कला

मुनामदन र मुग्लान (जाने बेलामा भन्थ्यौ – सुनको चुरा चाँडै पठाउँछु !)

कविता

रोमा निरौला

 

मेरो प्रिय मदन

तिमीलाई राम्ररी थाहा छ

एकचिम्टी सिन्दूर  

यो सिउँदोमा पहिरिएको भोलिपल्ट

तिमी मुग्लान पसेका हौ  

तिम्रै प्रतीक्षामा टोलाइरहने यी नयनहरूले

आजकल तिमीलाई धेरैधेरै नै खोज्न थालेका छन् ।

 

मेरो मनको आँगनमा रहरै रहरको कुन्यू लगाएर

जाने बेलामा भन्थ्यौ

सुनको चुरा चाँडै पठाउँछु

भेटेनौ कि कसो

गगनचम्बी महल बनाउने तिम्रो सपना बिस्यौ कि कसो

झिलीमिली शहरमा रम्यौ कि उतै भुल्यो प्रियसीलाई

या कुनै बन्धनमा पर्यौ बेखबर छौं मदन आखिर किन ?

 

थाहा छ अंशको नाममा पाएको बूढो घर भत्किन थाल्यो

वर्षादले कुटेर छानो चुहिएको छ  

सिरानीमा पहिरो खस्छ  

म रातभर निदाउन सक्दिन  एक्ली देखेर होला  

लाजै नमानी  सुसेली हाल्छ त्यो छिमेकी नदी

र भत्काउँदै तटबन्ध सरासर मेरै घर अगाडि बढिरहेछ  

सुन कुनै दिन यसले बेपत्ता पार्न सक्छ तिम्री मुना

त्यसैले तिमी जहाँ छौ फर्केर आऊ सम्हाल मलाई  

विश्वासको दरो पुल बनाएर पारि तरौंला  

जोडी ढुकुरझैं सतिसालको छहारीमा बसी  

समयको रङ टिपी जीवनको ग्यालरी रङ्गाउँला  

आऊ दुवै मिलेर यो भत्किएको घर पोतौं  

बाँझो छ खेतबारी जोतौ  

तिमी यही भेट्नेछौ लासाको सुन  

मेरो प्रिय मदन ।  

प्रकाशित: ४ आश्विन २०७७ ०६:३२ आइतबार

अक्षर