कला

दुनियाँले पक्कै छल्छ

मुक्तक

 सुशीला खड्का हसिना      

 

                            १)

आफन्तले छल्दाछल्दै दुनियाँले पक्कै छल्छ  

एकदिन अहंकारले गर्दा मान्छे आफै ढल्छ  

प्रकृतिको घरभित्र, समयको ताण्डवमा    

यस्तै केही देख्नुपर्छ बाटोभरि लास जल्छ ।

                      २)

प्रतिस्पर्धामा थियो विश्व क्षणभरमै टक्क अडियो 

सेकेन्ड, मिनेट, घन्टा बित्दा मुटु त्रासमा धड्कियो

के रहेछ आखिर, प्रकृतिको अघि मानव अस्तित्व

कोरोनाकै इशारामा मर्नेबाँच्ने शृङ्खला छुट्टियो ।

                        ३)  

मानव शास्त्रमा ताण्डव नृत्य गर्दै विश्व हल्लायौ

आर्थिक संकट पार्दै मन मस्तिष्क खल्बलायौ

कुन दिन के रूपमा जन्म्यौ, के उद्देश्य छ कोरोना                                                                          

स्पर्शमै हाहाकार मच्चाउदै मृत्युको पाना पल्टायौ ।

                       ४) 

हररात सपनामा झस्किँदैछु र त दुख्छु

मुटुमा खिल बिझेझैँ चस्किँदैछु र त दुख्छु

समयको चोट भनौ या नियति यस्तै हुन्छ

अभावको दलदलमा भस्किँदैछु र त दुख्छु ।

                          ५)

सम्झनामा हररात तारा गन्न पाए हुन्थ्यो  

भुइँ टेकी चन्द्रसूर्य छुन्छु भन्न पाए हुन्थ्यो  

आकाश र धर्तीबीच नमुना त्यो बादलझैँ  

हिँड्दै जाँदा हजारौंमा एक बन्न पाए हुन्थ्यो ।

प्रकाशित: २७ आश्विन २०७७ ०९:१२ मंगलबार

अक्षर