कला

इन्द्रजात्रा नालिबेली

काठमाडौं उपत्यकाका नेवारहरूले मनाउँदै आएको इन्द्रजात्रा पर्व यसपालि कोरोना कहरका कारण केही अप्ठेरोमा प-यो, पहिलेजस्तो हर्षोल्लासका साथ मनाउन पाएनन्। इन्द्रजात्रा व्यवस्थापन समितिको २०७७ साउन ३० को बैठकले यसपालिको इन्द्रजात्रामा आवश्यक पूजाबाहेक जात्रामा देवदेवी ननिकाल्ने भनी देवताहरूसँग क्षमा माग्दै जात्रा स्थगित गरेको सूचना जारी गरेको थियो। सरकारले पनि महामारी नियन्त्रणका लागि निषेधाज्ञा गरेको अवस्था थियो। यद्यपि परम्परागत मूल्य मान्यता, आस्था, संस्कृति भएकाले यहाँका नेवारले यसलाई स्थगित गर्न चाहेनन्। रथ तान्ने, देवदेवीको नाच र पुलु किसि र अन्य सांस्कृतिक कार्यक्रम गर्न नपाए पनि घरघरमा गर्नुपर्ने सबै कार्य आ–आफ्नो चलन अनुसार गरी मनाए। धेरैको मनमा लाग्दो हो, यहाँका नेवारको मन–मस्तिष्कमा यति गहिरोसँग बसेको यस इन्द्रजात्रा पर्वको सुरुवात कहिले भयो ? यसको इतिहास र महत्व के हो ?  

लिच्छविकाल (अभिलेखका आधारमा नेपालको पहिलो प्रामाणिक काल) का केही अभिलेखमा इन्द्रजात्राबारे केही संकेत पाइएका छन्। लेलेको शिवदेव र अंशुवर्मा (सं. ५२६) र च्यासलटोलको जयदेव (सं. १३७) को अभिलेखमा इन्द्रगोष्ठीबारे उल्लेख छ, (लिच्छविकालका अभिलेख, धनवज्र वज्राचार्य, २०३०)। यद्यपि लिच्छविकालमा इन्द्रजात्रा पर्वको अस्तित्व थियो कि थिएन भन्ने स्पष्ट प्रमाण अहिलेसम्म भेटिएको छैन। अभिलेखमा उल्लिखित इन्द्रगोष्ठी पनि इन्द्र देवता वा जात्रासँग सम्बन्धित हो वा होइन भन्ने स्पष्ट हुँदैन।  

मल्लकालमा काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले यस पर्वमा रथ तान्ने परम्परा सुरुवात गरेको विश्वास गरिन्छ। उनले वि.सं. १८१३ भदौमा कुमारी घरको निर्माण गराई कुमारी माजूलाई विराजमान गराएको, सुनको जलपसहितको तीन तले प्यागोडा शैलीको रथ निर्माण गराएको, भाद्र शुक्ल चतुर्दशी, पूर्णिमा र आश्विनकृष्ण चौथीका दिन तीनपटक रथयात्रा गर्ने परम्परा बसालेको विश्वास गरिन्छ।  

वि.सं. १८२५ असोज १३ गते काठमाडौंका राजा र प्रजा इन्द्रजात्रा मनाइरहेका थिए। उक्त समयमा राजगद्दी कुमारी घर अगाडिको डबलीमा ल्याई राजा त्यही गद्दीमा बसी प्रजाहरूसँग मिलेर जात्रा मनाउने चलन थियो। त्यही दिन पृथ्वीनारायण शाहले आक्रमण गरी सहजै सत्ता हत्याए, राजा जयप्रकाश भने तलेजुमा लुक्न गए, (नेपालको इतिहास, डा. पेशल दहाल, २०६४)।  

यस्तै, इन्द्रध्वजको सन्दर्भ गुप्त सम्राट चन्द्रगुप्तको समयदेखि अर्थात् विक्रमको पाँचौँ शताब्दीदेखि चलेको विश्वास गरिन्छ। चन्द्रगुप्तका समकालिक कवि कालिदास (३७५–४४५) को ‘रघुवंश काव्य’मा इन्द्रध्वजको वर्णन छ, (हनुमानढोका राजदरबार, गौतमवज्र वज्राचार्य, २०३३)। शरद ऋतुमा खेतमा धानका बाला पहेँला भई कृषकका दिल बहलाएको हुँदा वर्षा गराउने देवता इन्द्रलाई प्रशन्न गराउन भाद्रमासका बीचमा पर्ने पूर्णिमाका वरपर सात दिन इन्द्रजात्रा मनाउने प्रचलन चन्द्रगुप्त चलाएको पनि भनिन्छ।  

यस्तै, उपरिचर वसुले इन्द्रध्वजको विधि चलाएका हुन् भनी महाभारतमा उल्लेख छ। पुराण अनुसार, उपरिचरलाई इन्द्रले बाँसको लौरी दिएका हुन्छन्। त्यसलाई उपरिचरले विधिपूर्वक पूजा गरेपछि इन्द्र प्रशन्न हुन्छन्। इन्द्रले ‘पृथ्वीमा जुन राजाहरूले यसरी पूजा गर्छन्, तिनीहरू उपरिचर वसुजस्तै सम्पन्न तथा हुकुम चलाउन सक्ने हुनेछन्’ भन्छन्।  

लिंगो गाडी पूजा गर्ने परम्परा पहिलेदेखि चल्दै आएको विभिन्न ग्रन्थ, कथा, पुराण, महाभारतमा पनि पाइन्छ। नुवाकोटको भैरवी देवी जात्रा (चैत्र शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुन्छ) मा पनि लिंगो गाडेर धामीलाई जात्रा गर्दै ल्याउने चलन छ। अष्टमीमा लिंगो ढाल्ने परम्परा छ। त्यस्तै, काठमाडौंको इन्द्रजात्रामा इन्द्रध्वज उठाउने र ढलाउने चलन शाह राजा प्रतापसिंहको समय (१८३१–१८३४) मा मात्र भएको हो, (नेपालको आलोचनामत्क इतिहास, ढुण्डिराज राजभण्डारी, २०२७)।

यःसिं (लिंगो)का लागि रूख छान्न पहिले पहिले बली दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो। त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रुख यःसिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो। 

यस जात्रामा श्री कुमारी, गणेश, भैरवको रथ यात्राका साथै विभिन्न देवदेवीका नाच लगायत विभिन्न देवदेवीका मूर्ति तथा चित्रकला पनि प्रदर्शनमा राखिने चलन छ। नेवारहरूको अर्को चाड ‘गुंपुन्हि’ अर्थात् ‘क्वाति पुन्हि’मा विभिन्न देवदवीका मूर्ति, धर्मग्रन्थ लगायत विभिन्न पुरातात्विक सामग्रीको प्रदर्शन बहाबहिमा गरे जस्तै यस जात्रामा पनि विभिन्न देवदेवीका मूर्ति लगायत चित्रकला रथ ल्याउने बाटोतिर प्रदर्शनमा राख्ने चलन छ।  

कन्हेल चोक भगवती मन्दिर (वसन्तपुरको महादेव पार्वतीले झ्यालबाट हेरिरहेको मन्दिरको पूर्वतिरको मन्दिर) को दलानमा आनन्द भैरव र आनन्द भैरवीको मूर्ति प्रदर्शनीमा राखिन्छ। यी मूर्तिको पादपीठ (तल्लो भाग)मा अभिलेख कुदिएको छ। त्यस्तै, कालभैरवदेखि पश्चिमतिर रहेको प्र्रहरी थानामा इन्द्र जात्राका दिन विश्व रूपको मूर्ति प्रदर्शन गरिन्थ्यो। यस मूर्तिको पादपीठमा पनि अभिलेख कुदिएको छ। यी सबै अभिलेखमा मूर्ति प्रदर्शनीमा राख्नुपर्ने उल्लेख छ। तर, आजभोलि विश्व रूपको मूर्ति प्रदर्शनमा राखिएको देखिँदैन।  

यस्तै, भाद्र चौथीको दिन मनाइने चथाःको रातमा खु द्यः (इन्द्र देवता) को पूजा गर्ने चलन छ। यस रात देवराज इन्द्र पृथ्वीमा स्वर्गमा नभएको पूmल लिन आउँदा समातिएको कथा विश्वास गरिन्छ। आफ्नी आमाले स्वर्गमा गर्न लागेको विशेष पूजाका लागि राजा इन्द्र पारिजातको फूल लिन पृथ्वीमा आएका हुन्छन्। त्यसै बेला पृथ्वीवासीले इन्द्रलाई समातेर राख्छन्। उनलाई छुटाउन उनकी आमा पनि डाँगीका रूपमा पृथ्वीमा आउँछिन्।  

वास्तवमा त्यो पूmल पारिजात नभई ‘चथाः स्वाः’ वा स्वर्गमा नभएको अन्य कुनै पूmल भन्ने गरिन्थ्यो पहिले पहिले।  

भागवत गीतामा उल्लिखित कथा अनुसार, कृष्णले सत्यभामाका लागि पारिजातको फूल स्वर्गबाट चोरेर ल्याएको भन्ने उल्लेख भएको हुँदा स्वर्गमा पहिलेदेखि नै परिजातको पूmल भएको प्रस्टिन्छ, तर स्वर्ग भन्ने काल्पनिक ठाउँ हो या भएकै कुन ठाउँ हो भन्ने खोजको विषय हो। इन्द्रले आमाको पूजाका लागि चोर्न आएको पूmल पारिजातको पूmल नभई ‘चथा स्वाः’ वा अन्य कुनै पूmल हुन सक्छ। चथा स्वाः को उद्गम थलो नेपाल भएकाले यसको सत्यता कथाको नजिक पुग्छ। पारिजातको उद्गम थलो भने दक्षिण भारत अथवा अन्य कुनै ठाउँ हुन सक्ने भएकाले पनि पारिजात पूmल चोर्न आएको भन्ने सत्य होइन कि जस्तो हुन्छ। पहिले पहिले काठमाडौंको मौसम अहिलेको जस्तो गर्मी पनि नभएको हुँदा सायद यो फूलपछि मात्र यहाँ भित्रिएको हुन सक्छ। यद्यपि यो अध्ययनको विषय छँदै छ।  

विभिन्न ठाउँमा प्रदर्शनमा राखिने इन्द्रको मूर्ति यस जात्राको अर्को आकर्षण हो। सामान्यतः मूर्तिहरूमा वरद तथा अभय मुद्रा (मूर्तिहरूमा हुने हातहरूको अवस्था ) र विभिन्न आयुध समातेको हातहरू देखाउने गरिन्छ, तर यस जात्रामा प्रदर्शनमा राखिने इन्द्रको मूर्तिको भने दुवै हात पैmलिएका हुन्छन्। संस्कृतविद् स्व. बलदेव जुजुले नेवारहरूले पहिलेपहिले इन्द्र जात्रामा प्रदर्शनमा राखिने इन्द्रको हातमा जनै पूर्णिमाका दिन आफूले हातमा बाँधेको जनै बाँध्ने चलन रहेको बताउँथे। मृत्युपछि स्वर्ग जान चाहने धार्मिक आस्थाका लागि स्वर्गका राजाको हातमै आपूmले बाँधिराखेको जनै बाँध्ने गरेको भन्ने गर्दथे। तर पछि इन्द्रको मूर्ति अग्लो खटमा राख्न थालेपछि मानिसहरूले खटको खम्बामै जनै बाँध्ने गरे। बिस्तारै यो चलन हराएको र तिहारमा लक्ष्मी पूजाका दिन गाईको पुच्छरमा बाँध्ने चलन चल्न थालेको जुजुको भनाइ थियो।  

जात्राको वातावरण
यःसिं  (लिंगो) का लागि काभ्रे जिल्लास्थित नालाको वनमा गई मानन्धर समुदायले रुख छनोट गरी बलिसहित पूजा गर्छन्। गुठीमा संलग्न एक व्यक्तिको भनाइ अनुसार, यःसिं का लागि रूख छान्न पहिले पहिले बली दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो। त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रुख यःसिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो। त्यस्तै, गुठी नाइकेको अँगालो भरिको रुख यःसिं का लागि उचित हुने भनाइ पनि छ। सामान्यतः रुख छनोट गर्दा सुरिलो (सीधा) लगभग ३६ फिट जतिको छान्ने गरिन्छ।  

‘होस्टे हैँसे’ भन्दै नालाबाट तानेर ल्याएको यःसिं विधिवत पूजा गरी उठाएपछि द्वादशीबाट इन्द्र जात्राको विधिवत सुरु हुन्छ। योसिंका लागि रूख काटेपछि हाँगाबिँगा छुट्ट्याएर डाँठ मात्र बनेपा हुँदै पुरानो सहरको सिमाना भोटाहिटीसम्म तानेर ल्याइन्छ। यस ठाउँबाट अर्को दिन हनुमान्ढोकाको कागेश्वरी मन्दिरको नजिकै काल भैरवको अगाडि पु¥याइन्छ। त्यसपछि द्वादशीका दिन यःसिं ठड्याएपछि विधिवत जात्राको सुरुवात हुन्छ। यसलाई इन्द्रध्वजोत्थान

भनिन्छ। इन्द्रध्वजको तलतिर घोडा चढेको इन्द्रको प्रतिमा प्रदर्शनीमा राखिन्छ। यसै साँझ मानिसहरू धुप बालेर मन्त्र (तुतः) पाठ गर्दै सोही वर्ष मरेका आफन्तका सम्झनामा उपाकु यात्रा गर्छन् भने यस दिन जान नसकेकाहरू पूर्णिमाका दिन पनि जाने गर्छन्।  

इन्द्र जात्राको मुख्य दिनमा विभिन्न दबु (डबली) मा देवदेवीको नाच, हाथु द्यः, मजिपा लाखेको नाच, सवा भकु, अष्टमातृकाको नाच आदि दर्जन जति नाच नाचिन्छ। युवा जमातले ‘लाछकू वयक सम्ह्य बजि वल वल पलुकिसी’ भन्दै घन्टा बजाउँदै ताना किसी÷पुलु किसि  (इन्द्रको ऐरावत हात्ती) ल्याउँदा सबैको मन जात्रामय हुन्छ। पूर्णिमाको दिन गद्दी बैठकमा राष्ट्राध्यक्ष लगायत अन्य गन्यमान्य नेपाल सरकारका अधिकारीको उपस्थिति हुन्छ। राष्ट्राध्यक्षबाट पूजा संकल्प गरेपछि जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्न सुरु हुन्छ।  

यस समयमा काठमाडौंको वसन्तपुर मरु, लगन, जैसीदेगल, प्याफल, नरदेवी, न्ह्योखा, बांगेमुढा असन, बालकुमारी, इन्द्रचोकमा रथ तान्ने समयमा विशाल जनसमुदाय सहभागी भई घर–घरमा उल्लासपूर्ण वातावरणमा जात्रा मनाइन्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस चाडमा स्वदेशी मात्र नभई विदेशीको पनि उत्साहजनक उपस्थिति रहने गर्छ। यी सम्पूर्ण सांस्कृतिक गतिविधिको उचित व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समिति लगायत विभिन्न संघ–संस्था, वडा, क्लब आदिको सक्रिय भूमिका हुन्छ। यस अवसरमा त्रैलोक्य मोहन मन्दिरको पूर्वतिरको डबलीमा दश अवतार नाच पनि देखाइन्छ। दश अवतारको नाच देखाउने भएकाले नै यस मन्दिर दश अवतारको नामले पनि चिनिन्छ।

यस पर्वलाई सम्हय् (विषेश प्रकारको च्युरा लगायत बोडी, मासु, कालो भटमास आदिको समिश्रण) पुन्हि पनि भनिन्छ। इन्द्रलाई ययां द्यः को नामबाट पनि चिनिन्छ।  इन्द्रलाई सम्हय् चढाएर यो पर्व मनाउने हुनाले यसलाई सम्हय् पुन्हि पनि भनिएको हो। यस जात्रामा ‘ताना किसि’ ल्याउँदा बच्चाहरूको हुल पनि आउने गथ्र्यो। तर आजभोलि यसरी सम्हय लिन आउनेहरू देखिँदैनन्।  

यसै अवसरमा इन्द्रचोकको आजु द्यः (आकाश भैरव)को अगाडि पनि सम्हय राख्नुको साथै आजु द्यःका लागि थ्वँ (जाँड)को तेपः (माटोको जाँड राख्ने भाँडो) मा पञ्चकार पूजा गरी जाँड राखिन्छ। लाय्कु (वसन्तपुर) को हाथु द्यः (श्वेत भैरव) लाई पनि पञ्चमकार पूजा गरी हाथु ह्याकि (रक्सी बाँड्ने) गरिन्छ। एकादशीदेखि बेलुकीपख घरघरमा दलुचा (माटोको झुन्डाएर बत्ती बाल्ने परम्परागत शैलीको भाँडो) मा बत्ती बालेर ययाँ द्यः लाई सम्हय् राखेर पूजा गरिन्छ।  

रथ ल्याउने बाटोको डबलीमा दि प्याखं (देवीको नाच) देखाइन्छ। नाच भइरहेको दबुनजिकै रथ पुगेपछि रथ रोकेर कुमारी माजूलाई नाच देखाइन्छ र कुमारी माजूबाट भेटी (पैसा) चढाउन दिइन्छ। यस अवसरमा घरघरबाट पनि कुमारी माजूलाई पैसा चढाउने गरिन्छ।  

कुमारीको रथ थःने (वसन्तपुर हनुमानढोकाबाट बांगेमुढा असनतिर) क्वने (वसन्तपुर हनुमानढोकाबाट लगन, जैसीदेगल टोलतिर) र अन्तिम दिन नानी चाः (किलागलःतिर) गरी तीनपल्ट तानिन्छ। यसरी इन्द्रजात्रा सम्पन्न हुन्छ। 

प्रकाशित: २७ भाद्र २०७७ ०४:०४ शनिबार

ऐतिहासिक इन्द्रजात्रा अक्षर