दीपक शम्चु
खेल्दा–खेल्दै
आफ्नो आप्पाको हात समाउँदै
छोडी गएपछि साथीले
बारीडिल आएर सोधेथेँ
‘आमा... कस्तो थियो मेरो आप्पा ?’
काँलामै उभिएर
आमाले आकाश हेर्नुभयो
र
आधा भरिएको डोकोमा
मुठीको घाँस फ्यात्त फ्याँकेर
खाँद्नु थाल्नुभयो ।
‘छिट्टो भन्न
कस्तो थियो मेरो आप्पा ?’
ठूटो रुखको च्यूलो लुछ्दै भन्नु’भो
‘तँ ठूलो भएपछि ऐना हेर्नू
देख्नेछस् आप्पाको अनुहार ।’
बाख्रो पाठोझैं
बुरुक्क–बुरुक्क उफ्रदै घर आएँ
मूलढोका छेउको ठूलो ऐना हेरें
अहँ, देखिनँ आप्पाको अनुहार ।
भित्तामा झुन्डिरहेको ऐना झिकेर
छामें आफ्नै औंलाका प्रतिबिम्बहरू
उप्काउनु खोजें पछाडिपट्टिको फ्रेम
र पच्छारीदिएँ सिकुवामा झ¥यामझुरुम ।
ए...हे ! आमाले हेर्ने बट्टे ऐनामा
देखिन्छ होला आप्पाको अनुहार ।
पिङ्ग्यामाथि को
बाघमुखे काठको बाकस मझेरीमा झारें ।
केही खुसी जोगाइरहकोे तालालाई
लोहोरोले ढयाङढयाङ कुँच्चाएँ
रहस्यको गाँठो कसी बसेको कब्जालाई
खुकुरीको टुप्पोले ठुँगीठुँगी फुस्काएँ ।
नउघ्रिएपछि बाकस
बञ्चरोको धारले कटाएर
बट्टे ऐना झिकी हेरें
त्यहाँ पनि देखापरेन
आप्पाको अनुहार ।
बट्टा खोली हेर्दा साँच्चैको आप्पा
फुत्त निस्कने हो कि ?
बिस्तारै–बिस्तारै बट्टा खोली हेरें
चूपचाप थियो बट्टाभित्र
फक्रिनसकेको कोपिलाझैं
बेरिएको एक झुप्पो पोते
किरिङमिरिङ लेख्दालेख्दै मसी सक्किएर
कच्याकुचुक पोको पारिएको
रक्ताम्य पुरानो कागज ।
फस्रक्कै परेर
दुवै हातका औलाहरू खापी
सिरानी लगाउँदै मझेरी कुनामा अडेसो लागें ।
एकैक्षणमा खै कता हो कात !
हिमालभन्दा माथि
कपासै कपासको खापमा तैरिएर
बादलभित्र छाम्न खोज्दै थिएँ
आप्पाको अनुहार
सर्र बिलाएर गयो ।
तन्द्रामै रहेर आँखा मिच्दामिच्दै
रेसमी तरङ्ग गुजुल्टिदै आएर साउती ग¥यो
‘आमाको ढुकढुकी छाम्नू मेरो प्राण भेट्नेछौ
अल्झिबसेको हुनेछु नानीभित्र
नियालेर हेर्नू आमाको आँखा ।’
प्रकाशित: २६ भाद्र २०७७ १०:३३ शुक्रबार