चन्द्रमा पौड्याल
वैशाख जेठमा ‘काफल पाक्यो’कोइलीले भन्छ
जेठ असार आरु आल्चा बखडा खान पाइन्छ
असार साउन खन्यू र नासपाती दाना
आँप कटहर लिची खान्छौ भिजाएर नाना ।
छुपुछुपु धान रोप्दा हरिया मकै खाजा
बेठी लगाई रोपाईँमा बज्छ पञ्चेबाजा
साउन भदौ पँदेल जामुन कुसुम अनारस
भदौ असोज अम्बा स्याउ दशैं उपहार ।
यही सिजनमा अनार अनि दारिम फल्ने गर्छ
घँगारुले रातै भई बनै ढाक्ने गर्छ
पारिजात राति फुली बिहानीमा झर्छ
शरद ऋतु आएसँगै पानी पर्न छोड्छ ।
असोज कात्तिक कटुस ज्यामिर फल्छ सुन्तला
बोक्रैसँग खान मीठो मेल र मुन्तला
कात्तिक मंसिर भोगटे र धान झुलेको
एभोगाड र हलुवावेद किवी फलेको ।
पुस माघमा मल ढिडो तित्री अर्चल फल्छ
पात झरी नाङ्गै भई आरु पैयँ फुल्छ
माघ फागुनमा ऐंसेलु फल्छ काँडा बीचमा
मह गाग्री घ्याम्पे पनि फल्छ यसै ताकमा ।
फागुन चैत किम्बु चुत्रो बेरी पाक्न थाल्छ
वसन्तको हावा चली पाउलो फेर्न लाग्छ
चैत वैशाख खरबुजो र अंगुर बजारमा
बाह्रै महिना फल्छ केरा हाम्रो गाउँ घरमा ।
प्रकाशित: १८ कार्तिक २०७७ १०:३९ मंगलबार