कला

जब बोल्छ भुइँ

कविता

  विजय बान्तवा कैलाशी

 

भूगोलले पनि हामीलाई मात्र हल्लाउँछ

इतिहासले पनि हामीलाई मात्र सताउँछ

राजनीतिले पनि हामीलाई मात्र जोताउँछ  

कि बनाइदिऊँ

हामी पनि हतियार  

मालिङ्गोका तीरहरू विद्रोहको विषमा चोपेर

र, गाडिदिऊँ त्यो आकाशभरि ?

पँधेरामा नभरिएका गाग्राहरूमा

भरेर गिदीहरू  

कि बनाइदिऊँ विस्फोटक ?

दासत्व र अभिशापको बिर्को लगाएर

हेपाइ र चेपाइको डोरीले टनटन कसी

कि फ्याँकिदिऊँ यो भुइँको आँसुलाई

धर्तीबाहिर  

फेरि कहिल्यै नफर्किने गरी !

प्रकाशित: १४ कार्तिक २०७७ ११:१२ शुक्रबार

अक्षर