कला

म किन कृतघ्न भएँ हँ पद्मकन्या !

संस्मरण

खेमराज पोखरेल

 

काठमाडौँ मेरो बुताको कुरा थिएन । तर २०४७ सालमा म पोखराबाट विराटनगर सरुवा हुन त्रिवि मुख्यालयमा पुग्दा कर्मचारी प्रशासन महाशाखाका एक कर्मचारीले भनेका थिए – सर, किन विराटनगर सरुवा हुनुभएको ! काठमाडौँ पो सरुवा हुनुपर्छ त । राजधानी भनेको राजधानी हो । म बिनासहमति तपाईँलाई काठमाडौँमा सरुवा गरिदिऊँ ?

बाफ रे बाफ भएको थिएँ म । विराटनगरमा होलोखुकुलो जिन्दगी हुन्थ्यो । काठमाडौँमा सरुवा हुने मेरो चेत र आँट कहाँ हुनु र ! त्यसैले म विराटनगर सरुवा भएर  गएको थिएँ । विराटनगरमा १० वर्ष बस्दा म राजनीतिक रूपले सक्रिय भएको थिएँ । यसैको दुष्परिणाम बाध्य भएर म काठमाडौँ पद्मकन्या क्याम्पसमा सरुवा भएको थिएँ ।

पद्मकन्याका प्रारम्भका दिनहरू मेरा लागि विचित्र रहे । अनौठा रहे । काठमाडौँको परिवेश नै कस्तोकस्तो लाग्यो । सम्झिरहेको छु, सरुवा चिठी लिएर म पद्मकन्या क्याम्पसको कर्मचारी प्रशासन शाखामा पुग्दा शाखामा कोही थिएनन् । चिया बेला थियो कि ! क्याम्पस चिफको कोठाको ढोकाको नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो । बल्ल एकजना खनाल थरका पाका कर्मचारी देखापरे । उनले नै लगेर क्याम्पस प्रमुख चिरिकशोभा ताम्राकारसँग तोक लगाइदिए । क्याम्पसचिफ कुनै एउटा कार्यक्रममा डेनिस हलमा रहेछ । त्यसपछि आएर उनैले २ नं रजिष्ट्ररमा मेरो नाम चढाइदिए । मैले हाजिर गरेँ । ९ नम्बरको कोठा सहायक क्याम्पस प्रमुखको अफिस रहेछ । हाजिरी रजिष्ट्रर त्यहीँ राख्ने चलन रहेछ । म पनि हाजिर गरेर त्यही ९ नम्बरमा एकछिन बस्थेँ । तर कोही पनि मलाई सोद्धैनथे । म त समुद्रको पानीमा एक लोहोटा पानी थप जस्तो पो भएँ । तर एकप्रकारले हाइसञ्चो पनि भयो । लालाबाला थन्क्याउन, डेरा खोज्न यो थपुवा एक लोहोटा पानीको समयले खूब काम दियो ।

मलाई भने अचम्म लागेको थियो कि सर्वप्रथम भरतपुर जाँदा नचिनेका साथीहरूको ‘फलानो आउँदैछ’ भन्ने समाचार मात्रले पनि लर्कोले नै स्वागत गरेको थियो । धडाधड परिचय भएको थियो । बस्ने कता,  खाने कता आदिआदिको चिन्ता हुन्थ्यो साथीहरूलाई । बस्ने डेरा नै खोजिदिएर ठिक्क थियो । भरतपुरले यति माया गर्यो कि रमाएँ ।

पोखरामा पनि साथीहरू कहाँ, के, कता भन्न र सहयोग गर्न आइपुग्नुभएको थियो । डेरा खोज्नेदेखि लिएर अरू कुरामा पनि सहयोग गरिरहनुभएका थिए । विराटनगरमा पनि साथीहरूको रेस्पोन्स ज्यादै राम्रो थियो । कहिल्यै नभेटेका साथीहरू पनि एक आँतका जस्ता देखिन्थे । सरसहयोगका लागि तयार थिए । तर यो पद्मकन्यामा त कसैले केही नै रेस्पोन्स गर्दैन । मैले पनि चूपचाप हाजिर गर्ने र बाहिरिने नीति अपनाएँ । किनभने म पनि उच्छवासविहीन भएर नै पद्मकन्या पुगेको थिएँ । पद्मकन्यामा खासमा मैले आफ्नै डिपार्टमेन्टका साथी पनि चिनेको थिइनँ । हाजिर गर्ने ठाउँ देखिहालेको थिएँ । जागिर चलेकै थियो । आ के को खसखस !

म हाजिर भएको २२ दिन भएको थियो । हाजिर गर्यो, एकछिन बस्यो अनि डेरा गयो । यसरी बित्न थालेको थियो मेरो दिनचर्या । २२ दिनपछि मेरो हाजिरी खातामा एउटा चिट देखेँ । चिटमा लेखिएको थियो – खेमराजजी, तपाईँलाई बिएको युरोपको इतिहास र चाइना जापानको लोड दिइएको छ । फलानो समय र नं कोठामा गएर कक्षा लिनु होला ¬– अध्यक्ष निर्मलराम झा ।’ मलाई यो घटना निकै अचम्मलाग्दो लाग्यो । किनभने योभन्दा पहिले मिटिङ बसेर नयाँ आउने साथीलाई विधिवत् स्वागत गरेर अनि उसलाई अनुकूल हुने लोड दिने प्रचलन भोगेर आएको थिएँ । विषयवस्तुका हिसाबमा पनि चिन–जापानको इतिहास मैले विद्यार्थी जीवनमा कहिल्यै पनि पढेको थिएन । पढाउन त परै जाओस् । तर मैले त्यो चिनजापानको इतिहासलाई पढाएरै छाडेँ ।

म पद्मकन्या क्याम्पस सरुवा भएर आउँदा नै मैले वामपन्थी भइरहनुको लेउ छोडेको थिइनँ । प्रगतिशील प्राध्यापक संगठनको सदस्यतापत्र मैले लगेर त्यसबेलाका अध्यक्ष कमला अधिकारीलाई दिएको थिएँ । उहाँले यसो हाँसेझैँ गरी त्यो पत्र राख्नुभएथ्यो । तर केही सोध्नुभएको थिएन । यसरी पछिसम्म कसैले ‘चेइ’ नगरेको अवस्था रहिरह्यो । पछि यी कुराहरू व्यवस्थित हुँदै गए । पार्टीको लेबी तिर्न नसकेको हुनाले एमालेको पार्टी सदस्यता नवीकरण नभई ल्याप्स भएको थियो । पार्टी सदस्यताको जस्केलाबाट म पद्मकन्या पुग्दा नै म बाहिरिइसकेको थिएँ । यसरी लेउ बोकिरहनुको कारण थियो त्रिभुवन विश्वविद्यालयको परिपाटी । त्रिभुवन विश्वविद्यालयमा यो कित्ता वा त्यो कित्तामा नउभिई हेपिने हुन्थ्यो । पर्दा बोलिदिने कोही हुँदैनथ्यो । त्यसैले मैले स्वेच्छाले लेउ बोकेको थिएँ । 

काठमाडौँको यो हुलहालमा म त्यसै हराएँ । मोफसलमा जस्तो उठाउने र थेचार्ने यहाँ अलि कम हुँदो रहेछ । कसलाई फुर्सद ! तर सनैसनै मेरो बामपन्थी लेउ पातलो हुन थाल्यो । न मैले पार्टीमा सदस्यता नवीकरणका लागि रोइकराइ गरेँ, न मलाई पार्टीले आवश्यक ठान्यो । म त ‘कौन पुछे खेसडीका दाल’ भइसकेँछु । म सनैसनै राजनीतिको जस्केलाबाट निस्कन थालेँछु । थाहै नपाई म त पार्टीको पटाङ्गिनीबाट बाहिरिएँछु । यसले मलाई एउटा मनोवैज्ञानिक फाइदा भयो । मैले पार्टीका अपानि (अन्तर पार्टी निर्देशन) पढ्नु परेन । कुनै गुटको खुट्टा समाएर वैतरणी तर्न खोज्नु परेन । यसले मलाई ज्यादै शान्ति दिएको थियो । तर अर्को रमाइलो पक्ष के थियो भने वामइतर साथीहरू कडा वामपन्थी देख्थे मलाई । त्यो म नहिँडुञ्जेल बरकरार रह्यो । वामपन्थी साथीहरूलाई पनि म सजिलो भएको थिएँ । किनभने म कुनै पद, प्रतिष्ठा तथा अवसरको आकांक्षी थिइनँ । मैले प्रगतिशील प्राध्यापक संगठन पद्मकन्या क्याम्पस एकाइका अध्यक्ष फडीन्द्र राज निरौला सरलाई प्रष्टै भनेको थिएँ कि मलाई कुनै पदमा नियुक्तिका लागि वल नगरिदिनुहोस् । यो पदको आशय भनेको क्याम्पसभित्रको पद थियो । 

कक्षा प्राय १०÷११ तिर हुन्थ्यो । मेरो कक्षा अघि वा पछि पुष्पा गर्तौला म्याडमको कक्षा हुन्थ्यो प्रायः । हामी एक अर्कालाई पर्खेर क्यान्टिनबाहिर बाटाको डिलमा बसेर प्राय सधैँ कालो चिया पिउँथ्यौँ । घण्टौँ बस्थ्यौँ । काठमाडौँ माइती भएकी पुष्पा म्याडममा काठमाडौँलीपनको गन्ध थिएन । सरल । अति सरल । तर पछि विद्यार्थी हुन छाडेपछि भने त्यो चिया पिउने सम्झना पनि इतिहास भएको थियो । विद्यार्थीहरू हेर्दा हेर्दै शून्ग भएका थिए । प्राध्यापक पनि अनिवार्य अवकास पाएर हिँड्दै गरेको अवस्था थियो । खासमा भन्ने हो भने अनिवार्य अवकास पर्खनु नै जागिर थियो । पढाउनबाहेक अरू अनुसन्धान गर्न न त हुति नै थियो । न त अवसर नै थियो । हुने गरेका अनुसन्धान पनि ‘कट एण्ड पेस्ट’ मार्का हुन्थे । आफ्नो कक्षा लिएर राजनीतिक लौरो दह्रो समाएपछि जागिरको जँघार सजिलै तरिन्थ्यो । अनुसन्धानको ‘अ’ नगरेका पनि प्राध्यापक हुने चलन थियो त्रिविमा । म हिँड्ने बेलासम्म इतिहासका प्राध्याक घटेर विद्यार्थीजस्तै बिलाउन थालेको थियो ।

पछि त इतिहास विषयका सबै साथीहरू निकै रमाइला र सहयोगी भएको पाएँ । शारदा जोशीले मसँग दिदीको भूमिका पूरा गर्नुहुन्थ्यो भन्ने अनुभूति हुन्थ्यो मलाई । अन्तरङ्ग बन्नुभयो डाक्टर नारायण सङ्ग्रौला । हिँड्ने बेलामा सारथी बन्नुभयो डाक्टर बमबहादुर अधिकारी ।

पद्मकन्या क्याम्पसमा म २०५७ सालको कात्तिकदेखि जागिर नछोडुञ्जेल २०७४ सालको असार मसान्तसम्म बसेँ । पढाएँ । २०५७ सालमा म जाँदा इतिहास विषयमा २० जति विद्यार्थी थिए । त्यो बेला फंक्सनल विषय इतिहासमा पर्यटन र विकास थियो । २०५८ मा मैले त्यो पढाएँ । किनकि त्यो विषयको पुस्तक म र गोविन्दमानसिंह कार्की मिलेर लेखेका थियौँ । त्यो विषयमा ४० जना जति विद्यार्थी थिए । म अमेरिका गएँ २०५९ सालमा । करीब ५ वर्ष बसेर फर्केर आउँदा इतिहासमा विद्यार्थी शून्य भइसकेको रहेछ । २०६४ सालमा म अमेरिकाबाट फर्केर पद्मकन्या पुगेर आइए दोस्रो वर्षमा ३ जना विद्यार्थी पढाएँ । त्यसपछिका दस वर्ष कक्षा कोठामा नपसी जागिर खाएँ । प्रमोसन यही बेला भयो । यो प्रसंग भन्दा मलाई हीनताबोध हुन्छ । यो कुरा हल्ला र अयथार्थ तिलस्मी तत्त्व मन पराउने नेपालीका लागि विरोध गर्ने राष्ट्रवाद भएको छ तर आफूले भने जागिर छोडौँ हातमुख जोर्ने त्यही जागिर थियो । लालाबालाको मुखमा माड लाउने त्यही थियो । त्यसकै नाममा सम्पूर्ण बलबैँस बिताएको थिएँ । सुरुका दिनमा पढाएको सम्झँदा भने अहिले गौरव अनुभूति हुन्छ । लगाएको रंगीन कोट चकको सेतो धूलाले सेताम्य हुन्थ्यो । कक्षामा १०० भन्दा बढी विद्यार्थी हुन्थे । सुन्तले केस्रे चकलेट चुसेर मुख रसिलो पारेको मैले बिर्सेको छैन । टिबीको बिरामी बोकेर डाक्टरले धूलो, धुवाँबाट बच्नु भनेको पनि बिर्सेको छैन ।  

एकदिन, नपढाई के जागिर खानु भनेर राजीनामादिने मुडमा कलेज पुगेको थिएँ । चाँडै स्वर्गवास हुनुपर्ने रहेछ प्राडा जयराज पन्त सरलाई । उहाँ अलि परिपक्व हुनुहुन्थ्यो जस्तो लाग्दथ्यो मलाई । मैले जागिरबाट राजीनामा दिने मनसायका साथ एक निवेदन पनि लेखेको थिएँ । मेरो नपढाई खाएको मानसिक अवस्थाबारे मैले उहाँलाई बताएको थिएँ । आफ्नो मनोदशा राखेको थिएँ । उहाँले भन्नुभएथ्यो – ‘विद्यार्थी भएर पनि नपढाएको भए पो तर विद्यार्थी नै नहुनु तपाईँको गल्ती होइन नि । अनि किन जागिर राजीनामा दिएर बिल्लीबाठ हुने ।’

मलाई उहाँको यो कुरा ठिक लाग्यो र मैले राजीनामापत्र च्यातेर डस्टविनमा हालिदिएँ । पछि आफ्नो अनुकूल नहुञ्जेल राजीनामादिइनँ । तर जब मेरो अवस्था अलि सुध्रियो अनि मैले जागिर ३ वर्ष बाँकी छँदै राजीनामादिए । राजीनामादिएपछि साथीभाइसँग विदावारी भएर हिँड्नु नै थियो ।

मैले पद्मकन्या बसुञ्जेल कसैसँग जोरी खोजिनँ । कसैको कामको चियोचर्चो गरिनँ । सबै विचारका साथीहरूसँग समभाव राखेँ । मलाई कुनै प्रशासक, प्राध्यापक, कर्मचारीहरूले भनिबिझाएको सम्झना छैन । डेमोक्य्राट विचारवालाहरूको बोलबालाको क्याम्पसमा प्रगतिशील निरीह हुनु स्वाभाविक नै थियो । तर पनि मलाई व्यक्तिगत रूपले केही नचाहिएकाले कुनै निरीहता बोक्नु पनि परेन । हाँसेरै दिनहरू बिते । कुनै एकदिन पनि निहुरमुण्टी न लाउनु परेन । यो मेरो पाटाको निजी अनुभूति हो ।

पद्मकन्या क्याम्पसले मलाई कहिले पनि अहित गरेन । मलाई ३ वर्ष बेतलवी विदा दियो । एक वर्ष स्वाध्ययन विदा दियो । त्यो अवधि म अमेरिकामा बसेँ । पैसा कमाएँ । लालाबाल पढाएँ । काठमाडौँमा घर बनाएँ । परिवारको स्तर उकासेँ । मलई पद्मकन्याले उपप्राध्यापकबाट सहप्राध्यापक बनायो । प्रमोसन दियो । कहिल्यै वचन लगाएन । कहिल्यै नमीठो बोलेन । कहिल्यै जस्केलाबाट बाहिर फाल्न खोजेन । न त कुनै प्रशासकले न त कुनै विचारका प्राध्यापक साथीले । न त कुनै कर्मचारीले । त्यसो त मैले पनि पद्मकन्या क्याम्पससँग थप केही मागिनँ । मैले कुनै पद मागिनँ । मैले कुनै अवसर मागिनँ । प्रगतिशील प्राध्यापकतर्फ पनि कुनै ओहोदा मागिनँ । भनेको बेला चन्दा दिएँ । किनकि पद र अवसरले म विराटनगर बस्दा नै अघाएको थिएँ । त्यसभित्रका कहरहरू बुझेको थिएँ । त्यसभित्रका तडपनहरूले पोलेका घाउका टाटाहरू म फेरि आलो बनाउन चाहन्न थिएँ । म शान्त हुन चाहन्थेँ । शान्त भएँ । सबैले राम्रै मानेको÷भनेको अनुभव गरिरहेँ। साँच्चि भन्छु, जीवनमा कुनै गुनासो रहेन पद्मकन्याप्रति । रेणुको हँसाइ, पीताम्बर सरको भाषण, प्रयाग सरको बौद्धिक र शास्त्रीय गफ, ९ नं कोठा तथा समग्र साथीहरूलाई सम्झेको सम्झै गर्दैछु ।

आफूलाई केही चाहिएन भने प्रष्ट बोल्न सकिन्छ कि क्या हो जस्तो लागेको छ । यही प्रसंगमा म गतसाल नेपाल गएका बखत निकै बिमारको वार कि पारको टाकुरामा पुगेर वारि फर्कनुभएकी धन थापालाई भेट्न उहाँको निवास कीर्तिपुर ट्याङ्लाफाँट पुगेको थिएँ । उहाँलाई बेथाले बोल्न पनि गाह्रो भइरहेको थियो । तर पनि मलाई देखेर ‘प्रगतिशील भित्र प्रष्ट र खरो भन्न सक्ने तपाईँ हुनुहुन्थ्यो । यो कुरा अहिले खट्किएको छ’ भनेको सुन्दा मेरो मन कत्ति रमायो होला त ! 

तर पनि जागिर राजीनामादिएर पद्मकन्या छोड्दा खोई किन हो कुन्नि धेरैै सम्वेदना भएन । मैले सम्वेदना आओस् भन्ने मनभित्र चाहना राखेँ । मभित्र छटपटी होस् भन्ने चाहेँ । इतिहास डिपार्टमेण्टले भव्य विदाइ पनि गर्यो । प्रगतिशील संगठनका साथीहरूसँग पनि गेट टुगेदर भयो तर भरतपुर, पोखरा र विराटनगरमा जस्तो रुन मन लागेन । साथीभाइसँग फोटो पनि खिचाइयो । तर पनि किनकिन म पद्मकन्यासँग सम्वेदित हुन सकिनँ । अहिले अमेरिकामा बसेर पद्मकन्यालाई सम्झिरहेको छु । यो किन यस्तो हुन्छ होला ! यो बारेमा निकै गमेको छु । अहिले मलाई लाग्दै छ यसको कारण न म हुँ, न पद्मकन्या नै हो । न साथीभाइ हुन् न कुनै मनमोटाव । यसको कारण समय हो रहेछ । परिवेश हो रहेछ । मान्छेले गरेको विकास रहेछ जस्तो लाग्दै छ । विकासले मान्छेका मनभित्र र आत्माभित्र व्यक्तिवादी चिन्तन हालिदिएको छ । आफ्नै जीवनका कहरहरू धान्दाधान्दै मान्छे अन्तर्राष्ट्रियताबाट राष्ट्र, राष्ट्रबाट समाज, समाजबाट परिवार, परिवारबाट आफू भइरहेछ । आफू तात्पर्य व्यक्ति हुनेरहेछ । परिवेश व्यक्ति भइरहेछ । व्यक्तिवाद हावी भएको छ । मोफसलको तुलनामा काठमाडौँ बढी व्यस्त छ । सभ्य छ । चुनौती छ । अवसर छ । भ्याईनभ्याई छ । त्यसैले स्वाभाविक छ कि पद्मकन्या पनि व्यस्त छ । ऊ पनि निजी सोच्छ ।

म पनि त सगल्तो कहाँ छु र ! खुम्चँदैखुम्चँदै व्यक्ति भएको छु । व्यक्ति भएर बढारिएको छु । निजी सोच्दैछु । उपतिको काम नभए पनि व्यस्त छु । मैले पद्मकन्यासँग मात्र पाएँ । लिएँ । भोगेँ तर दिइनँ । तिरिनँ । एउटा खास अवधि ईन्द्रचोकको सुधो साँढे भएर गजधम्म बसँे । खाएँ । त्यसैले मलाई लाग्दै छ कि म पद्मकन्यासँग खासा कृतघ्न भएँ । त्यसैले अचेल उसैसँग सोध्न मनलाग्छ कि ‘म किन कृतघ्न भएँ हँ पद्मकन्या !’

प्रकाशित: २६ कार्तिक २०७७ ०५:२४ बुधबार

अक्षर