कला

कोरोना आत्मालाप

म कोरोना। वैज्ञानिकहरू मलाई नोभल कोरोना वा कोभिड–१९ (कोरोना भाइरस डिजिज–१९) भने पनि आममानिस मलाई कोरोना नै भन्छन्। यो पृथ्वीमा मेरो उपस्थिति सदियौँदेखि रहँदै आएको हो, मानव समुदायबाट भने टाढै थिएँ– घना जंगलमा चमेराहरूका साथ।

मानव समुदायसँग दौँतरी गाँसेको एक वर्ष नपुग्दै पृथ्वीको चारै दिशा, दुवै गोलाद्र्धमा मेरो चर्चा छ। बालक, वयस्क, वृद्ध सबै मेरो विषयमा हरेक दिनजसो छलफल गरिरहका छन्। छोटो समयमै यस्तो प्रसिद्धि पाउँला भनी मैले कहिल्यै कल्पना गरेको थिइनँ, सायदै भविष्यमा पाउँला पनि।  

वैज्ञानिकले मलाई भाइरस (विषाणु) समूहमा वर्गीकरण गरेका छन्। नांगो आँखाले देख्न नसकिने सूक्ष्म जीव भएकाले आममानिसहरू म कस्तो छु भन्ने थाहा पाउँदैनन्। तर, वैज्ञानिकले मेरो आकार–प्रकार, रूपरंग सबै पत्ता लगाएका छन्। शरीरको बाहिरी आवरणमा प्रोटिनले बनेका स्पाइकका कारण मेरो शरीर श्रीपेचजस्तै देखिनाले वैज्ञानिकले मेरो नाम कोरोना राखिदिएका रहेछन्। ल्याटिन भाषामा कोरोना भन्नाले ‘क्राउन’ (श्रीपेच) भन्ने बुझिने रहेछ। विभिन्न पत्रपत्रिका र वेबसाइटमा मेरो रूप रंगिबिरंगी देखाइए पनि मेरो आफ्नै कुनै रङ छैन। मेरो परिवार बृहत छ– सदस्यहरू बीचमा आनुवांशिक भिन्नता रहे पनि मूलरूप भने एकै प्रकारको छ।  

म सजीव पनि हुँ, निर्जीव पनि। कुनै सजीव प्राणीको सम्पर्कमा आइसकेपछि म जीवित प्राणीजस्तै सक्रिय हुन्छु, अन्यथा निर्जीव रहन्छु। मेरा जैविक तत्वहरू प्राकृतिक रूपमा पुनः संयोजन भइरहेका हुन्छन् र पुनः संयोजनमार्फत नयाँ सदस्यको जन्म हुने गर्छ। पुनः संयोजनमार्फत नयाँ सदस्यको जन्म भइरहने कारण मानिसहरू मेराबारे यथेष्ट जानकारी संकलन गर्न सकिरहेका छैनन्। यही कारण उनीहरू मसँग सधैँ त्रसित छन्। मानव समाजमा विश्वव्यापीकरणको अवधारणा विकाससँगै पुनः संयोजन प्रक्रियाले सकारात्मक ऊर्जा प्राप्त गरेको छ र मेरो उपस्थिति थप ओजिलो भएको छ। 

वन फँडानी, आगलागी, जलवायु परिवर्तन, पशुपन्छी सिकार लगायत प्रकृति विनाशका घटनाले मजस्तै हजारौँ साथीहरूको सहनशीलता र धैर्यताको बाँध टुटिरहेको छ। नचाहँदा नचाहँदै हामी समय–समयमा रौद्र रूप प्रस्तुत गर्न विवश छौँ। योपल्टको मेरो उपस्थिति यसैको एक उदाहरण हो। 

मानव समुदायको सम्पर्कमा आउनुअघि म जंगलका गुफामा रहने चमेराहरूमा सीमित थिएँ, चमेरासँगै रमाइरहेको थिएँ। तर मानिसका विनाशकारी क्रियाकलापले मलाई उनीहरूको समाजमा प्रवेश गराए। कोभिड–१९ भन्दा १५–२० वर्ष पहिला मेरा आफन्तले सार्स (सिभिएर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम), मर्स (मिडिल इस्ट रेस्पाइरेटरी सिन्ड्रोम) जस्ता रोग मानिसमा लगाएका थिए। उनीहरू पनि मानिसकै क्रियाकलापका कारण आफ्नो घेराभन्दा बाहिर आउन बाध्य बनाइएका थिए, जुन अहिलेको मेरो कथासँग पूर्ण मेल खान्छ। उतिबेला मेरा साथीहरू दयालु भएका कारण सानो क्षेत्रमा सीमित भएका थिए। सोचे होलान्, मानिसले झुक्किएर, नबुझेर वा नजानेर गल्ती भयो, तर मानिसको असली चरित्र उनीहरूलाई के थाहा ! मानिस अनौठो जात हो, न आफू आनन्दसँग बस्छ, न अरुलाई नै बस्न दिन्छ। वन फँडानी, आगलागी, जलवायु परिवर्तन, पशुपन्छी सिकार लगायत प्रकृति विनाशका घटनाले मजस्तै हजारौँ साथीहरूको सहनशीलता र धैर्यताको बाँध टुटिरहेको छ। नचाहँदा नचाहँदै हामी समय–समयमा रौद्र रूप प्रस्तुत गर्न विवश छौँ। योपल्टको मेरो उपस्थिति यसैको एक उदाहरण हो।  

सभ्यता विकास क्रममा मानिसले लोभलाग्दो उपलब्धि गरे, त्यसलाई हामी सहयात्री हृदयदेखि नै प्रशंसा गरिरहेका छौँ। पृथ्वीको गहिराइदेखि आकाशका नक्षत्रको अध्ययनमा मानिसले पाएको सफलता अत्यन्तै प्रशंसनीय छ। यसले निरन्तरता पाओस् भन्ने चाहन्छौँ। तर, मानिसले विकाससँगै विनाशको मार्ग अपनाएकामा हामी कति खुसी छैनौँ। आज पृथ्वीमा मानिस बाहेकका जीवजन्तु रूख–बिरुवाको अस्तित्व संकटमा परेको छ। मानिस आफ्ना आविष्कारमार्फत यस पृथ्वीलाई आफूअनुकूल चलाउन चाहन्छ। तर के यो पृथ्वी मानिसहरूको मात्र सम्पत्ति हो ? के मानिसको स्वार्थपूर्तिका लागि वार्षिक सयौँ जीवजन्तु रूख–बिरुवाले आफ्नो अस्तित्व नै गुमाउनुपर्ने हो ? मानिस बाहेकका अन्य जीवहरूको यस पृथ्वीमा कुनै भूमिका छैन ? पृथ्वीका सबै जीवन मानिसको इसारामा बाँच्नुपर्ने हो ? किन मानिस आर्थिक विकासका नाममा यो सुन्दर पृथ्वीलाई कुरूप बनाउन खोज्दै छ ? मानिस कुन हदसम्म स्वार्थी बन्न सक्छ ? यस्तै–यस्तै अनगिन्ती जिज्ञासाले मेरो सूक्ष्म दिमागमा तरंग ल्याउने गरेका छन्।

यस धर्तीका सहयात्रीबीच द्वेष हुनु राम्रो होइन। म पनि मानिसलाई पीडामा पार्न चाहन्नँ, तर बाध्य भएको छु, बनाइएको छु। जे गरे पनि हुन्छ भन्ने घमण्डका कारण बेलगाम भएका मानिसलाई सही बाटोमा ल्याउन म सबै भूगोल, वर्ग, समुदायमा पुगिसकेको छु। यसैलाई मानिसहरू महामारी भन्ने गरेका छन्। मानव समुदायमा मेरो उपस्थितिका कारण धेरै मानिसले ज्यान गुमाएका छन् र विश्वले ठूलो धनराशि उपचारमा खर्च गरिसकेको छ। मेरो कारण विश्व त्राहित्राहिको अवस्थामा छ। तर, विश्व तथा मानव समुदायमा क्षति पु-याउने मेरो चाहना होइन, बाध्यता हो। क्षति गर्ने र बिगार्ने काम त मानिसको हो। मानिस मात्र यस्तो जीव रहेछ, जो अरुको विनाशमा आफ्नो विकास र प्रगतिको सपना देख्छ। यस पृथ्वीका अन्य कुनै जीवले अरुको अस्तित्व मेटाउने कार्य सोच्न पनि सक्दैनन्। तर मानिस त्यसैमा आफ्नो सफलता देख्दोरहेछ। मानिसका गतिविधिले प्राकृतिक विविधता नष्ट गर्दै गइरहेको छ, जुन भविष्यमा मानिसलाई नै आत्मघाती साबित हुनेछ।

म सबै जीवजन्तुको सह–अस्तित्वमा विश्वास गर्छु। यो महामारीको अन्त्य पनि छिटै हुनेछ भन्नेमा आशावादी छु। यसको तालाचाबी भने मसँग छैन। सबै कुरा मानिसको व्यवहार र सोचमा निर्भर रहनेछ। सत्यलाई बुझेर प्रकृति र पृथ्वीको हितमा मानिसहरू अगाडि बढेको खण्डमा मलाई मेरै जंगल प्यारो हुनेछ। तर मानिसका कुकर्म बढ्दै गएमा उनीहरूलाई सचेत र दण्डित गराई पृथ्वीको रक्षा गर्नु मेरो पनि कर्तव्य हो, दायित्व हो।

वर्तमानमा मेरो सक्रियताले मानिस बाहेकका वनस्पति, प्राणी र समग्र पृथ्वीले भने आनन्द महसुस गरेको मैले पाएको छु। पृथ्वीका एक सदस्यलाई पीडा हुँदा अन्य सदस्यले सुखानुभूति गर्नु विडम्बनापूर्ण छ तर वास्तविकता यही छ। मानिसलाई समस्या परिरहेको अवस्थामा समग्र प्रकृति भने विभिन्न समस्याबाट मुक्त भइरहेको छ। मानिसका गतिविधिका कारण सिर्जित सबैखाले प्रदूषण नियन्त्रणमा आएका छन्। ओजोन तहमा नसोचेको सुधार भएको छ। वैज्ञानिक र वातावरणविद्को भाषामा वातावरणले उल्लेखनीय सुधार गरेको छ।  

सामाजिक प्राणीका रूपमा आफूलाई परिचित गराउने मानिस मेरा कारण असामाजिक भइरहेको देख्दा मलाई लज्जाबोध हुने गरेको छ। दुःखका बेला समस्या समाधानका लागि एकजुट हुनुपर्नेमा मानिस एकअर्काप्रति छिःछिः दूरदूरको व्यवहार गरेको देख्दा अचम्भित भएको छु। कस्ता सामाजिक प्राणी हुन यी मानवहरू ! आफ्नैलाई त पीडा दिन सक्ने र मरणका लागि बाध्य बनाउन सक्ने यी मानवले पृथ्वीका अन्य जीवलाई के बाँकी राख्थे र ! मेरो उपस्थितिले मानिसलाई आफ्नो वास्तविक धरातल बुझ्ने र आफ्ना कुकर्मलाई सुधार गर्ने अवसर प्राप्त भएको छ। आगे उनीहरूकै मर्जी !

मेरा विरुद्ध विभिन्न देशले खोप बनाइरहेको समाचार सुन्दा म पटक्कै दुःखी भएको छैन, वास्तवमा म अत्यन्त खुसी छु। म त मानिसहरू मेरो कहरबाट शीघ्र मुक्त होऊन् भन्ने चाहन्छु । मानव समुदायलाई दुःख दिनु मेरो उद्देश्य हुँदै होइन,। तर, यस महामारीबाट मानिसले गतिलो शिक्षा लिऊन् भन्ने चाहन्छु। यो पृथ्वी सबै वनस्पति तथा प्राणीको साझा थलो हो, निस्फिक्री भएर जीवन जिउन पाउनु सबैको अधिकार हो। यो सत्यलाई मनन गरी मानिसले पृथ्वीको सुन्दरता र जीवनलाई यथाशीघ्र सामान्य अवस्थामा लैजाने छन् भनी विश्वास गरेको छु। यसो नभएमा म र मेरा साथीहरू पृथ्वीको रक्षार्थ समय समयमा उपस्थित हुने नै छौँ। सबैलाई चेतना भया।
(लेखक पशुचिकित्सक हुन्।) 

प्रकाशित: १७ आश्विन २०७७ ०४:४८ शनिबार

अक्षर