कला

बन्धुदत्त को हुन् ?

पाटन तःबहालस्थित मत्स्येन्द्रनाथमन्दिरको राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको संयुक्तमूर्ति ।

बन्धुदत्त ‘आचार्य’ हुन्। जात र वर्गविशेषले होइन, कर्मले माथि उठेर देश र देशबासीको दुःख पार लाउन सक्ने, योग साधना र तन्त्रको संसारमा आङ्खनो बेग्लै पहिचान बनाएका, सबैका साझा, सुविख्यात सिद्ध तान्त्रिक गुरु हुन्। के बौद्ध † के शैव † कर्मविशेषले सारा लोकको मन जितेका हुनाले नै उनी ‘आचार्य बन्धुदत्त’ भनी लोकजीवनमा, नेपाली राष्ट्रियजीवनमा लोकप्रिय रहिआएका हुन्। उनै आचार्य बन्धुदत्तको नाम मात्रले पनि हामीलाई उनको मात्र नभएर तत्कालीन राजा नरेन्द्रदेव र ललितज्यापूको पनि एकसाथ स्मरण हुन्छ। अद्भुत गुण भएका यी तीन पात्रहरू आङ्खनो युगका महानायकहरू थिए जसले आफूसित भएका सामथ्र्य (राज्यशक्ति, मन्त्रशक्ति र बलशक्ति) लाई एकसाथ मिलेर, समभावमा, संयुक्त रूपमा प्रयोग गर्दैे देश, देशवासीलाई अनिकाल र महामारीबाट मुक्त गरी सहकाल, सुस्वास्थ्य र समृद्धि ल्याउनका निमित्त कामरूपबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याई प्रतिष्ठा गरेको कुरा पनि स्मरण हुन्छ। र, वर्षा एवं सहकालका देवता भनेर मान्यपुज्य रहिआएका भगवान् मत्स्येन्द्रनाथ र उनको प्रत्येक वर्ष हुने जात्राले यी तीन महानायकहरूलाई जात र वर्गविशेषले नभएर सबै नेपालीले साझा रूपमा राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य, र ललितज्यापू भनी चिन्दै, श्रद्धाभाव अर्पित गर्दै आएका छन्। धार्मिक समन्वय र सांस्कृतिक एकताका प्रतीक यी तीन व्यक्तित्वहरूको मूल राष्ट्रिय पहिचान पनि यही नै हो। यी नै गुण वैशिष्ट्य एवं अविस्मरणीय ऐतिहासिक योगदानलाई कदर गर्दै यी तीन महानायकहरूको नामसहितका सालिग काठमाण्डौको हृदयस्थल, भूगोलपार्कमा निकट भविष्यमा नै प्रतिष्ठापित गर्ने कुरा प्रचारमा आएको छ। निःसन्देह यो सबैका लागि हर्ष र स्वागतयोग्य कुरा हो। तर यससंगै यो कुरा पनि सुन्नमा आएको छ कि बन्धुदत्त आचार्यको सालिगको प्रसङ्गमा उनको शिरमा पंचध्यानी बुद्धको मुकुट धारण गरेको, गलामा वज्रहार धारण गरेको प्रतिमा स्थापित गरि“दैछ। अनि उनको शैव पहिचान खुल्ने आयुध र अलंकार खोइ त ? यसले बन्धुदत्त आचार्यको सबैले मान्दै आएको साझा पहिचान ओझेलमा पर्न जान्छ वा भनौं सदाका लागि समाप्त हुनेछ र उनीसंगै मत्स्येन्द्रनाथ–संस्कृतिसित गा“सिएर आएको तन्त्रप्रधान नेपाली धर्म संस्कृतिको समन्वयात्मक सह–अस्तित्व र सांस्कृतिक एकताको गरिमा उस्तै एकोहोरो मात्र भएर भोलिका पुस्तामा भ्रम मानसिकता मात्र उत्पन्न हुन सक्छ । मत्स्येन्द्रनाथ बौद्ध देवता मात्र होइनन्, शैव देवता पनि हुन्। शैव मात्र किन र † शाक्त र वैष्णव पनि हुन्। सबै मतले अपार श्रद्धाका साथ मान्दै आएका उच्चकोटिका साझा देवता हुन्। तत्कालीन भीमसेनथापाका समकालीन, बौद्ध पुरोहित–वंशका सुन्दरानन्दले रचना गरेको त्रिरत्न–सौन्दर्य–गाथामा उनीद्वारा व्यक्त तल प्रस्तुत विवेचनले पनि उक्त कुराको पुष्टि मिल्छ (सं.धनवज्र वज्राचाय (२०१९), त्रिरत्न–सौन्दर्य–गाथा, काठमाडौं : नेपाल–सांस्कृतिक–परिषद्, पृष्ठ ५६) 

‘यिनी पनि नेपालखाल्डाका मुख्य देवता हुन्। यिनलाई शैवहरू शिव, बौद्धहरू मत्स्येन्द्रनाथ, वैष्णवहरू विष्णु, शाक्तहरू शक्ति, सौरहरू सूर्य भनी पूजा गर्छन्। यिनको नाम करुणामय लोकेश्वर भनी प्रख्यात छ। बाह्रवर्षमा एकपल्ट बुङ्मतीदेखि यिनको रथयात्रा गरी पाटनमा ल्याउँछन् तथा बुङ्मतीमा लैजान्छन्। अरू वर्षमा पाटनमा मात्र मछिन्द्रनाथको रथयात्रा गरिन्छ। पाटनमा मीननाथको पनि साथै रथजात्रा हुन्छ।’

जस्तो मत्स्येन्द्रनाथ, उस्तै उनलाई नेपालमा ल्याउने नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललितज्यापू पनि सबैका साझा धरोहर हुन्। बन्धुदत्तको सालिगकोे शीरमा पञ्चबुद्धको मुकुट र हातमा वज्रको आयुध थमाइदिएपछि उनको बौद्ध वैशिष्ट्य बाहेक शेष मौलिक परिचय स्वतः लुप्त हुने कुरामा सन्देह रहन्न। यसै बीचमा नागरिक दैनिकमा प्रकाशित ‘जात्रादेखि ‘जात्रा’सम्म’को लेखमा (शनिवार, २७ भदौ, २०७७, पृष्ठ ४) यसका लेखक सुरेश किरणले आचार्य बन्धुदत्तको प्रसङ्ग उल्लेख गर्ने क्रममा उनलाई ‘बन्धुदत्त वज्राचार्य’ भनी सम्बोधन गर्न पुगेका छन्। यसले बन्धुदत्त आचार्यलाई बौद्धकरण मात्र गर्न खोजेको प्रतीत भएको छ। हजारौ“ वर्षदेखि कुममा कुम मिलाएर सह–अस्तित्व एवं आपसी समभाव कामय गर्दै आएको धार्मिक–सांस्कृतिक जनमा यसले तत्पश्चात् तत्कालै खैलाबैला र भ्रम सिर्जना पैदा  भएको छ, समाजमा यसको नकारात्मक सन्देश गएको छ। यी कुरा नितान्त संवेदनशील छन् जसलाई बेलैमा नसच्याएमा यसको परिणाम नकारात्मक पर्न सक्ने दृष्टिगोचर हुन्छ। किनकि यो पंक्ति लेख्दा सम्ममा यसको तत्काल असर पनि लोकजीवनमा देखा पर्न थालिसकेकोे छ। यसले बौद्ध जनको मात्र नभएर शैव जनको मन विशेष दुःखाएको छ, रूवाएको छ। आ–आङ्खना विशेष कर्मले सदाकाल देश र देशबासीको भलो हुने कार्य गर्दै राष्ट्रसेवामा समर्पित रहिआएका, समाजमा ‘आचार्य÷आचाज’, पदवीले साझा रूपमा सम्मानित रहिआएका सिद्ध तान्त्रिक कर्मयोगी गुरुवाचार्य, कर्माचार्य, पीठाचार्य, शिवाचार्य लगायतका समस्त ‘आचार्य’हरू विचलित हुनपुगेका छन्। स्यस्यः समाज यल ले यस कुरामा आपत्ति जनाउँदै धार्मिक समन्वय र सांस्कृतिक एकता, सह–अस्तित्व र सहिष्णुता अक्षुण्ण भइरहोस् भन्नाका लागि निकट भविष्यमा स्थापना हुन गइरहेको बन्धुदत्त आचार्यको मूर्ति र नाम ‘आचार्य बन्धुदत्त’ नै कायम होस् भनी काठमाडौं महानगरपालिकाका नगरप्रमुखलाई पत्राचार समेत गरिसकेको छ। २०७७।०६।०५ मा प्रस्तुत सो पत्रमा भनिएको छ ‘निकट भविष्यमै का.म.न.पा. वडा नं.२२ को पहलमा स्थापना हुनलागेको बन्धुदत्तको मूर्तिमा उहाँको सही थर र नाम ‘आचार्य बन्धुदत्त’ नै कायम होस् भनी अनुरोध गर्दै निर्माणकार्यलाई तदारूकताका साथ अगाडि बढाउन हुन अनुरोध गर्दछु। प्रामाणिकतालाई कुल्चिएर गरिएको कुनै पनि कार्यमा यस समाज असहमति जनाउँदछ।’

नेपालमण्डलका नेवारहरूको धर्म मिश्रित विशेषता भएको ‘तन्त्रप्रधान धर्म’ हो जसमा तन्त्रको रसानले  धार्मिक सम्प्रदायका सबै शाखा–प्रशाखालाई सांस्कृतिक एकताको समन्वयात्मक–सह–अस्तित्व र सहिष्णुतापूर्ण मालामा जोडेर एउटै छातामुनि ल्याएर सजाउन सफल रहेको छ। यस्तो अतुल्य विशेषता भएको धर्मका अनुयायी नेवार सांस्कृतिकजनले सोही अनुरूप ‘मेरो’ र ‘तिम्रो’ मात्र भनेर कहिल्यै भेद गरेन, ‘हामी’ र ‘हाम्रो’ भनेर आए। तन्त्रप्रधान नेवार धर्म–संस्कृतिका दुई मूल धारा तान्त्रिक शैव र तान्त्रिक बौद्ध हुन् जुन एक अर्काका पूरक रहिआएको विदित  

हुन्छ। यो कुरा विशेष महत्वको छ। तान्त्रिक शैवधर्म–दर्शन र संस्कृतिलाई बुझ्न तान्त्रिक बौद्ध धर्म दर्शन र संस्कृतिलाई बुझ्नु अपरिहार्य छ। उसैगरी तान्त्रिक बौद्ध धर्म–दर्शन र संस्कृति बुझ्न शैवधर्म–दर्शन र संस्कृति बुझ्नु उति नै आवश्यक छ। प्राचीनकालदेखि राष्ट्रियदेवका रूपमा प्रख्यात रहिआएका जस्तै, पशुपतिनाथलाई बुझ्न बुद्धलाई पनि बुझ्नु पर्छ, स्वयम्भूनाथलाई बुझन शिवलाई पनि बुझ्न पर्छ, चाँगुनारायणलाई बुझ्न त्यहीँ रहेको लिच्छविकालीन स्थानक बुद्धमूर्तिहरू, चैत्य, मध्यकालीन पद्मपाणीलोकेश्वरको मूर्ति लगायत हरिहरिहरिवाहन लोकेश्वरलाई पनि बुझ्न आवश्यक छ। यी उच्चतम देवताहरू लगायत नेपालमण्डलका तान्त्रिक देवताहरू, गणनाचहरू (हरसिद्धि, नरदेवी, नवदुर्गा) आदि पनि उसैगरी विना सम्प्रदायभेद सबै जनले साझा रूपमा मान्दै आएका छन्। राष्ट्रदेव मत्स्येन्द्रनाथ र उनलाई नेपाल ल्याउने तीन राष्ट्ररत्नहरू (नरेन्द्रदेव, बन्धुदत्त आचार्य, ललितज्यापू) पनि यस कुराको अपवाद होइन।

पानीमा रहेको शिववीर्य मत्स्यले खाँदा मत्स्योदरदेखि मत्स्येन्द्रनाथको जन्म भएको कथा छ। रत्नाकरजोपमकथा अनुसार मीननाथ र मत्स्येन्द्रनाथ कामरूपका माझी थिए, आाचार्य चर्पटीसित दीक्षा पाएर दुबै सिद्ध भए (राहुल सांकृत्यायन (१९५८), पुरातत्व–निबंधावली,इलाहाबादः किताबमहल, पृष्ठ १३४)। सिद्ध परम्परामा मीननाथ, मत्स्येन्द्रनाथ र गोरखनाथ पनि उल्लेख्य छन्। गोमलबाट उत्पन्न भएका मानिने गुरु गोरखनाथका पनि गुरु महापुरुष, महायोगी मत्स्येन्द्रनाथ हुन्। भिक्षा माग्न घर–घर पुगेका गुरु गोरखनाथलाई कुनै गृहस्थीले एक मुठी भिक्षासम्म नदिएपछि रिसाएका गुरुले वृष्टिको मूलधार रहेका नवनागलाई नागासनका रूपमा आसन जमाइ तपचर्यामा बसेको हुँदा अनावृष्टिको संकट आइपरेको थियो। यसो हुँदा जलवृष्टि गराउन, कामरूपमा आद्यदेवताका रूपमा रहेका ब्रम्हस्वरूपका मत्स्येन्द्रनाथलाई नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललितज्यापूले नेपाल ल्याए। आङ्खना गुरु आएको कुरा थाहा पाएपछि गुरुको दर्शन गर्न जान भनेर गुरु गोरखनाथ तपचर्याबाट उठ्दा नागहरू सबै स्वस्थानमा गए। त्यसलगत्तै प्रशस्त वर्षा भएको जनश्रुति चलेर आएको छ। यसप्रकार एउटै देवतामा अनेक सम्प्रदायको गुण वैशिष्ट्य रहनुको कुरा यताबाट पनि खुल्छ। नाथ शैव सम्प्रदायका कनफटा योगीहरूले मत्स्येन्द्रनाथको जात्राताका तान्त्रिक पुजाविधान गर्ने परम्परा आज पनि वर्तमान छ। यताबाट पनि मत्स्येन्द्रनाथ अनेक स्वरूपमा, सबैका साझा देवता हुन् भन्ने कुरा खुल्छ। मत्स्येन्द्रनाथको जात्राको प्रसङ्गमा सुन्दरानन्द पुनः आङ्खनो विचार यसरी पोख्छन् (वज्राचार्य, २०१९, पृष्ठ ८३)

‘श्रीमत्स्येन्द्रनाथकन कोही विष्णु भन्दछं. कोहि शैवले शिव भनि भजन गर्छं. कोहि शाक्तिकले देवी काली तारा भंछं. कोहि आदित्य भंछं. कोहि ब्रम्ह पनि भंछं. कोहि मत्स्येन्द्रनाथ भंछन्. कोहि लोकेश्वर भनि भंदछं. कोहि करुणामय वुंगदेव भन्छन्.’

श्रीनिवासमल्लको बुंगमतीस्थित मत्स्येन्द्रनाथमन्दिरको ने.सं.७९२ को सुवर्णपत्रमा मत्स्येन्द्रनाथलाई विभिन्न धर्मावलम्बीहरूद्वारा विभिन्न नामले पुकारिएर यिनी परब्रम्हस्वरूप भएको कुरा चित्रित गरिएको छ (हरिराम जोशी (२०६०), नेपालका चाडपर्व, जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुर: पृष्ठ ३१–३३)।

जस्तो शैव बौद्ध देवता उस्तै शैव बौद्ध अनुयायी † लिच्छवि राजा नरेन्द्रदेव व्यक्तिगत रूपमा शैव थिए र पशुपतिका परमभक्त ‘परममाहेश्वर’ कहलिएका थिए। तर उनी बौद्धधर्मप्रति पनि उस्तै आस्था राख्दथे यसैले उनी बुद्धमूर्ति अंकित पेटी लाउ“थे। यसले उनको शैव र बौद्धधर्मप्रतिको समान आस्था र विश्वास रहेको जानिन्छ। शैव र बौद्ध दुबै मार्गका व्यवहार जान्ने आचार्य बन्धुदत्त पनि व्यक्तिगत रूपमा शैव थिए भन्ने ज्ञात हुन्छ। पछिल्लो कालतिर लेखिएको भाषा वंशावलीमा पनि राजा नरेन्द्रदेवसहित कामरूपपीठबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याउने सिलसिला लगायतका अन्य प्रसङ्गमा उनलाई सम्मानका साथ ‘बन्धुदत्ताचार्य’, ‘बन्धुदत्त आचार्य’ नै सम्बोधन गरिएको छ। साथै सोही वंशावलीमा बन्धुदत्त आचार्यले रचना गरेको करूणास्तव स्तोत्रको पनि चर्चा छ जसमा आएको ‘श्रीमदार्यावलोकितेश्वरभट्टारकस्य श्रीबन्धुदत्तचार्यकृतां करुणास्तव’ उल्लेखले पनि बन्धुदत्तको मूल पदवी ‘आचार्य’ नै रहेको ज्ञात हुन्छ (देवीप्रसाद लम्साल (सं.,२०२३) भाषावंशावली, भाग २ पुरातत्व विभाग, काठमाडौं : पृष्ठ ४–१७)। बन्धुदत्त आचार्यविरचित उक्त स्तोत्र राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ।

पूर्वमध्यकालका एक प्रसिद्ध राजा जयस्थिति मल्ल (वि.सं.१४३९–१४५२) हुन्। गोपालराजवंशावली उनकै पालामा रचिएको हो। इतिहासको अनेक कालखण्ड वा भनौं गोपाल, महिषपाल, किरात, लिच्छवि लगायत जयस्थितिमल्लको पालासम्मको महत्वपूर्ण घटनाहरू टिपेर रचिएको, नेपालको सर्वप्राचीन वंशावली यही गोपालराजवंशावली देखिन आएको छ। यस वंशावलीको अध्ययनबाट यो वंशावली तत्कालीन नेपालमण्डलको राजधानीनगर भक्तपुरमा बसेर रचिएको थियो भन्ने ज्ञात हुन्छ। मलाई लाग्छ, यो वंशावली मात्र नभएर नेपालको इतिहासविषयको पहिलो प्रामाणिक हस्तलिखित ग्रन्थ हो। यही वंशावलीलाई मूल आधार एवं आदर्श मानी पछिल्लो कालका भाषा वंशावली लगायतका अन्य वंशावलीहरू लेखिएका हुन्। जे होस्  भुजिँमोल लिपिमा लेखिएको यस वंशावलीको २३ पत्रमा प्रथमपल्ट ‘राजा नरेन्द्रदेव र उनका आचार्य बन्धुदत्तले मत्स्येन्द्रनाथको जात्रा चलाएका हुन्’ भन्ने उल्लेख आएको छ। यो कुरा विशेष महत्वको छ। जनजीवनमा चलेर आएको यस विषयको किंवदन्तीलाई समेत यस कुराले पुष्टि गरेको छ। यहाँ बन्धुदत्तलाई ‘आचार्य’ भनी सम्बोधन गरिएको छ। यस कुराले पनि विशेष महत्व राख्छ।

आचारका ज्ञाता ‘आचार्य’ हुन्। मन्त्र सुनाउने दीक्षागुरु, कर्मकाण्डका ज्ञाता, मुख्य पुरोहितलाई प्राप्त औपचारिक पदवी यो रहेको जानिन्छ। यहाँ ‘आचार्य’ पदवीले हामीलाई पशुपति छत्रचण्डेश्वरको लिच्छविकालको अभिलेखमा आएका, पाशुपत सम्प्रदायका प्रतिष्ठित आचार्य भगवत्प्रनर्दन प्राणकौशिक लगायत पाशुपत सम्प्रदायका आचार्यहरूको संघलाई पनि एकसाथ स्मरण गराएको छ (धनवज्र वज्राचार्य (२०५३),लिच्छविकालका अभिलेख, नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तिपुर : पृष्ठ ४२६–३०) यताबाट लिच्छविकालका राजपुरोहित ‘आचार्य’ थिए भन्ने प्रतीत हुन्छ। यस कुराको थप प्रकारान्तर पुष्टि नरेन्द्रदेवका गुरु आचार्य बन्धुदत्तको प्रसङ्गले पनि मिल्छ।

देवपत्तन, पशुपतिक्षेत्रमा आषाढकृष्ण अष्टमी (भलभलाष्टमी) का दिनमा सम्पन्न गरिने एक प्रसिद्ध जात्रा त्रिशूलयात्रा (मतिजात्रा) पनि हो। यसबारे प्रचलित एक जनश्रुति राजा नरेन्द्रदेव र आङ्खना गुरु बन्धुदत्त आचार्यसित सम्बद्ध छ (डा.गोविन्द टण्डन (२०५३), पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन, श्रीझरेन्द्र शम्शेर ज.ब.रा. तथा श्रीमती मञ्जु राणा, काठमाडौ: पृष्ठ ५०६)। उक्त जनश्रुति अनुसार मत्स्येन्द्रनाथको जात्रा जस्तै त्रिशूल जात्रा पनि नरेन्द्रदेव र बन्धुदत्त आचार्यले चलाएका हुन् भन्ने बुझिन्छ। भुवनेश्वरीका कर्माचार्यहरूको आचार्यत्वमा त्रिशूल जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ। भुवनेश्वरी, मन्मानेश्वरीका कर्माचार्यहरू बन्धुदत्त आचार्यलाई आङ्खना पूर्वज मान्दछन्। नेवारहरू ‘कर्माचार्य’लाई आदरपूर्वक आचाजु/आचाबःजु भन्छन् जुन ‘आचार्य’ कै नेवारी नामान्तर हो।

राजा श्रीनिवासमल्लको पालामा वि.सं.१७३४ मा कवि नीलकण्ठविरचित ‘मत्स्येन्द्रशतकम्’ ग्रन्थ राष्ट्रिय अभिलेखालयमा छ। योगी शङ्करनाथद्वारा यो प्रकाशित छ। उक्त हस्तलिखित ग्रन्थमा पनि बन्धुदत्तलाई आचार्य भनिएको छ। सो ग्रन्थमा महामन्त्र जप्ने बन्धुदत्त आचार्यले कामरूपपीठबाट मत्स्येन्द्रलाई ल्याएको, सो कुरा उनले राजा नरेन्द्रदेवलाई बताएको एवं तन्त्रमन्त्रको अनुष्ठानले मत्स्येन्द्रनाथको असल मूर्ति स्थापना गरेको, प्रजाहरूलाई पूजाविधि सिकाएर यो नेपालपीठलाई विघ्न नभएको पारेपछि राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्त मत्स्येन्द्रनाथको यही असलमूर्तिमा लीन भएको वर्णन छ (साभार पं.देवीप्रसाद लंसाल (२०२३), पूर्वोक्त, पृष्ठ १५–१६)।

प्रतीकवाद एवं त्यसप्रतिको आस्था र विश्वास तन्त्रप्रधान नेवार धर्म–संस्कृतिको आत्मासदृश प्रतीत हुन्छ। यस कुराको पनि एक अनुपम उदाहरण मत्स्येन्द्रनाथ र उनको रथमा दर्शनीय हुन आउँछ। बन्धुदत्त आचार्यले आङ्खनो देह त्याग गरी मत्स्येन्द्रनाथको दायाँ पाउमा लीन हुनपुगेको र सो कुरा थाहा पाएपछि राजा नरेन्द्रदेवले पनि देहत्याग गरी भगवान् मत्स्येन्द्रनाथको बायाँ पाउमा लीन हुनपुगेको जनश्रुति चलेर आएको छ। मत्स्येन्द्रशतकम्मा पनि राजा नरेन्द्रदेव र उनका गुरु बन्धुदत्त आचार्य मत्स्येन्द्रनाथको मूर्तिमा लीन भएको स्तुतिवर्णनलाई समेत आधार मानेर हेर्दा मत्स्येन्द्रनाथको मूर्तिमा हामीलाई एकसाथ मत्स्येन्द्रनाथ, नरेन्द्रदेव र बन्धुदत्त आचार्यको दर्शन अनुभूत हुन्छ। अनि, मत्स्येन्द्रनाथको मूर्ति विराजमान रथतिर दृष्टि दिँदा  हामीलाई रथचक्र भारवाहक ललितज्यापूको दर्शन पनि उसैगरी एकसाथ अनुभूत हुन्छ।

नेपालको मत्स्येन्द्रनाथ मत एवं वैभवपूर्ण परम्परा भारतको भन्दा भिन्न, विशिष्ट मौलिक एवं अतुल्य छ। यसले विश्वमा नेपालको बेग्लै सांस्कृतिक पहिचान त्यसरी नै बनाएको छ, चिनाएको छ जसरी अतुल्य भगवान् गौतमबुद्ध, अतुल्य सगरमाथा, अतुल्य पशुपति, अतुल्य स्वयंभू लगायतका सांस्कृतिक एवं प्राकृतिक सम्पदाले। संसारकै प्राचीन धर्मको रूपमा आपसी सद्भाव एवं सह–अस्तित्व कायम गर्दै समृद्ध रहिआएका शैव र बौद्ध धर्मलाई मत्स्येन्द्रनाथ–संस्कृतिले पनि एकसाथ सम्झाइरहेको छ। यसरी शैव बौद्ध वैशिष्ट्यता पाएको मत्स्येन्द्रनाथ परम्परालाई सोही अनुरूप यसको मौलिकतामा कत्ति पनि आ“च नआउने गरी संरक्षण संवद्र्धन गर्दै लानु प्रत्यक नेपाली र राज्यको दायित्व हो। मलाई आशा र भरोसा छ, निकट भविष्यमा काठमाण्डौं नगरपालिकाले भूगोलपार्कमा स्थापित गर्न गइरहेको राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र ललितज्यापूको सालिगस्मारकले शैव र बौद्ध दुबैलाई मान्य हुने, ऐतिहासिक सामग्रीहरूमा एकनासले आएका बन्धुदत्तको ‘आचार्य’ पदवीलाई समेत ससम्मान कायम गरी सर्वमान्य मूर्ति स्थापना गर्नेछ। ललितपुर तःबहालको मत्स्येन्द्रनाथको मन्दिरमा यी तीन रत्नकै संयुक्त रूपको प्राचीनमूर्ति छ। सोही मौलिक मूर्तिका आधारमा मूर्ति निर्माण गरी स्थापना गर्दा सबैलाई मान्य हुनेछ भन्ने मलाई लाग्छ।

र, अन्त्यमा बन्धुदत्त को हुन् भनी हामीले संक्षिप्तमै जान्न प्रयास गर्दा उनी शैव र बौद्ध दुबै आचार व्यवहार जान्ने आङ्खनो युगका महान सिद्ध तान्त्रिक ‘आचार्य’ थिए जसले राजा नरेन्द्रदेव र ललितज्यापूसित मिलेर देश र देशबासीलाई आपूmसित भएको ज्ञान र सीपले सुखशान्ति, समृद्धि, सुरक्षा प्रदान गरिरहे, दुर्भिक्ष र महामारीबाट रक्षा गरे भन्ने इत्यादि खास कुरा थाहा पायौं। यी तीन राष्ट्र–रत्न पनि नेपालका सांस्कृतिक पहिचान हुन्, धार्मिक समन्वय र सांस्कृतिक एकताका प्रतीक हुन्। हाम्रा, हामी सबै नेपालीका साझा गौरवमय निधि हुन्।

प्रकाशित: २२ कार्तिक २०७७ ०६:०३ शनिबार

अक्षर बन्धुदत्त नेपालखाल्डाका मुख्य देवता