदीय शब्द गुच्छाको संरचनास्वरूप भएको साइनो नाम तथा संरचनाका दृष्टिले विशुद्ध नेपाली मौलिक विधा भनेर चिनिएको छ । विसं.२०७६ सोह्र गते साउन अनुहार (फेसबुक)किताबमा टाँसेपछि लेखन तथा विधागत चिनारीसहित साइनो प्रचारमा आएको हो । यसको लगत्तै पछि स्रष्टा चौलागाईंले २०७६ भदौ अन्त्यतिरबाट यो कविता लेखन आरम्भ गरेको देखिन्छ । यस दस÷एघार महिने छोटो सिर्जन यात्रावधिको निरन्तर साधनाले उनलाई साइनो विधाको पुस्तक प्रकाशन गर्ने सिप र जाँगर दुवैको संयोग साइनोको जन्मदिनकै दिन सार्वजनिक गर्ने गरी जुराइदिएको हो । यो अवसरले साइनोप्रेमी हामी सबैलाई गौरवबोध गराई विधा संरक्षण÷संवर्धनमा समेत उच्च योगदान गरेको छ । यस्तै अभिरुचिका साथ लागिपरेको सर्जक चौलागाईंको अग्रसरताले साइनोलाई जीवन्तता प्रदान गरेको छ । कविताको पछिल्लो उपविधा भएकाले लय, अलंकार, अनुप्रास आदि काव्यतत्त्वले साइनोलाई पनि सिँगारेको हुन्छ । चौलागाईंका साइनोहरू यिनै संरचनागत मान्यतामा रही रचिएकाले यी रचनाले विधागत पहिचानका लागि पनि विशेष भूमिका निर्वाह गर्नेछन् ।

जेष्ठ नागरिक जीवनयापनको चरणमा आइपुगेका चौलागाईंको साइनो लेखन तथा यसको संवद्र्धनमा देखिएको रुचि लगाव र प्रतिबद्धता अनुकरणीय रहेको पाइन्छ । उमेरले अग्रज भएर पनि उनले सिर्जनामा देखाएको युवासरहको जोस र सक्रिय संलग्नताले अरू स्रष्टाहरूलाई समेत उत्प्रेरित गरिहेको छ । उनले साइनोमा समसामयिक सामाजिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय जीवनमा देखिएका कथाव्यथालाई विषय बनाएको पाइन्छ । प्रकृति र जीवनको सन्तुलन राखेर सिर्जना गर्ने स्रष्टाका रूपमा चौलागाईंको उपस्थिति महत्त्वपूर्ण रहेको छ । 

हेरौं दुइटा साइनो –

 

हाँसिदिन्छ प्रभात                       जितेर हार्छ धन

फक्रिएको हिउँपूmल                     हारेर जित्छ सिर्जना

शिशिरको उपहार यो । चौलागईं         ढल्छन् दम्भी स्मारकहरु । चौलागाईं

जम्मा चौबिस अक्षरे त्रिपदीय संरचनाका प्रत्येक पदले स्वतन्त्र अर्थ र तीनवटैको एकमुस्ट अर्थ दिनु साइनोको मूल पहिचान रहेको छ । देशलाई सम्मान गर्नु, प्रकृतिलाई सुमसुम्याउनु, प्राणीजगतको सहअस्तित्वको वकालत गर्नु, मान्छेको स्वाभिमानमा आँच आउन नदिनुजस्ता विशेषताले चौलागाईंका साइनोहरू पठनीय, मननीय र सङ्ग्रहणीय सामग्री बनेर अगाडि आएका छन् । यस ऐतिहासिक असल कर्मका लागि स्रष्टा चौलागाईंलाई हार्दिक बधाई दिँदै उनीबाट आगामी दिनमा अझ उत्कृष्ट साइनोहरू सिर्जना हुँदै जानेछन् जसबाट नेपाली साहित्यको नयाँ आयाम अरू सशक्त बन्दै जानेछ । चौलागाईंको सिर्जना साधना फक्रेर सुवासित हुँदैै जाओस् । हार्दिक शुभकामना !

नव सिर्जना सूत्र  

सिर्जनशील प्रतिभा

हरिप्रसाद चौलागाईं ।  

अन्त्यमा नेपाली मनमस्तिष्कले खोेस्रेर नेपाली माटामा उमारेको साइनो प्रवर्धनमा सहभागी भई साझा दायित्व पूरा गरौं भन्ने आग्रह गर्छु ।

प्रकाशित: २६ कार्तिक २०७७ ०६:१६ बुधबार

अक्षर