डा. विदुर चालिसे
१) किच्चक
––“खोस्टोको नि मूल्य हुन्छ र ?”
बढुवाको जवाफ नपाएको सिपाईं पुर्पुरोमा हात राखेर निराश स्वरमा बर्बराइरहेको थियो । पाटीको छेउमा बलवीर थच्चिन्थ्यो र टोलाउँथ्यो । उसको काम देख्नेहरू अचम्ममा पर्थे । उससँग बहादुरीको सिमा नै थिएन । आँटी, हकी र इमान्दार उसको परिचय थियो । तर सबै चिज परिबन्दको रनाहामा खोस्टो भइदियो । उसको जीवन र इमान पोलेको मकैजस्तै एकाएक तातो न तातो अनि कालो समेत भइदियो ।
––“दिदी ! पोलेको मकै दिनु न !”
नजिकै पोलेको मकै बेचिरहेकी सुकुमैचा सिपाईंतिर फर्केर पुलुक्क हेर्थी । अनि उसको हातमा भएको मकैको खोस्टो च्यातीच्याती फाल्थी । दिदीले अनुभव गरेको सिपाईं तुरून्तै जिस्किन्थ्यो ।
––“अरे ! आच्या, बैनी, खोस्टो किन फालेको ?, यो मकैको पातो त म जस्तै खोस्टो हो र ?”
सानुमैचाका अगाडि आफ्ना मनमा अटाउन नसकेका वेदनाका शब्दहरू निकाल्यो । सानुमैचा भने चुपचाप बसी अनि सिपाईंको जवाफ दिने इच्छा पनि गरिन । ऊ अहिले खोस्टो केलाउने ठाउँमा थिई । प्रेमका इसारा बुझ्ने ठाउँमा थिइन । सिपाईंको प्रेमभाव र बढुवाको रन्को त्यसै खोस्टियो ।
––“के यो खोस्टो हो ?”
श्रीमान्का अगाडि अदालतमा बहस गरिरहेका वकीलहरू खोस्टाको बारे र त्यसको अनाहक सम्बन्धका विषयमा खुब बहस गर्थे । उता बैंंकमा पनि ग्राहक र बैंक बीचका मन लाग्ने खोस्टाबारे निकै भनाभन हुन्थे । अड्डामा खोस्टोको काम थिएन । तर खोस्टो नभई काम पनि हुँदैन थियो । सहमति सम्झौतामा त खोस्टोको के मतलब र ? तर खोस्टो आदानप्रदान धेरै नै हुन्थ्यो । खोस्टोको रूप जस्तो भए पनि सारमा खोस्टोले तरल अवस्थालाई हात दिन्थ्यो, लिन्थ्यो । कतै बहस चल्यो खोस्टो टुप्लुक्क आउँथ्यो । आरिस बन्थ्यो र झट्र्काथ्यो सबै मनका भावसँग खोस्टोको उपादेयता । खोस्टो सुन्ने समयमा मन नलाग्ने वस्तु, पत्रु र अनावश्यक विषय भए पनि यसको गति यति पातलो थियो कि पानी जस्तै तरल, पैसा जस्तै निर्मल र भ्रष्ट्राचार जस्तै सरल विषय थिए । जब बाटोमा हिंडिरहेका मानिसहरू भेटिन्थे । तब उनीहरू खोस्टो जिन्दगीको हिसाबकिताबको तृष्णाले दौडिरहेका हुन्थे र भन्थे ।
––“बस ! खोस्टो जिन्दगी !”
युध्द होस वा जनयुध्द जेसुकैमा पराजित लडाकु आफ्ना कर्तव्यमा अब्बल थिए तर पनि अधिकारमा खोस्टो बन्दथे । दोष कस्को थियो र ? खोष्टिने, खोष्ट्याउने अनि खोस्टोका बीचमा थिए “किचिमिचीमा परेका किच्चक दादा” ।
२) ऐन
––“खान्दानीहरूको कोखमा जन्मेको भए देउकली ‘परी’ हुन्थी होला ।”
देउकलीकी आमा साह्रै बखान गर्थिन । उसको रूप र स्वभाव राजा बास्साको भन्दा कम छैनन् । तर के गर्नु ज्वाईको सन्तान नहुने योगले चाहिँ खुब पछुतो मान्थिन । देउकली पनि मनमनै पाकेकी थिई । भन्ने आँट कुनै थिएन । महिला धर्मको कुरा थियो । पुरूष धर्म र्माित्तएको अनुभव सधैं देउकलीलाई हुन्थ्यो । आत्मीक पीडा त यसै हुने नै भए ।
––“खैमलल गाएर जा भन्दे त्यसलाई !”
जहरसिंह भुत्भुताउँदै घरको पछाडि पट्टिको उकालो लाग्यो । गाउँको दुख बेहोरेको उसले डालोमा मकै बोकेको थियो । बीच बाटो मै के सम्झ्यो कुन्नी फरक्क फर्कयो अनि भर्खर विवाह गरेर दिएको छोरी आज माइत आएकी न हो । मकैको डालो बिसायो र उसलाई बोलायो ।
––“अई, जा ! जा !! छोरी मकै जाँतोमा पिसेर ल्या है आज !”
देउकली मकैको डालो बोकेर जाँतो लाउन गई । जहरसिंह हतारहतार ओराला ेलाग्यो । समय चकमन्न थियो । जाँतो राखेको घर्तीले देउकलीलाई देख्यो । मनमनै के के चितायो कुन्नी घर्तिले सोध्यो ।
––“चकलेट खाने ?, कस्तो मिठो छ ! खाऊ ल ?”
देउकलीले चकलेट खाएपछि घर्तिले सोध्यो ।
––“चकलेट कस्तो छ ?”
––“स्वादिलो अनि मिठो !”
मनको कुरा के थियो थाहा थिएन । घर्तिको जाँतोमा उ मच्चिमच्ची मकै जसरी पिंध्थी त्यसरी नै उसले चकलेट चपाइचपाई खाएकी थिई । त्यसपछि सान्त्वना मिले झैं निःश्वास फेरी, एकछिन लत्रक्क परी अनि वाक्क गरी ।
विस्तारै मकैको च्याँख्ला जाँतोमा घुमेर झरेसरि गीतका भाकामा मनको बह घुमाएर पोखी ।
––“खैमल खुल्ला गर्याै दादै मनको मझेरीमा । तनको दैलो उघारेर छिर्याै पँधेरीमा !”
त्यसपछि उडालोभरि चाँख्ला बोकेर फर्की । तर किन हो किन उसलाई राति निंद्रा लागेन । अनिंद्रा मै रात बिताई । पेट पनि खुब दुखे झैं भयो । त्यसपछि उसका दिनहरू बेहोसी बन्न थाले ।
समयको क्रममा एकदिन एउटा नाबालक बोकेर निकै टाढा पुगी । उसमा दया हराइसकेको थियो । लज्जा जबरजस्त उठिरहेथ्यो । प्रश्न थियो, घर्तिको अगाडि देउकलीको हाड नाता । अचेल उसकी आमाले भनेको स्वरहरू सुनिन्थ्यो ।
––“पागलआइमाई !”
भलाद्मीहरू कचहरी बसाइरहेका बेला वरपरका गाउँलेहरू भन्थे ।
––“कहाँको ‘देउकली’ कहाँको ‘पातकी’ ।”
आकास जमिनको फरकमा घर्ति हाड नाता करणीको सजाय भोगिरहेथ्यो । शिशु बगरमा विधाताको दुहाइसँगै अबोधताले अलपत्र चिच्याइरहेथ्यो ।
––“मलाई मेरो इच्छाको ऐन छैन ?”
समाजका सबै जनाको नाजवाफमा मुण्टो घोप्टिदिन्थ्यो ।
३) बाँझो दिन
लज्जा छोपछाप हुन्थ्यो या हुँदैनथ्यो, कसैलाई थाहा थिएन । उपाय न हो गुप्तवास ।
––“ल ! ल !! बोल्न हुँदैन । परपुरूषलाई त हेर्न पनि हुँदैन । कति सानै उमेरमा जिउ लाग्या यस्को ।”
आमाको रूढ बचन जबर्जस्ती रमाको कानमा पर्याे । उ लजाउँदै मुख छोपेर कसैले नदेख्ने गरी गुप्तवासतिर लागी । उनकी आमा हातमा रमाका लागि आवश्यक विछ्यौना र कपडाका पोकापाकी बोकेर पछिपछि हिंडिन ।
––“आमा किन कसैसँग पनि बोल्न हुँदैन ?”
––“रोग सर्छ के !, तँसँग रोग छ । जिउ हुनु भनेको रोग हो ।”
रमा केही बोल्न सकिन । आलश्य, थकित र कम्पन मानिरहेकी रमा सतहमा नै चुपचाप लागी । एकछिन अगाडिसम्म तन्दुरूस्त रमा एकाएक आमाका लागि रोगी बनी ।
––“आमा त्यसो भए मलाई अब के हुन्छ ?”
––“केही हुँदैन, डाक्टरलाई जँचाउन नि पर्दैन ।”
आलश्यको आमाको अनुहार भित्तामा राखेको ऐनामा टल्किरहेथ्यो । उल्टो फर्केर गुप्तवासमा बसरहेकी रमाले पुलुक्क ऐनामा आफ्नो अनुहार हेरी । उसलाई त्यसैत्यसै कता जाउँ कता जाउँ भयो ।
––“आज पहिलो चोखिने दिन, नुहाउन आइज नानी !”
हिजो अस्तिको भन्दा देखिएको आमाको नरम बोलीले रमालाई आश्चर्य पार्याे अनि सम्झी ।
––“आज रोग निको हुँदै गएछ, मलाई !”
गुप्तवासबाट पूर्ण रूपमा चोखिने अन्तिम दिन छिमेकी भाउजु उसलाई भेटन गइन । उनी अस्पतालको आइसियु वार्डमा नर्सको काम गर्थिन । उनले अस्पतालको शैइयामा सुतिरहेकी रमातिर हेरेर सान्त्वना दिइन ।
––“ महिलाहरूका लागि मात्र, आज भेण्टिलेटरको टुल्सहरू सब अफ भयो हैन ?”
परम्परागत रूढ थेरापीले उब्जाएको छुइघरको सत्य तथ्य खोज्नु रमाका लागि पनि चुनौती नै थियो । समय क्रममा उसको विवाह भयो । तर उसको कुनै सन्तान जन्मेको थाहा भएन । छुइघरमा जानुअघि उ एकदिन बाँझिन पुगेकी थिई ।
४) सपनाको दवाव
“निःस्वार्थ सेवा नै समाजको सत्गति हो ।” भन्ने मूल भरोसाले परिभाषित प्रतिमा मुसुक्क हाँसेर बच्चाको कपाल सुम्सुम्याउँदै उसका निश्चल आँखामा सुख भर्न ममताले स्वीकार्थिन ।
––“मेरो बाला, तिमी कति सुन्दर छौ !, तिमीलाई हृदयमा टाँसू, टाँसू लाग्छ त !”
जनयुध्दको मेसिन गनसँग उभिएकी प्रतिमा आफ्नो हृदयको प्रफुल्ल टुक्रा रूपी सुरक्षाका अगाडि मख्ख परेर हाँसि दिन्थिन ।
––“पापा !”
सुरक्षाको ‘पापा’ भन्ने शब्द सुन्ना साथ प्रतिमाको मन कुँडिन्थ्यो । उनले पापाको अर्थलाई मुस्कान दिइन । बच्चालाई भुल्याउन झोलामा धेरै दिनदेखि उदारेर राखेको चाउचाउको पोका थमाइन । बच्चाको ‘पापा’ भन्ने शब्दले द्रवित भएकी प्रतिमा मनको निर्भीक आँखासँग भविश्य तर्फको सारपूर्ण समर्पणमा डुलिदिन्थिन ।
––“तिम्रो पापा ?”
––“हो !”
मुन्टो हल्लाएर आशाहरू बदलिरहेको बच्चा आफ्नी आमाले बोकेको मिसिन गन देख्दथ्यो । बाल मनोचेतनामा पर्ने प्रत्यक्ष असर रून्चे हाँसोले जबर्जस्ती फुस्काउँथ्यो । प्रतिमा उसैका लागि बाँचेकी होली सायद ।
––“आभास मर्याे रे !”
प्रतिमाले सो वाक्य वाकीटकी सेटमार्फत सुन्न नपाई सङ्कल्प गरी ।
––“जसरी पनि युध्द जित्छु । सपना साकार पार्छु ।”
––“तिम्रो पापा मैसँग छ, डल्ले !”
प्रतिमा बच्चालाई अल्मल्याउन थाली र सङ्घर्षको दृढसङ्कल्पमा पुगी । उसँग आभासले शिविरमा उपहार दिएको बच्चा साथै
थियो । प्रतिमाका लागि त्यो उपहार सायद सपना थियो ।
तेस्रो कमाण्डको नेतृत्वमा सशस्त्र युध्दमा जुटेको बेला युध्द विराम हुने भयो । नेतृत्व गण बीचारका नाममा विभाजित भए । प्रतिमालाई कित्ता काट गर्न मन थिएन । उनमा पनि विस्तारै युध्दको उत्तेजना शिथिल भयो । युध्द शिविरमा एकातिर मेसिन गन र अर्काेतर्फ बच्चाको भारी बोकेको प्रतिमाको अगाडि समाचार आयो ।
––“हेर ! हुन्देउ अब, आभास त मर्याे मर्याे हामी पनि किन मर्ने ?”
कमाण्डरले माथिको आदेश भन्दै सम्झाउँन लाग्यो । प्रतिमा किंम कर्तव्य विमुढ भई । उसका उत्तेजना, उत्साह र उत्सर्ग भावना त्यसै मरे ।
––“होइन होला, जस्ट कन्फुज्ड हो !”
––“घेराबन्दीमा परेछन् नि !”
––“कस्को ?”
––“प्रतिक्रियावादीको !”
अन्य लडाकुहरूको बीचमा सन्सनी फैलियो । जब युध्दको उचाइमा लाल सेनाहरू दमनका खातिर पनि आफूलाई उत्सर्ग गर्न तयार थिए । माथिल्लो नेतृत्वमा बीचलनको सुरूवात निजी स्वार्थमा केन्द्रीत बनेको धेरैलाई थाहै भएन । प्रतिमाको सङ्कल्पछेउ पनि प्रकट भएन । जब नैतिकताहरू स्वार्थका लागि बेचबिखन हुनथाले । तब धर्मका जल्लादहरू यसरी हराम बने कि मुक्ति युध्द सित्तैमा स्वाहा हुने गरी सत्ता लिप्साका लागि दवाव गर्न पुग्दथे । नेतृत्व बारे मानिसहरूमा विराट पर्वको कथा बनिरहेको थियो ।
––“हिजो जिउँदी प्रतिमाको राइफलमा बाँच्थे आज निर्जीव प्रतिमाका सपनामा बाँच्दछन् ।”
५) राह
धर्म सभामा बुध्द आफ्ना चेलाहरूलाई मुक्ति मार्गका बारे प्रवचन दिइरहेका थिए । त्यस सभामा एक जना शिष्य सम्मानित उच्च शिक्षाका चेला थिए । ती विद्वत जन अकडो तर्क गर्न खुब माहिर थिए । अरू सबै चेलाहरू लाटा सुधा थिए । उनीहरू गुरूका कुरा सबै मान्थे ।
––“मुक्ति मार्ग भनेको के हो ?, थाहा छ गुरूलाई !”
बुध्द अक्क न बक्क परे र एकछिन सोचे । यो शिष्य चतुर रैछ । यसलाई मार्ग बारे बुझाउनु पर्याे भनेर बीचार गरे अनि उनले उत्तर दिए ।
––“मुक्ति मार्ग भनेको ‘राह’ हो ।”
उक्त विद्वत शिष्य बजारमा गयो । अनि उसले बुध्दले झैं ‘राह’ को बारेमा व्याख्या गर्न लाग्यो । उनलाई सबैले सोधे ।
––“ ‘राह’ भनेको के हो ?”
विद्वत शिष्यले थप व्याख्या गर्न लाग्यो । अवस्था, समाज र स्थानअनुसार आफ्नो व्याख्या गर्दै गयो । अन्त्यमा उ के निष्कर्षमा पुग्यो भने ‘राह’ भनेको ‘जात’ हो । उसले वरपर सबैलाई आआफ्नो जात र जातिको बारे बुझाउन थाल्यो । चलिआएको बुध्दको ‘मुक्ति मार्ग’ ती सबैले बिर्सँदै गए ।
धेरै कालपछि बुध्दले ती शिष्यलाई स्तुपअघि भेटे । स्तुप आधुनिक ढङ्गले सिंगारिएको थियो । बुध्दले ती शिष्यलाई सोधे ।
––“मुक्ति राह अर्थात मुक्ति मार्ग बारे थाहा पायौ ?”
ती शिष्य निकै तनावमा चट्किए । बुध्द शालीन थिए । उनले शिष्यलाई नहडबडाई उत्तर दिन आग्रह गरिरहेका थिए । शिष्य एकोहोरो कराइरहे ।
––“मुक्ति मार्ग त हजुरको स्लो गन हो !”
बुध्द अलअलमा परे । यो शिष्य झन भ्रममा परेछ भन्ने अनुमान काटेर सोधे ।
––“तिम्रो मुक्तिको मार्ग चाहिँ कुन हो त ?”
शिष्यले बडो गर्वका साथ आफ्नो आयात धर्मको आडमा जवाफ दियो ।
––“मार्ग ‘जातीय’ अर्थात ‘राह’ !”
बुध्द सरासर आफ्नो बाटो समातेर हिंडे । उनीसँग मात्रै झोला र गेरु बस्त्र थियो । शिष्य बुध्दको पछिपछि कराउँदै हिंडिरहे ।
––“मलाई हजुरले सम्मान गरेर उच्च शिक्षा प्रदान गरेको हैन नि त । ‘राह’ कसरी मुक्तिको मार्ग हुन्छ ?”
बुध्दले त्यसपछि संघ खोलेर त्यसै संघमा ती शिष्य जस्तै मानिसहरूलाई बुझाउन थाले ।
––“मार्गको अर्थ फारसी भाषामा ‘राह’ हुन्छ, बुझ्यौ ?”
(डा. चालिसेको ‘जलान’ लघुकथा संग्रहबाट !)
प्रकाशित: २५ कार्तिक २०७७ ०८:१४ मंगलबार