कला

बचेरा

मानस

छोरा,
जब तँ सानै थिइस्
खेल्थिस्, कुद्थिस्
दिनभरि हराउँथिस्
साँझ घरै आउँथिस्
आमाकै काखमा लुट्पुटुन्थिस्।

खुसुक्क निदाउँथिस्
खै के के सपना देख्थिस्
निद्रामै बर्बराउँथिस्
हठात् अतालिएर  
बुबाको हात समाउँथिस्।

चराको बचेराजस्तै
दुःख गरेर हुर्कायो बढायो
पखेटा दह्रो बनायो
फेरि एकदिन अचानक हरायो।

तँसँग कहिल्यै गुनासो गरिनँ
तर आज प्रश्न गर्न मन छ
के बचेरालाई
गुँडको सम्झना आउँदैन ?
माऊको माया लाग्दैन ?
यो माया सधैँ किन उँधो बग्छ हँ ?
सपनामा तँ के के देख्थिस् हँ ?
भत्किँदै गरेको पुरानो घरको
छानो तैँले फेर्नुपर्दैन ?
सानो चुच्चोमा च्यापेर पोसेको
दानोदानोको ऋण तैँले तिर्नुपर्दैन ?  

प्रकाशित: ३ आश्विन २०७७ ०४:०८ शनिबार

अक्षर कविता