कला

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन

मुक्तक

 

गुप्तबहादुर श्रेष्ठ 

 

                       १)

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन

शरीर यस्तो हुन थाल्यो नदुखेको ठाउँ छैन

कति डाक्टर भेटे हुँला छैन त्यसको सीमा  

विशेषज्ञ कतिलाई भेट्नु नचिनेको नाउँ छैन ।  

 

                   २)

पटुकी, सारी र चौबन्दी चोली हरायो

विहेमा चढेको ताम्दानी डोली हरायो  

कहाँ खोज्ने हाम्रा सांस्कृतिक पहिचान  

नाकमा लगाउने बुलाकी र फुली हरायो ।  

 

                  ३)

सन्चो छैन भनौं भने कच्याङकुचुङ खान मन लाइरहन्छ

सन्चै छु भनौं एउटा न एउटा रोग सधैंभरि नै आइरहन्छ

म त घरै छु कोरोना कसरी लाग्छ र भन्नेलाई पनि लाग्यो

आजकल सधैंभरि यो कोरोनाले कुटुकटु मुटु खाइरहन्छ ।

 

 

                ४)

जन्मन्दै ल्याएको बानी छोडेर कहाँ छोडिन्छ नानी

बिग्रेको हेन्डिल मोडेर गाडी कहाँ मोडिन्छ नानी

एकदिन घैंटो फुट्यो, हजुरआमाले कराउँदै भन्नुहुन्थ्यो  

एकपटक फुटेको घैंटो जोडेर कहाँ जोडिन्छ नानी ।

 

                     ५)

धन हुँदा बैंस हुँदा खै कताकता डुलिन्छ

अलिअलि गरिकन समस्याहरू चुलिन्छ

सुखदुखको  संघर्ष हो रहेछ यो जिन्दगी

केही कुरा सम्झिन्छ, केही कुरा भुलिन्छ ।  

प्रकाशित: ४ कार्तिक २०७७ ०६:२१ मंगलबार

अक्षर